लोकसेवाको विज्ञापन पनि मुख्यमन्त्री आचार्यको सफलता [लुम्बिनी सरकारको १०१ उपलब्धिसहित]

विनोद परियार १५ कार्तिक २०८१ १२:४०
16
SHARES
लोकसेवाको विज्ञापन पनि मुख्यमन्त्री आचार्यको सफलता [लुम्बिनी सरकारको १०१ उपलब्धिसहित] लुम्बिनी सरकारको सयदिने १०१ उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री चेतनारायण आचार्य। तस्बिर : हिमालप्रेस

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री आचार्यले कानुन निर्माणदेखि नियमित रूपमा हुने कार्यसम्पादनलाई पनि आफ्नो उपलब्धिका रूपमा पत्रकार सम्मेलनमा जानकारी दिए। उनले नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिका स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको दाबी गरे।

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजस्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासन कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ। आचार्यले साउन ९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। उनले लोकसेवा आयोगको कार्यतालिकाअनुसार हुने पदपूर्ति प्रक्रियालाई पनि सरकारको उपलब्धिका रूपमा राखेका छन्।

यस्ता छन् सय दिनका एक सय एक उपलब्धि

लुम्बिनी प्रदेश सरकारले सय दिनमा एक सय एक उपलब्धि सार्वजनिक गर्दै सरकार जनताले महसुस गर्ने अवस्थामा पुगेको दाबी गरेको छ। सरकारको १०० दिनमा पूर्वविशिष्ट पदाधिकारीहरुको खर्च कटौतीदेखि, कानुन निर्माण, आयोजनाको ठेक्का र लोकसेवा आयोगले विज्ञापन निकाल्नुसम्मलाई उपलब्धि मानेको छ।

मुख्यमन्त्री आचार्यले पूर्वविशिष्ट पदाधिकारीका नाममा दिइँदै आएको सेवासुविधा (सवारी, इन्धन, मर्मत लगायत) फिर्ता गराउनेसम्बन्धी प्रदेश सरकारबाट भदौ ६ मा निर्णय गरी पूर्णतः कार्यान्वयनमा ल्याइनुलाई मुख्य उपलब्धिका रूपमा उल्लेख गरेका छन्।

प्रदेशसभा तथा प्रदेश सरकारबाट स्वीकृत कानुन, कार्यविधि, निर्देशिकामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई उपलब्धिका रूपमा लिइएको छ। तर सरकारले प्रदेशसभामा पेस गरी पारित गरेको निजामती सेवा ऐन, २०८० प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाए पनि प्रदेश प्रमुख कार्यालयले फिर्ता पठाइदिएको छ।

बुटवलस्थित सुविधासम्पन्न १२ तले एक हजार दुई शय्या रहने अस्पताल भवन ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी भएको शिलान्यास पनि सरकारको उपलब्धिमा छ।

चालु आर्थिक वर्ष २०८१\०८२ देखि पाँच लाख वा सोभन्दा माथिका सबै आयोजनाका कार्यक्रम अनिवार्य रूपमा प्याकेजिङ गरी टेन्डर प्रक्रियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिनु, बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०८० परिमार्जन गरेर मात्र चालु आर्थिक वर्षको बहुवर्षीय आयोजनाका लागि स्रोतको सुनिश्चितता प्रदान गर्ने व्यवस्था गरिनु उपलब्धि ठानिएको छ।

यस्तै जनताका समस्या एवं गुनासो सुन्न र सम्बोधन गर्न मुख्यमन्त्रीले आफूले कार्यालयमा समय व्यवस्थापन गर्नुका साथै सातामा दुई दिन बुटवलमा जनता-मुख्यमन्त्री भेटघाट कार्यक्रम सयदिने उपलब्धिको सूचीमा छ। सरकारको नियमित कामअन्तर्गत हुने टेन्डर प्रक्रियामा गएको विषय पनि लुम्बिनी सरकारको उपलब्धिमा छ।

चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त आयोजनामध्ये २२५ वटा आयोजना टेन्डर प्रक्रियामा गएका, जसमध्ये ६५ आयोजनाको सम्झौता सम्पन्न भएको, २१ वटा आयोजना सम्झौताको प्रक्रियामा रहेका छन्। भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल नवलपरासी पश्चिम र आयुर्वेद अस्पताल, कपिलवस्तुको भवन निर्माण कार्य सम्पन्न भएको मुख्यमन्त्रीले सयदिने उपलब्धिमा छन्।

लोकसेवाको विज्ञापन पनि सरकारको उपलब्धिमा छ। चालु आर्थिक वर्षको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिकाबमोजिम अधिकृतस्तर नवौँ तह (प्राविधिक तथा अप्राविधिक) का विभिन्न पदका लागि बढुवातर्फ ७७ पद, अन्तरतह र खुला तथा समावेशी तर्फ कुल ५५ गरी जम्मा एक सय ३२ पदका लागि विज्ञापन भई पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

अधिकृतस्तर सातौँ र आठौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदका लागि बढुवा तर्फ र अन्तरतह एवं खुला तथा समावेशी तर्फ गरी एक सय ५० पदका लागि विज्ञापन गरी पदपूर्तिको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

लुम्बिनी सरकारको सयदिने उपलब्धि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast