शताक्षी धाममा बन्यो ८७ धारा, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

हिमाल प्रेस १३ मंसिर २०८१ १६:२३ | Thursday, November 28, 2024
शताक्षी धाममा बन्यो ८७ धारा,  मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

इटहरी- झापाको शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्। सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको आज (बिहीबार) मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन्।

धाराको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी सरकारले पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिए। २०८२ साललाई कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले यस्ता धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरूको चयन गरेर कार्यक्रम ल्याउने जानकारी दिए। उनले कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएर आफ्ना नजिकका पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन आग्रह गरे।

शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार सतासी धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेवको मन्दिर र शाकम्बरी शताक्षी देवीको मन्दिरमा पूजा अर्चना गर्न सकिनेछ। मुख्यमन्त्री कार्कीले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गरेका हुन्।

पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो। शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने धार्मिक गुरुले बताए। सताक्षी धाममा निर्माण भएको ८७ धारामा दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गंगाको पानी ल्याएर जडान गरिएको छ।

तर यो धारालाई मुक्तिनाथमा भएका १०८ धारा पछिको दोस्रो मुक्तिनाथको धारा भएको गौ संरक्षक घनश्याम शास्त्रीले बताए। चारैतिर चुरे पहाडले घेरेको नदीको पछिल्ला समयमा शताक्षी धाम क्षेत्र मा स्थायी पूर्वाधारहरू निर्माण भइरहेका छन्। आज मुख्यमन्त्री हिक्मत कार्कीले धाम क्षेत्रमा अतिथि गृहको पनि शिलान्यास गरेका छन्। गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे।

समितिका अध्यक्ष तुलाराम बुखिमको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य राधाकृष्ण खनाल, शिवशताक्षी नगरपालिकाका प्रमुख मेघा हाङ थोप्रा ‘रोसन’को उपस्थिति रहेको थियो।

प्रकाशित: १३ मंसिर २०८१ १६:२३ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast