किन हेर्ने ‘पूर्ण बहादुरको सारङ्गी’? यसो भन्छन् कलाकार

सुस्मिता बजगाईं १२ कार्तिक २०८१ २०:०४
66
SHARES
किन हेर्ने ‘पूर्ण बहादुरको सारङ्गी’? यसो भन्छन् कलाकार

काठमाडौँ- ‘पूर्णबहादुरको सारङ्गी’को पोस्टर सार्वजनिक भएदेखि नै दर्शकले कलाकारहरू विजय बराल र अञ्जना बराइलीको लुक्स तथा अभिनयप्रति चासो देखाइरहेका छन्। कलाकार प्रकाश सपूत जोडिएकाले पनि फिल्म चर्चामा छ। फेसबुक रिल, स्टोरी र टिकटकका भिडियो हेर्दा फिल्मका ‘रैया चाँदीको’, ‘मैझारो’, ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’ बोलका गीतलाई श्रोतादर्शकले निकै रुचाएका छन्।

फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमै छ। जसलाई १५ लाखभन्दा बढी दर्शकले हेरिसेकका छन् भने मार्मिक कथा रहेको भन्दै करिब दुई हजारले सकारात्मक प्रतिक्रिया दिएका छन्। कलाकार र निर्माण टिम मोफसलको प्रमोसनल टुर सकेर राजधानी फर्किएको छ। गन्धर्व समुदायको कथा रहेको ‘पूर्णबहादुरको सारङ्गी’ लक्ष्मीपूजाका दिन प्रदर्शन हुँदैछ। फिल्मका मुख्य कलाकार बराल र बराइली हुन् भने प्रकाश छोराको भूमिकामा छन्।

उपत्यकामा पत्रकार सम्मेलन गर्दै उनीहरूले गन्धर्वको जीवन र सन्तानका लागि अभिभावकले देखेको सपना ‘पूर्ण बहादुरको सारङ्गी’ रहेको बताएका छन्। आफ्नो अभिनय र फिल्मबारे के भन्छन् त प्रमुख कलाकारहरू?

पुस्तान्तरणसहित रुपान्तरणको कथा हो : विजय बराल

फिल्मका मुख्य पात्र हुुन् अभिनेता विजय बराल (पूर्णबहादुर गन्धर्व) हुन्। फिल्म पूर्णेको समग्र जीवनको कथामा बनेको छ। गन्धर्व समुदायको पुर्ख्यौली पेसा सारङ्गीवादन हो। त्यही पेसालाई पुस्तान्तरण गर्दै आइरहेको पूर्णेले छोरामार्फत अब रूपान्तरण हुनुपर्ने सन्देश दिएको विजयले बताए। त्यसो त उनले फिल्मलाई बाउछोराको सम्बन्ध र सपनाको कथा पनि भनेका छन्। एउटा सामान्य अभिभावकले छोराका लागि देखेको सपना फिल्ममा छ।

‘सारङ्गीको कथामा बनेको फिल्म बाले छोराका लागि देखेको सपना पनि हो। फिल्म भन्नेबित्तिकै केही कथा हुनुपर्छ। त्यो यही हो’, अभिनेता विजयले भने। बरालले प्रायः फिल्ममा सहायक भूमिकामा कमेडी शैलीको अभिनय गर्दै आएका थिए तर यसपटक मुख्य भूमिकामा छन्। त्यो पनि फरक पात्र। फिल्मको सम्पूर्ण भार विजयमाथि छ। उनले फिल्ममा पहिलोपटक मुख्य भूमिकामा अभिनय गरेकाले आफ्ना लागि यो फिल्म विशेष रहेको बताएका छन्।

यसअघि नाटकमा दुईपुस्ते पात्रको भूूमिका गरिसकेको भए तापनि गन्धर्वको हिसाबले पात्र नयाँ भएको उनले बताए। ‘मैले थिएटरमार्फत युवा र वृद्ध पुस्ताको भूमिकामा धेरैपटक अभिनय गरेको छु। गाइनेको भूमिका मेरा लागि नौलो हो र यो अभिनय र जिम्मेवारीलाई मैले अवसरका रूपमा पनि लिएको छु’, उनले भने।

विजयको नजरमा पूर्णे साधारण पात्र हो। उसले पढेको पनि छैन। साधारण अभिभावकले छोरालाई बनाउन खोजेको सपनाको कथा हो। पूर्णेको जीवनयात्राको कथा भन्न रुचाउँछन् उनी। साथै विजयले यो कथा अहिलेको समयलाई लक्षित नगरिएको र पुर्खादेखि गन्धर्वको अहिलेको अवस्थासम्मको यात्राको कथा रहेको पनि खुलाएका छन्।

‘ट्रेलरमै मेरो बच्चादेखि विवाह, जीवनको संघर्ष र वृद्ध अवस्थासम्मको कथा खुलाइएको छ’, उनी भन्छन्, ‘फिल्ममा त्यतिबेलादेखि अहिलेसम्म यसरी आइपुगेऊ भन्ने गन्धर्वको जर्नीको कथा पक्कै छ।’ जर्नीको कथा करिब तीस वर्षअघिको मान्न सकिने पनि उनले बताएका छन्। यो पेसा अब पुस्तान्तरणसहित रूपान्तरण हुनुपर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको बरालले बताए।

सहायक भूमिकामा काम गर्न सहज हुने विजयको अनुभव छ। उनलाई मुख्य भूमिकामा आँट गर्न अलिक गाह्रो थियो। दुई सातापछि निर्णय दिएका विजयले पूर्णे बन्न गन्धर्वको शरीरको हाउभाउ, अनुहारको भाव र उसले बोल्ने शैली अध्ययन गरेको बताए। उनले भने, ‘संवाद लेखिनु र पात्रले देखाउनुमा चुनौतीको काम हो।’

उनले सारङ्गी बजाउन, हातको पोजिसन र ट्युनका लागि करिब १० दिनजति अभ्यास गरे। समग्रमा विजयले यो फिल्मलाई पूर्णे पात्रको बालापन, प्रेमजीवनको दुःख, भोगाइ र छोराका लागि बाबुभित्रको द्वन्द्वात्मक संघर्ष भनेर व्याख्या गरे।

पेसा रुपान्तरणमा आमाको विद्रोही चरित्र छ : अञ्जना बराइली

आर्टमान्डुको म्युजिक भिडियो ‘घुमीघुमी’ बाट कलाकारिकता सुरु गरेकी अञ्जना बराइलीले त्यसपछि पहिलो फिल्म ‘महापुरुष’ मा अभिनय गरिन्। उनी ‘चित्रा’मा विशेष भूमिकामा देखिएकी थिइन्। तेस्रो फिल्म ‘पूजार सार्की’ बाट अञ्जनाले राम्रो चर्चा पाइन्। अभिनयका हिसाबले यो उनको चौथो फिल्म हो। बाटुली बनेकी अञ्जना फिल्ममा पूर्णेकी पत्नी र कमलेकी आमाको भूमिकामा छिन्।

ग्रामीण महिला बाटुली विवाहपछि सन्तानका लागि आफू विद्रोही बनेको छन्। ‘गाइनेले छोरालाई के बनाउँछ त? त्यो बेला छोरालाई त्यही पेसामा धकेल्थे तर बाटुलीको पतिले भोगेकै कुरा छोराले किन भोग्नु भन्ने विद्रोहको भूमिका छ’, अञ्जनाले भनिन्।

आफ्नो भूमिका खुलाउँदै उनले भनिन्, ‘बच्चा जन्मिसकेपछि आमाले पनि छोराप्रति उत्तिकै चिन्ता गर्छिन्। पतिले भोगेकै दुख छोराले नपाओस् भन्ने चाहना बाटुलीको छ।’ आफूले पेसा रूपान्तरण हुनुपर्नेमा विदोही चरित्र पनि फिल्मम देखिने उनले बताइन्। मोफसल टुरमा पनि दर्शक फिल्म हेर्नप्रति उत्साहित रहेको अभिनेत्री अञ्जनाले सेयर गरिन्। फलस्वरूप फिल्मबाट आफूलगायत सम्पूर्ण टिम आशावादी रहेको उनले खुलाएकी छन्।

अर्का कलाकार मुकुन भुसाल फिल्ममा पूर्णेको भाइको भूमिकामा छन्। उनले यो फिल्मबाट दर्शकले चलिरहेको कथाभन्दा फरक अनुभव गर्नेमा विश्वस्त रहेको बताए। आफ्नो अभिनय यात्रामा यसले केही इँटा थप्नेमा उनी विश्वस्त छन्।

फिल्ममा गायक तथा कलाकार प्रकाश सपूत छोरा कमलेको भूमिकामा छन्। सारङ्गीको कथामा बनेकाले प्रकाशले आफ्नो क्षेत्र र गीतमार्फत नजिकबाट महसुस गरेको बताए।

उनले भने, ‘सारङ्गीको नाम जोडिएर सामान्य पात्रको कथालाई ठूलो पर्दासम्म ल्याउने काम संघर्षपूर्ण हो। फिल्मलाई दर्शकले रुचाउनुहुन्छ भन्नेमा आशावादी छु।’

फिल्म बाबु र छोराको भावनात्मक सम्बन्धको कथा हो : निर्देशक पौडेल

फिल्मका निर्देशक सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई सन्तानको लागि सपना देख्ने अभिभावकको कथा भनेका छन्। फिल्ममा बाबु छोराको भावनात्मक सम्बन्ध पनि रहेको निर्देशक पौडेलले बताएका छन्। उनले आफ्नो फिल्मलाई जुम्लाको स्याउको महत्त्वसँग तुलनासमेत गरेका छन्।

‘हाम्रो फिल्मलाई समग्र स्याउको मार्केटमा जुम्लाको स्याउजत्तिकै भन्न चाहान्छु र जुम्लाको स्याउजस्तै बनाएर ल्याएका छौँ’, उनले भने। फिल्म पूर्ण बहादुर गन्धर्वको जीवनको कथा भएकाले गन्धर्वको कथामा सारङ्गी आउनुपर्छ भन्ने हेतुले फिल्मको नाम पूर्ण बहादुरको सारङ्गी राखेको बताए।

उनले फिल्मलाई बा को मात्र नभएर सम्पूर्ण अभिभावकको कथा भनेका छन्। उनले भने, ‘नेपालमा आमाको संघर्षको कथामा आइरहेको र बा को भूमिका कम देखिने भएकोले कथामा बा अग्र स्थानमा देखिएका छन्।’

उनी फिल्मलाई निम्नवर्गीय परिवारको मौलिक माटोको कथा भन्न रुचाउँछन्। ‘यो निम्नवर्गीय परिवार र बाको कथा हो, जसले आफ्नो सन्तानका लागि सपना देख्छ र त्यो पूरा गर्न संघर्ष गर्छ’, निर्देशक पौडेलले भने। ‘सम्पूर्ण नेपालीको बाआमा हुनुहुन्छ उहाँहरूको सम्मानमा र जसको हुनुहुन्न उहाँको सम्झनामा हामीले यो फिल्म समर्पित गर्दै छौँ’, उनले भने।

निर्माता विनोद पौडेलले बा र छोराको इमोसनले नै आफूलाई छोएको र परिमार्जित गरेर दर्शकलाई यो कथा भन्नुपर्छ भन्ने हेतुले फिल्म बनाएको उनले बताए। निर्माता पौडेलले गाउँको मौलिक कथा विदेशमा बढी रुचाउने र उता बेच्न सकिने हेतुले लगानी गरेको सुनाए।

‘यो हाम्रो मौलिक माटो र गाउँको कथा हो। मलाई का र छोराको इमोसनको कथाले छोयो। यसअघि ‘आमा’ को संघर्षको कथा पनि राम्रो चल्यो। अर्को कुरा मान्छेलाई सहर आएपछि गाउँको भ्यालु बढ्ने रहेछ। विदेश गएपछि मान्छेलाई देशको अझै महत्त्व बढी हुने रहेछ। मौलिक कथा विदेशमा बढी रुचाइन्छ र बेच्न पनि सकिन्छ। त्यसैले यो कथा भन्नुपर्छ भनेर लगानी गरेका हौँ’, निर्माता पौडेलले भने।

प्रकाशित: १२ कार्तिक २०८१ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =