 
                             
                                            काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले ८ वर्षअघि लिएको परीक्षा र नतिजा रद्द गरिएको जनाएको छ। सेवा आयोग कार्यालयले विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरेको हो।
त्रिवि सेवा आयोगको कार्यालयबाट २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८–०७३–०७४ अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदहरूको लिखित परीक्षाको नतिजा रद्द भएको त्रिवि सेवा आयोगको कार्यालयले जनाएको छ।
उक्त परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न १६ पदहरूमध्ये ८ वटा पदहरू शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, पुस्तकालय सहायक पदहरूको हकमा सम्मानित विशेष अदालत, काठमाडौँले (मुद्दा नं ०७५–सीआर–०३४८ र मुद्दा नं ०७८–सीआर–००७१) परीक्षाको परिणाम फेरबदल गर्ने गराउने काम गरी भ्रष्टाचारजन्य कसुर गरेको २०७९ असोज ४ गते फैसला गरेको थियो।
उपप्रशासक, उपआर्थिक नियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियरिङ्ग), प्राविधिक अधिकृत (कम्प्युटर), प्राविधिक सहायक (कम्प्युटर), र ड्राइभरको हकमा समेत कोडिङ, डिकोडिङ, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन लगायतका कार्यमा सेवा आयोगको आन्तरिक कार्यविधि, २०६७ को पूर्णरुपमा पालना भएको नदेखिएको साथै त्रिवि ऐन, नियम तथा विनियममा भएको व्यवस्थाकोसमेत पूर्ण पालना गरेको नपाइएको हुँदा उल्लेखित परीक्षासँग सम्बन्धित कार्यसमेत दूषित देखिएकोले त्रिभुवन विश्वविद्यालय, शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० (२०८०–३–१२ सम्मको संशोधनसहित) को नियम ९५ (५) मा भएको व्यवस्थाका आधारमा लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्तालगायत उक्त विज्ञापनसँग सम्बन्धित सम्पूर्ण प्रकृया (विज्ञापनबाहेक) आयोगको २०८१ मंसिर ७ गते सम्पन्न बैठकको निर्णय बमोजिम रद्द गरिएको जनाएको छ।
उक्त विज्ञापनमा नियमानुसार आवेदन पेश गरी नामावली स्वीकृत भई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारको पुनः लिखित परीक्षा सञ्चालन गरिने सेवा आयोगले जानकारी दिएको छ।
सोका लागि नामावली अद्यावधिक गर्नुपर्ने भएकोले २०८१ मंसिर १६ गते देखि २१ गतेभित्र व्यक्तिगत विवरण तथा सोसँग सम्बन्धित प्रमाणित कागजात आयोगमा पठाउन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 