मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

हिमाल प्रेस २१ कार्तिक २०८१ ११:११
4
SHARES
मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा- पोखराको मित्रमिलन सहकारीको रकम अपचलन गरेको अभियोग लागेर फरार रहेका विजय लम्साल पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको घाचोक घर भई हाल पोखराको प्रस्याङ निवासी ३४ वर्षीय विजय लम्साल हुन्। उनी सहकारीका उपाध्यक्ष हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले ससुराली घर पोखरा अर्चलबोटबाट मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलियाका अनुसार पटकपटक प्रहरीको नजरबाट बच्दै हिँडेका लम्साललाई तेस्रो प्रयासमा प्रहरीले पक्राउ गर्न सफल भएको हो। लम्साल नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्षसमेत हुन्।

उक्त सहकारीको रकम ठगी तथा अपचलनमा लम्सालसहित ३३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ। यो प्रकरणमा जनप्रतिनिधि, पत्रकार, वकिल, टोले गुन्डादेखि मिटरब्याजीहरूको संलग्नता रहेको प्रहरी अनुसन्धान र वित्तीय छानबिन समितिको प्रतिवेदनमा देखिएको थियो।

३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको भन्दै गत वर्ष प्रहरीमा जाहेरी दिएका थिए। अनुसन्धानमा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो।

प्रहरी कार्यालयले ३१ करोड विगो दाबीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसुर मुद्दामा थप कारबाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर यस मुद्दामा राजनीतिक दबाबका कारण सरकारी वकिलको कार्यालयले सुरुमा २१ करोडको मात्र बिगो माग दाबी गरेको थियो भने पछि बचतकर्ताको दबाबमा थप बिगो माग दाबी गरिएको हो।

सहकारी ऐन, २०७४ अन्तर्गत सहकारी ठगीमा ३३ प्रतिवादीविरुद्ध गत पुस १२ मा सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अभियोग दायर गरेको हो।

यसअघि अदालतको आदेशमा सहकारी अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/ सेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल, मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पुर्पक्षकै लागि कास्की कारागारमा छन्। यसबाहेक केही धरौटीमा रिहा भएका छन्।

प्रकाशित: २१ कार्तिक २०८१ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast