नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

हिमाल प्रेस १३ कार्तिक २०८१ १९:०७
52
SHARES
नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

काठमाडौँ- नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ।

डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए।

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए। ‘भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ,’ उनले भने।

शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए। उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए।

डेंगी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ। यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेंगी सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ।

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी सङ्क्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ।

उपत्यकामा डेंगी सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ। काठमाडौँ जिल्लामा चार हजार ६० जना,  भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेंगी सङ्क्रमण देखिएको छ।

वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको सङ्क्रमण बढेको हो।

डेंगी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast