
काठमाडौँ- आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ। अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे । अर्का ओपनर आसिफ शेख ६ रनमा बनाएर आउट भए।
कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।
सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि जित्न पर्याप्त रहेन । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।
अमेरिकाका सौरभ नेत्रवालकरले ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २–२ तथा जसदीप सिंह र हरमीत सिंहले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए।
कप्तान मोनांक पटेलले ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए। हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेले।
नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए।
नेपालले अब अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।