प्रहरी समायोजनमा मुख्यमन्त्री पाण्डेको जोड

हिमाल प्रेस ३० असोज २०८१ १५:४०
6
SHARES
प्रहरी समायोजनमा मुख्यमन्त्री पाण्डेको जोड

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको कामसमेत प्रभावित बनेको बताएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९औं प्रहरी दिवस अवसरमा आयोजित समारोहमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेशस्तरमा प्रहरी समायोजन भइसक्नुपर्थ्याे। अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजन गरिएको छैन।’

मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था र संघीयताको मर्मअनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए। ‘सुरक्षाकर्मीलाई स्रोत साधनसम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेकोभन्दा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने ‘त्यसका लागि प्रहरी समायोजन एउटा महत्वपूर्ण पाटो हो।’

सीमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो। देश शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले नेपालमा जहानीयाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै प्रहरी संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको जनाए।

प्रदेश सरकारले आफूमातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्ने गरी कार्यक्रम र बजेट बिनियोजन गरेको उनले बताए। आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन हुने गरी प्रदेश सरकारले प्रहरी चौकीहरु निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार र चौकीको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरेको छ।

खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, सचेतनामूलक कार्यक्रम, लागु औषध दुव्र्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा प्रदेशभर प्रहरीले संचालन गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए।

‘अपराध रोक्ने संकल्प प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने मुख्य नाराको साथ नेपाल प्रहरीले बुधबार ६९ औं प्रहरी दिवस मनाएको हो।

दिवसको अवसरमा गण्डकीमा आयोजित खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताइन्।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रतनबहादुर वागचन्द, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेललगायतको उपस्थिति थियो।

प्रकाशित: ३० असोज २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =