पार्टीमा डा.बाबुराम भट्टराईको विकल्प देख्दैनन् नेताहरू

रमेश दवाडी १६ कार्तिक २०८१ ७:३६
668
SHARES
पार्टीमा डा.बाबुराम भट्टराईको विकल्प देख्दैनन् नेताहरू

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा डा.बाबुराम भट्टराई निर्विकल्प बनेका छन्। अन्य नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा डा.भट्टराईको विकल्प नदेखेका हुन्। आगामी माघ २५, २६ र २७ गते काठमाडौँ हुने राष्ट्रिय महाधिवेनमा भने नेतृत्वका लागि उम्मेदवार खडा हुने संकेत प्रवक्ता कृष्ण शर्माले गरेका छन्।

कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनको दोस्रो दिन बाबुरामले पदको कुनै लोभ नभएको उदाहरण दिँदै पार्टीका अन्य नेताहरूलाई नेतृत्वका लागि हिम्मत गर्न आग्रह गरेका थिए।

भट्टराईले नेसपा नयाँ शक्तिलाई ‘बाबुराम भट्टराईको पार्टी’ भनेर प्रचार हुँदा आफू लज्जित र वाक्कदिक्क भएको बताएका थिए। उनले भनेका थिए,‘यो बाबुरामको मात्रै पार्टी भयो, बौद्धिक भयो, जान्ने भयो भन्ने प्रचार भएको छ। यसबाट म लज्जित र वाक्कदिक्क छु। बाबुराम भोलि मर्न सक्छ। बोल्दाबोल्दै हट्याट्याक (हृदयाघात) भएर मर्न सक्छ। वैकल्पिक शक्ति र विचारको के हुन्छ? भोलि यसलाई कसले अगाडि बढाउने? कोही त तयार हुनैपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई यत्तिमै रोकिएनन्। उनले पदका लागि कहिल्यै अग्रसर नभएको उदाहरण दिए। माओवादीमै छँदा प्रचण्डलाई अध्यक्ष बनाएर आफू उपाध्यक्ष भएको, आफूले जित्दै आएको निर्वाचन क्षेत्र ०७९ को चुनावमा छोडेको, २०७७ सालमा जनता समाजवादी पार्टीमा चौथो वरीयतामा रहेको भट्टराईको संकेत थियो।

भट्टराईले अधिवेशनमा भनेका थिए, ‘मैले साथीहरूलाई घोषणापत्र र विधान निर्माण गर्नुस् भनेँ। उहाँहरूले राम्रो बनाउनुभयो। बाहिरचाहिँ बाबुरामको पार्टी रे! यो बाबुराम भट्टराईको मात्रै पार्टी होइन। म ७० वर्ष पूरा भइसकेँ। अरूलाई अगाडि सार्न चाहन्छु। म चौथो वरीयतामा बस्ने  साथीहरूलाई जहिले पनि पद छोड्न सक्छु। हामीसँग यति ठूलो पंक्ति तयार छ।’

पुँजीवाद, साम्यवाद होइन लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद वैचारिक सिद्धान्त नेसपा नयाँ शक्तिले अवलम्बन गरेको नेताहरू बताउँछन्। यसकै जगमा वैकल्पिक  शक्ति बनाउने संकल्प लिएको नयाँ शक्तिले तल्लो तहसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरेको छ। जसअनुसार भट्टराई पनि पार्टी नेतृत्वका लागि वडा तहबाटै प्रत्यक्ष रूपमा चुनिएर तह पार गर्दै आउनुपर्ने हुन्छ।

गोरखाको पालुङटार नगरपालिका–१ का डा. भट्टराईलाई पार्टीको वडा समितिले निर्विरोध चयन गर्ने बताउँछन् पार्टी वडा अध्यक्ष योगेन्द्र गुरुङ। उनले हिमालप्रेससँग भने, ‘पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीको नीति लिएको छ। त्यस हिसाबले पार्टी अध्यक्ष बन्न महाधिवेशनसम्म प्रत्यक्ष निर्वाचित हुनुपर्छ। डा.बाबुराम भट्टराईलाई हामी निर्विरोध पठाउँछौँ। वडामा उहाँसँग कुनै साथी प्रतिस्पर्धा गर्नुहुन्न। राजनीतिक घटनाक्रमले पनि उहाँले नै पार्टीको नेतृत्व गर्नुपर्ने देखाउँछ।’

‘पार्टी नेतृत्वका लागि तयार छौँ तर अहिले बाबुरामको विकल्प छैन’

नेसपा नयाँ शक्तिका नेताहरू डा.जनक शाह र दुर्गा सोबचाहिँ पार्टी नेतृत्वका लागि आफूहरू तयार भए पनि वैकल्पिक राजनीतिलाई स्थापित गराउन डा.बाबुराम भट्टराईको विकल्प नरहेको बताउँछन्। सोब भन्छिन्,‘नेतृत्वका लागि महाधिवेशनमा उम्मेदवारी दिन पार्टीभित्र सक्षम व्यक्ति छन्। म आफू पनि त्योभित्र पर्छु। पार्टी नेतृत्वका लागि अहिले बाबुराम सरकै आवश्यकता छ। नेतृत्वका लागि सक्षम हुँदाहुँदै पनि हामीले उहाँको विकल्प खोज्नु हुँदैन।’

भट्टराईलाई मात्र देखाएर पार्टी कहिलेसम्म चलाउने भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठ्ने गरेको छ। तर भट्टराईबाहेकलाई मानिसहरूले किन देख्दैनन् भन्दै सोबको प्रश्न छ। ‘पार्टीमा बाबुराम सरको विकल्प देश, समाजले स्वीकार गर्छजस्तो लाग्दैन। राम्रो नस्वीकार्ने, नराम्रो पनि नस्वीकार्ने हाम्रो समाज छ। बाबुरामको ठाउँमा म पनि तयार छु अध्यक्षको लागि। यो सबैलाई स्वीकार्य नहुनसक्छ। यहाँ के भयो भने बाबुराम नेतृत्वमा प्रश्न उठाउने, बाबुरामबाहेककाको नेतृत्वमा पनि प्रश्न उठाउने काम भइरहेको छ।’

नेसपा नयाँ शक्तिका अर्का नेता जनक शाह अहिले नै नेतृत्व परिवर्तन गर्नेभन्दा पनि त्यो प्रक्रियाको सुरुवात गर्नुपर्ने बताउँछन्। नयाँ शक्ति स्थापनादेखि नै पार्टीमा नेतृत्व विकासबारे बहस नभएको शाहले बताए।

उनले भने, ‘नेतृत्व भनेको प्रक्रिया हो। त्यो अवस्थाले पनि निर्धारण गर्छ। अवस्थाका आधारमा नेतृत्व दिन सक्ने नसक्ने निर्क्योल  हुन्छ। अहिल्यै नेतृत्व परिवर्तन गर्नेभन्दा पनि त्यो प्रक्रियाको सुरुवात गर्नुपर्छ भन्ने हो। हाम्रो पार्टीमा नेतृत्व विकासबारे विगतमा बहस भएन। एकांगी रूपमा एउटा व्यक्तिलाई मात्रै अगाडि सारियो। अन्य नेतालाई नेतृत्वका लागि अगाडि सार्ने प्रक्रिया खासै अगाडि बढ्न सकेन। पार्टीको संक्रमणकालले पनि त्यस्तो अवस्था आयो।’

शाहले वैकल्पिक शक्ति निर्माणले सफलता पाउँदासम्म पार्टीमा त्यस्तो नेतृत्वको विकास हुने बताए। अहिले नेसपा नयाँ शक्तिले जुन विचार सिद्धान्त लिएको छ त्यो डा.बाबुराम भट्टराईको मात्र विचार नभइ आफूहरूको पनि स्वामित्व रहेको बताए।

नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले पार्टीको महाधिवेशनमा लोकतन्त्रको उच्चतम् प्रयोग हुने बताउँदै इच्छुक नेताले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिन सक्ने बताए। प्रवक्ता शर्माले भने, ‘माघमा हुने महाधिवेशनमा लोकतन्त्रको उच्चतम् अभ्यास हुन्छ। डा.बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गराउन अर्को डाक्टर खडा हुँदैहुनुहुन्छ।’

शाह भने शर्माको भनाइलाई सापेक्षतामा बुझ्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘त्यसलाई सापेक्षतामा बुझ्नुपर्छ। अहिले नै डा.बाबुराम भट्टराईलाई बाहिर राख्नुपर्छ, निश्चित दायरामा राख्नुपर्छ, हामी अगाडि आउनुपर्छ भन्ने निरपेक्ष सोचभन्दा पनि आवश्यकता, परिस्थितिलाई पनि बोध गर्नुपर्ने हुन्छ। भोलि आवश्यकता र परिस्थितिलाई बोध गर्दै डा.साबले तपाईंहरू अगाडि आउनुपर्छ भन्नुभयो भने हामी नेतृत्वमा आउन तयार छौं। महाधिवेशन आउन अझै लामो समय छ। त्यतिबेलासक्क के हुन्छ हेरौँ।’

बाबुरामलाई सुझाव

पूर्व नयाँ शक्ति नेता डम्बर खतिवडा नेसपा नयाँ शक्ति नेतृत्वका लागि कसैले आँट गर्दा हुने बताउँछन्। ‘यो पार्टीमा मैले चिनेका ८/१० जना साथीहरू हुनुहुन्छ। जनक शाह, भक्तबहादुर शाह, कृष्ण शर्मा, मानुषी यमि भट्टराई, दुर्गा सोबलगायत। नेतृत्वका लागि उहाँहरूमध्ये कसैले आँट गर्नुभयो भने गर्नुहोला।’

०७३ जेठ ३० गते स्थापित नयाँ शक्तिमा ७ वर्ष सक्रिय रहेका खतिवडाले उतिबेलै बाबुरामले पार्टीको नेतृत्व हस्तान्तरण गरेको भए आजको अवस्था नआउने टिप्पणी गरे। उनले भने, ‘उहाँको समूहमा को नेता हुन्छ? हिजोको नयाँ शक्तिमा पार्टी नेतृत्व गर्न सक्ने मान्छेहरू पनि थिए। कसैलाई प्रतिस्पर्धा गराएर दिनुपथ्र्यो।’

त्यसैगरी खतिवडाले बाबुराम भट्टराईले सानो कुण्डमा नुहाएर केही नहुने भन्दै ठूलो पोखरीमा जम्प गर्न सुझाव पनि दिए। खतिवडाको सुझाव छ, ‘यो पार्टीको राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव छ? एक्लै चुनाव लड्दा कति प्रतिशत भोट ल्याउँछ? ५० हजार आउँछ? बाबुराम भट्टराई मोहन विक्रम सिंह, नारायणमान विजुक्छें, सीपी मैनालीजस्तो भएर बस्ने योग्य नेता हो र? उहाँले ठूलो पोखरीमा पो जम्प गर्नुपर्छ। सानो कुण्डमा नुहाएर केही हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast