फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

हिमाल प्रेस १८ असोज २०८१ १५:०८
12
SHARES
फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

दोधारा चाँदनी- कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो।

अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ। अस्पतालमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहोरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए।

‘अव्यवस्थित फोहोरलाई फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ,’ भट्टले भने,’यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ।’

उनका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र हजारदेखि बीस हजारसम्म आम्दानी गर्ने गरेको छ। फोहोर संकलन गरेर सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उनले बताए।

‘कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ।’ उनले भने,’अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहोर उत्पादन हुने गरेको छ।यसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहोर अस्पतालले बिक्री गर्ने गरेको छ।’

प्रकाशित: १८ असोज २०८१ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =