गाउँसहर बडादसैँको उल्लासमा छ। मान्यजनको हातबाट टीका ग्रहण गरेर आशीर्वाद लिन र पारिवारिक जमघट रमाइलो गर्नका लागि विशेष पर्व हो दसैँ। उपत्यका रित्तिने र गाउँ भरिने क्रम तीव्र छ। समय मिलेसम्म सबै जना दसैँ मनाउन गाउँ पुग्छन्। यस वर्ष बाढीपहिरोले कतिपय उपत्यकामै बस्न बाध्य छन् त कतिपय जोखिम मोलेरै परिवारसँग रमाउन गाउँ फर्किरहेका छन्।
दसैँमा पिङ खेल्ने, साथीभाइ भेटघाट, नाचगान गर्ने तास खेल्नेजस्ता रमाइला क्रियाकलाप गरी सबैले आआफ्नै शैलीअनुसार रमाइरहेका हुन्छ। साहित्य र कला क्षेत्रमा लागेकाहरूले दसैँ कसरी मनाउँछन् त?
अमर न्यौपाने (आख्यानकार)
दसैँ मनाउन घर (चितवन) जाँदैछु। बर्सेनि गाउँमै दसैँ मनाउने गरेको छु। तीन दिन त दसैँ नै लागिहाल्छ। त्यसपछि दिदी भिनाजु, भाञ्जाभाञ्जी सबै टीका लगाउन आउनुहुन्छ। यसपालि सपरिवार भेटघाटले दसैँ रमाइलो हुन्छ भन्ने लागिरहेको छ। दसैँ बिदा लामो छ। किताब पढ्ने भनिन्छ। घरमा ल्याइन्छ पनि तर भ्याइँदैन। घरमा अन्य काम पनि हुन्छ। तर पनि मैले कृष्ण धराबासीको ‘अर्धकट्टी’, वसन्त बस्नेतको ‘सिमसारा’ लगायत केही कवितासंग्रह बाकेको छु। फुर्सद हुँदासम्म बिहानबेलुका पढ्छु।
दसैँ भनेको जान्दा भन्दा मान्दा मिठो हुने रहेछ। सानो हुँदा मानियो। अहिले जानियो। जानेपछि जिम्मेवारी थपियो। त्यो बेला रेडियो नेपालमा घटस्थापनामा मंगल र मालश्री धुन बझ्थ्यो। मदनदास श्रेष्ठले रेडियोमा नाटक सुनाउनुहुन्थ्यो। घर वरपर ढकमक्क फूल हुन्थे। घर पुग्दा फूलहरुले स्वागत गरेकोजस्तो लाग्थ्यो। अहिले मखमली र सयपत्री फूल त्यो पनि सहरमा त गमलामा मात्र फुल्छन्। अधिकांशको घरमा फलामको गेटले स्वागत हुन्छ। अहिले म त्यही गमलामा फुलेको फूल जस्तो महसुस गर्छु।
पहिले जहाँ टीका लगाउन जाँदा पनि रमाइलो लाग्थ्यो। अहिले आफूले लगाइदिँदा रमाइलो हुन्छ। पहिले आफू रमाइलो मान्थेँ। अहिले साना बालबालिकाले नयाँ कपडा लगाएर खुसी भएको, पिङ खेलेको देख्दा रमाइलो लाग्छ। त्यतिखेर आफ्नो बाल्यकाल सम्झिन्छु। पहिले हामी बिदामा साथीभाइ जम्मा हुने, गाउँ डुल्ने रमाइलो गर्ने, पिङ हाल्न घरघरमा बाबियो माग्दै हिँड्ने गर्थ्यौँ। छुट्टै हर्ष हुन्थ्यो। तर अहिले मोबाइलमा गेम खेलेर, टीभी, फिल्म हेरेर, ल्यापटप चलाएर र गीत बजाएर बस्छन्। नवमीको दिन हामी बाल्यकालका साथीभाइ भेटघाट गर्ने त्यो विगतका दिन स्मरण रमाउने गर्छौँ। पहिलेजस्तो त अहिले कहाँ हुन्छ र?
डा. छायादत्त न्यौपाने (बाल साहित्यकार)
तीन वर्ष भयो गाउँ (पर्वत) नगएको। यस वर्ष जाने योजना थियो तर बाढीपहिरोको प्रकोपले पुग्ने परिस्थिति छैन। यसपालि पनि काठमाडौँमै बसेर दसैँ मनाउने हो। यतै रहनुभएका साथीभाइ र आफन्तसँग भेटघाट र रमाइलो त छँदैछ। परिवार मिलेर यतै घुम्न जाने पनि तयारी छ।
बालसाहित्यसम्बन्धी केही लेख लेख्नेछु। त्यसबाहेक एउटा बाल शब्दकोश बनाउँदैछु। केही बालपुस्तक सम्पादन गर्नु छ। बालसाहित्यका कृतिको समीक्षात्मक ग्रन्थ प्रकाशन गर्दैछौँ। पूरा भइसकेको छैन। बिदामा त्यसैलाई निरन्तरता दिन्छु। बालबालिकामा मोबाइल संस्कृति बढिरहेको अवस्थामा उनीहरूलाई पुस्तक पढ्नतिर आकर्षण गर्न कस्ता बालमैत्री पुस्तक प्रकाशन गर्ने भन्नेबारे साहित्यकारहरुसँग विमर्श पनि गर्ने योजना छ।
विवेक ओझा (आख्यानकार)
यस वर्ष काठमाडौँमै बच्चासँगै दसैँ मनाउने योजना छ। बच्चा सानो भएकोले घर नजाने निर्णय गरेको छु। पहिरोको कारण गाउँ (कैलाली) जाने तयारी छैन। बिदामा केही अंग्रेजी, नेपाली अनुवादका पुस्तक पढ्ने योजना बनाएको छु।
पुस्तकहरु त थुप्रै किनेको छु। उपत्यकाको दसैँ परिवार भेट नहुँदा खल्लो लाग्ने रहेछ। घर जाने भनेपछि छुट्टै उमंग हुन्थ्यो। केटाकेटी उमेरमा त दसैँको रमाइलो लाग्यो। समयसँगै दिमाग पनि परिवर्तन हुँदै जाने रहेछ। जिम्मेवारी बढ्दै जाँदा त्यो बाल्यकालको रमाइलो कम लाग्दै जाने रहेछ।
यसपालि मात्र होइन् विगतका वर्षमा पनि काठमाडौँ बसेको छु। त्यतिखेर समय कटाउन छट्पटी हुन्थ्यो। यतै भएका साथीहरुलाई फोन गर्यो परिवारसँग व्यस्त छु भन्थे। आफूलाई कता जाऔँ के गरौँ भन्ने एक्लोपन महसुस हुन्थ्यो तर यस वर्ष भने त्यो महसुस हुँदैन। नयाँ अनुभव हुँदैछ। बाआमाको त सम्झना भैहाल्छ।
डा. विष्णु केसी (बाल साहित्यकार)
कोरोना महामारीपछि सपरिवार उपत्यकामै दसैँ मनाइरहेका छौँ। विगतका वर्षमा टीकापछि आफन्त भेटघाटका लागि गाउँ (रामेछाप) जाने गरेको थिएँ तर यसपटक बाटो जोखिमपूर्ण हुँदा तयारी छैन।
दसैँमा तीन दिन त परिवारसँग नाच्ने गाउने, गर्दैमा बितिहाल्छ। बाँकी बिदाको समयमा आफ्नै सिर्जना सम्पादन गर्ने काम छ। प्रौढ कवितासंग्रहको सम्पादन, बाल कथाअन्तर्गत केही चित्र कोर्न बाँकी छन्। एउटा बालनिबन्ध परियोजनामै लेख्नुपर्नेछ। कोरोनाको महामारीमा तयार गरेको ‘आधुनिक नेपाली खण्डकाव्यका बान्कीहरू’ शीर्षकमा समालोचनाकृतिको अन्तिम रूप दिन पाइरहेको छैन। फुर्सद भएसम्म त्यसैलाई निरन्तरता दिन्छु।
काठमाडौँमा दसैँ सुनसान हुन्छ। सबैजना घरभित्रै बस्छन्। सहरको भावना आवश्यकअनुसारको स्वार्थपन हुन्छ। वल्लोपल्लो घर कोठका छिमेकीबीच राम्रोसँग बोलचाल हुन्न।
दसैँमा घर जाने भन्दाको रमाइलो उपत्यकामा कहाँ महसुस गर्न पाइन्छ र? गाउँ जाने भनेपछिको उमंग, बाटोमा गाउँका मानिस भेट्दाको खुसी, खाजा खाँदै जाने गरेको अनुभूति अर्कै हुन्थ्यो।
सानोमा लठारो बनाउन गाउँगाउँ बाँबियो माग्न जान्थ्यौँ। बाँस काँटेर घिसार्दै ल्याउँथ्यौँ। ठूला मान्छेहरु मिलेर पिङ हाल्दिन्थे। घर नजिकै पधेँरो थियो। त्यहाँ ठुला रूखहरु थिए। त्यसैको हाँगामा पिङ हालेर हेल्थ्यौँ। खाना खान नै छोडेर पिङमै झुम्मिन्थ्यौँ। बाल्यकालमा त दसैँ भन्नेबित्तिकै अर्कै संसारजस्तो लाग्थ्यो। अहिले सम्झिँदा पनि त्यस्तै महसुस हुन्छ।
जानु धिताल (कवि तथा कथाकार)
दसैँ मनाउन झापाबाट काठमाडौँ आइसकेँ। घर त्यतै, दसैँ उपत्यकामा नै मनाउने गरेकी छु। सबैजना उपत्यका छोड्नुहुन्छ म भने भित्रिन्छु। यही नौलो लगिरहेको छ। त्यो भन्दा पनि यसपालि पहिलोपटक नातिनीसँग दसैँ मनाउँदै छु। मनमा छुट्टै उमंग छ।
दसैँ पर्व पारिवारिक जमघटको समय हो। यही लामो बिदामा हो हर्षोलासका साथ परिवारसँग नाचगान, रमाइलो गर्ने। अरु समयमा सबैजना आआफ्नै काममा व्यस्त हुन्छौँ। बाल्यकालको दसैँ पो दसैँ त। नयाँ कपडा लगाउन पाउँदा, मामाघर जाँदाको त्यो खुसी। टीका लगाएर कमाएको पैसाले लंगुरबुर्जामा लगाउने, च्याँखे थाप्ने गर्थ्यौँ। समय परिवर्तन भयो। अहिलेका बच्चा मोबाइलतिर बढी व्यस्त हुन्छन्। दसैँ बिदामा लेखनतिर लाग्ने भन्ने योजना नै छैन। केही फुर्दा लेख्ने भन्ने त छँदैछ।