विश्वकप लिग २ : नेपालको फेरि पनि हार

हिमाल प्रेस ७ असोज २०८१ ६:३०
26
SHARES
विश्वकप लिग २ : नेपालको फेरि पनि हार

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडासँगको दोस्रो खेल पनि गुमाएको छ। सोमबार विहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ५ विकेटको क्षतिमा ४२ ओभरमा भेट्टायो। उसका लागि नवनित धलिवालले ८७ रन र पर्वत सिंहले ६४ रन बनाए। त्यसअघि क्यानडाको ओन्टेरियोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे। पहिलो एकदिवसीय अर्धशतक बनाउन एक रनले चुकेका सन्दीपले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सोमपाल कामीले सन्दीपसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दा नेपालले सम्मानजनक स्कोर खडा गरेको हो। सोमपालले ४८ बलमा २१ रन जोडे। यस्तै करण केसी २४ रनको योगदान गरे।

त्यसअघि नेपालले १२ ओभर भित्रै महत्वपूर्ण ५ विकेट गुमाउदा खराब सुरुवात गरेको थियो। ओपनर आसिफ शेख पाँचौ ओभरमा कलीम सनाबाट बोल्ड भएका थिए। उनले १२ बलमा २ रन मात्र जोड्न सके।

अर्का ओपनर अर्जुन साउद २७ बल खेल्दा १ चौका प्रहार गरेर १० रनमा आउट भए। उनी आठौं ओभरको पाँचौ बलमा आउट हुनु पुगेका थिए। अर्जुन आउट भएको अघिल्लो ओभरमा नेपालले भीम सार्कीलाई ४ रनमा दोस्रो विकेटको रूपमा गुमाएको थियो।

कप्तान रोहितकुमार पौडेल ११औं ओभरमा ४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगेका थिए। लगत्तै अर्को ‌ओभरमा नेपालले अनिलकुमार साहलाई १ रनमा गुमायो। उनी ४ बल खेलेर आउट हुँदा नेपालले १२ ओभरमा ३६ रन जोड्दा ५ विकेट गुमायो।

त्यसपछि आरिफ शेख १० रनमा आउट भएका थिए। गुल्सन झाले ५६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा ३४ रन बनाए। बलिङमा क्यानडाका कलीम सनाले ३ विकेट लिए भने डिलोन हेलिगर र हर्ष थाकेरले २-२ विकेट लिए।

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल लगातार पाँचौं खेलमा पराजित भइसकेको छ। लिगका सुरूवाती ७ मध्ये ६ खेलमा पराजित भएको नेपाल लिग(२ का आठ टोलीमध्ये सबैभन्दा कमजोर देखिएको छ।

गत फेब्रुअरीमा कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरूद्ध जित निकालेपछि नेपालले खेलेका ५ खेलमा लगातार पराजय भोगेको हो। नामिबिया र नेदरल्यान्ड्सविरूद्धको सो सिरिजका पछिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो।

प्रकाशित: ७ असोज २०८१ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast