वैदेशिक रोजगारी : दसैँ त गाउँघरमै रमाइलो

हिमाल प्रेस २६ असोज २०८१ १९:५४
18
SHARES
वैदेशिक रोजगारी : दसैँ त गाउँघरमै रमाइलो दक्षिण कोरियामा शनिबार दसैँको टीका लगाएपछि नेपाली। तस्बिर स्रोत : कैलाश शर्माको फेसबुक

काठमाडौँ– दसैँ त विदेशमा पनि मनाउन सकिन्छ। स्वदेशमा जस्तो रमाइलो नहुने वैदेशिक रोजगारीमा गएका नेपालीहरू बताउँछन्। झापा बाहुनडाँगीका सन्तोष भारती कतारमा कार्यरत छन्। उनले दिनभर काम गरेर साँझ परिवारलाई फोन गर्दै एउटा होटलमा बसेर दसैँ मनाएको बताए।

उनीहरूले दिनभर ड्युटी गरेपछि साँझ भेला भएर दसैँ मनाएका हुन्। ‘दसैँ मनाउने सबैको समय मिल्दैन। उनीहरूसँग नेपालमा यसरी दसैँ मनाइन्थ्यो भनेर कुराकानी पनि हुन्छ’, उनले भने।

नेपालीले मात्र दसैँमा बिदा पाउँदैनन्। तिहारमा त भारतीय कामदारलाई कम्पनीले दुई दिन बिदा दिन्छ। तर दसैँमा नेपालीले बिदा नपाउने उनको गुनासो छ। भारती कतारको सुरक्षा गार्ड ग्रुप फोर कम्पनीमा कार्यरत छन्।

वैदेशिक रोजगारीमा कार्यरत नेपालीले फरकफरक शैलीमा दसैँ मनाउने गरेको जापानमा रहेका सञ्जय कार्कीले बताए। नेपालीले दसैँतिहार पछिल्लो समय रमाइलो गरेर मनाउन थालेको उनले बताए। ‘नेपालमा जस्तो अरूको देशमा दसैँ हुँदैन। घरमा जस्तो नभए पनि नेपालीहरू भेला भएर दसैँ मनाउँदा गाउँघरको झल्को आउँछ। मन गाउँमै हुन्छ’, उनले भने।

खाडी देश र मलेसियामा फरक धर्मका कारण नेपालमा जस्तो फुर्सदिलो र रमाएर गरेर दसैँ मनाउन छुट नपाउने गरेको त्यहाँ कार्यरत नेपालीहरू बताउँछन्। दक्षिण कोरियामा भने खुलेर मनाउन पाउने गरेको दक्षिण कोरियाबाट पाँचथरका राजु खतिवडाले जानकारी दिए।

विदेशमा दसैँ भनेको काम सकेपछि मात्र लाग्ने उनले बताए। ‘नेपाली विश्वमा छरिएर बसे पनि चाडपर्वलाई मिलेर मनाउने गरेका छन्। विदेशमा बस्ने नेपालीको दसैँ पनि स्वदेशमा जस्तै गरी मनाउन खोजिन्छ। तर परिवारमा जस्तो हुँदैन’, उनले भने।

विदेशमा रहेका नेपालीले काम सकेर एउटा होटल अथवा कोठामा भेला भएर दसैँ मनाउने गरेको यूएईबाट इलामका दमन लिम्बू बताउँछन्। उनले भने, ‘जति काम भए पनि बेलुका साथीसँग मिलेर होटलमा बसेर दसैँ मनाइन्छ। गत वर्ष त्यसरी नै मनाइयो।’

सानैदेखि परिवारसँगै दसैँतिहार मनाउँदै आएकाले चाडपर्वका बेला मन गाउँघरमै पुग्ने उनी बताउँछन्। ‘विदेशमा एक दिन दसैँ मनाउनुपर्छ पनि त्यही पनि एकछिन’, उनले भने, ‘वर्ष दिनमा आउने दसैँ परदेशबाट सबै साथी घर साथी फर्किँदा आफूलाई घर जान्न मन लाग्छ। समय र छुट्टी मिल्दैन। विदेशमा कार्यरत धेरै नेपाली घर फर्किँदा सँगै जान मन लाग्छ।’

कम्तीमा ५० लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत छन्। दसैँतिहारजस्तो महान् चाडपर्वमा विदेशमा भएका नेपालीले आआफ्नो तरिकाले दसैँ मनाउने गरेका छन्। मलेसिया, खाडीका देश, युरोप र अफ्रिकालगायतमा देशमा कार्यरत कतिपय नेपाली कामदार दसैँको मौका पारेर स्वदेश फर्किने गरेका छन्।

प्रकाशित: २६ असोज २०८१ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =