बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख सहयोग

हिमाल प्रेस १७ असोज २०८१ १८:५७
8
SHARES
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख सहयोग गण्डकी मुख्यमन्त्री कार्यालय

पोखरा– बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको छ।

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय गर्ने जनाएको छ। प्रदेश सरकारले गत वर्ष जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावितहरूका लागि समेत एक करोड रुपैयाँ सहयोग गरेको थियो।

बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतीको अध्ययन गर्न समिति गठन गरेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो।

समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतिको मूल्यांकन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन तयार पार्नेछ।

प्रकाशित: १७ असोज २०८१ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =