नेपाल बन्यो बंगलादेशी नागरिक तस्करको ‘ट्रान्जिट’

रमेश भारती १७ असोज २०८१ २१:४०
48
SHARES
नेपाल बन्यो बंगलादेशी नागरिक तस्करको ‘ट्रान्जिट’

काठमाडौँ– नेपालबाट बंगलादेशी नागरिकलाई अवैध रुपमा विदेश पठाउने गिरोह थप सक्रिय भएको छ। तस्करहरुले बंगलादेशी नागरिकलाई रोजगारीका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देशमा पठाइरहेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बंगलादेशका नागरिकको तस्करीमा नेपालको अध्यागमनका कर्मचारी पनि संलग्न रहेको बताउँछन्।

बंगलादेशी नागरिकलाई नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो देश पठाउने क्रम नरोकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। बंगलादेशी दलालले वैदेशिक रोजगारीमा युरोप, अफ्रिका, खाडी र अन्य देश पठाउन भनेर त्यहाँका नागरिकलाई काठमाडौँ ल्याउने गरेको पाइएको छ।

दलालले भिजिट भिसामा ल्याएका कतिपय बंगलादेशी नागरिक र तस्करलाई पक्राउ गरिएको आचार्यले बताए। उनका अनुसार बंगलादेशी नागरिकलाई नेपाली विमानस्थल हुँदै तेस्रो देश पठाउने नेपाली एजेन्टले सहयोग गरिरहेको सूचना नेपाल प्रहरीसँग छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने प्रयासमा रहेका १५ बंगलादेशीलाई बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्रिएको छ। गोप्य सूचनाका आधारमा उनीहरूलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरिएको थियो।

यसरी पक्राउ परेका बंगलादेशी नागरिक यूएई र क्रोएसिया जान खोजेको एसपी आचार्यले बताए। उनका अनुसार भिजिट भिसामा नेपाल आएका उनीहरू एजेन्टमार्फत वैदेशिक रोजगारीमा क्रोएसिया र यूएई जाने प्रयासमा थिए।

नेपालको विमानस्थल प्रयोग गर्न एजेन्ट सक्रिय रहेको शंका प्रहरीको छ। ‘बंगलादेशी नागरिकलाई नेपाल ल्याउने एजेन्टबारे पक्राउ परेका बंगालीले केही खुलाएका छैन। यसबारे थप अनुसन्धान भइरहेको छ। बंगलादेशी नागरिकलाई नेपालको विमानस्थल प्रयोग गरेर अर्को देश पठाउन नेपाली दलाल सक्रिय रहेको शंका छ’, उनले भने।

बंगलादेशमा सेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाइ गरिएको छ। जसका कारण पनि एजेन्टले नेपालीकै सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन खोजेको प्रहरी अनुमान छ।

यसअघि साउन २८ गते पोल्यान्डलगायतका विभिन्न देश पठाउने भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्रिएको थियो।

पक्राउ पर्नेमा इलामकी रोशनी राई र सिन्धुपाल्चोककी तारा नेपालीसहित बंगाली नागरिक अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मियाँ, जहान्गिर अलाम र ताहमिना बेगम थिए।

गिरोहले २१ जना बंगलादेशी नागरिकसँग ५० हजारदेखि १० लाख टाकासम्म लिएर पोल्यान्ड पठाउन नेपाल ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

बंगलादेशी नागरिकहरूले आफूहरूलाई एजेन्टले पोल्यान्डलगायतका देश पठाउनका लागि पाँच लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएर परिवारसँग फिरौती मागेको उजुरी प्रहरीमा दिएपछि राई र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसैगरी चैत २० गते बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशमा पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाएको आरोपमा चारजना पक्राउ परेका थिए।

पक्राउ पर्नेमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय सामिम अहमद र ३३ वर्षीय प्रणयकुमार दे थिए।

बंगलादेशी नागरिकलाई नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।

होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

गत मंसिरमा ११ जना बंगाली नागरिकलाई क्यानडा र पोर्चुगल पठाउन नेपाल ल्याएर गौशालाको एक होटलमा बन्धक बनाइएको थियो। बन्धकमा परेका पीडितले प्रहरीलाई खबर गरेको सूचना पाएपछि तस्करहरु भागेका थिए।

‘काठमाडौँ ल्याएर बन्धक बनाउने घटना बढेको देखिन्छ। यो कूटनीतिक विषय हो। सरकारी स्तरमा समस्या समाधानका उपाय खोज्नुपर्छ। नत्र भविष्यमा ठूलो चुनौती हुन्छ’, आचार्यले भने।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राई पनि केही वर्षयता त्रिभुवन विमानस्थल हुँदै बंगलादेशी नागरिक वैदेशिक रोजगारीमा गइरहेको सूचनामा आएको बताए। यसलाई रोक्न सरकारीस्तरमा प्रयास भइरहेको उनले बताए। ‘यो गम्भीर विषय भएका कारण अनुसन्धान भइरहेको छ। कूटनीतिक स्तरमा बहस गरेर समस्या समाधान गर्नुपर्छ’, उनले भने। यस विषयमा बंगलादेशका अधिकारीहरुसँग पनि छलफल भइरहेको जानकारी उनले दिए।

बंगलादेशी नागारिक नेपाल हुँदै तेस्रो देश तस्करीमा ठूलो सेटिङसँगै नेपालीले सहयोग गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बंगलादेशका कतिपय पुरुषले नेपाली महिलासँग विवाह गरेर नेपाली नागरिकता लिई काठमाडौँबाट युरोप यात्रा तय गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। यसको सबै योजना नेपालीले बताएको उनीहरुको भनाइ छ। अध्यागमनका कर्मचारीको तस्करसँग मिलोमतो भएका कारण पनि बंगाली तस्करले नेपालको विमानस्थललाई ट्रान्जिट बनाउन खोजिरहेको अनुसननमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन्।

विगत तीन वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चार सयभन्दा बढी बंगाली नागरिक भिजिट भिसामा आएर विभिन्न देश गएको अध्यागमन विभागको तथ्यांकमा छ।

नेपाल हुँदै बंगलादेशी नागरिक तस्करी गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिताका साथै संगठित अपराध ऐनबमोजिमको कसुरमा अनुसन्धान तथा कारबाही हुने व्यवस्था छ। प्रहरीले अनुसन्धानपछि अदालतमा जिम्मा लगाउने हो। त्यसपछि अनुसन्धानअनुसारको सजाय अदालतले तोक्ने प्रहरीको भनाइ छ।

प्रकाशित: १७ असोज २०८१ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast