मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाले गराए उम्मेदवारी दर्ता

हिमाल प्रेस २ मंसिर २०८१ २१:१७ | Sunday, November 17, 2024
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाले गराए उम्मेदवारी दर्ता

इटहरी- मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ। आइतबार बिहान १० बजेदेखि ५ सम्ममा राजनीतिक दलबाट १५ र स्वतन्त्रबाट १ गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी र नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझीले उम्मेदवारी दर्ता गराएका छन्।

यसै गरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएको पौडेलले जानकारी दिए।

समावेशी समाजवादी पार्टीबाट वोधनारायण माझी र जनता समाजवादी पार्टी (जसपा)नेपालबाट सुरेशकुमार राजवंशीले उम्मेदवारी दर्ता गराएका छन्। यसै गरी नमनारायण चौधरी थारुले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी एमाले निकट हुन्। एमालेले तुलसीरामलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका हुन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। तर, उनी राष्ट्रियसभा निर्वाचनका लागि मत हाल्न विराटनगर जाने क्रममा अचानक बेहोस भएका थिए। उनको उपचारको क्रममा गत असार ३ गते निधन भएसँगै अध्यक्ष पद रिक्त छ। आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा आइतबार मनोनयन दर्ता भएको हो।

प्रकाशित: २ मंसिर २०८१ २१:१७ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast