 
                             
                                            खोटाङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरीक्षकको लापरबाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ।
केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित थर्पुडाँडाका शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित राईका आफन्तले बोर्डमा उजुरी दिएका थिए। उजुरीका आधारमा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो।
गत चैत २० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए। गत असोज-१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक-४ गते परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुबा परशुराम राईले जानकारी दिए।
हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन्। पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो। अब भने पछिल्लो नतिजा अर्थात् ३.४५ जीपीए कायम हुने जनाइएको छ।
परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए।
उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए। तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 