काठमाडौँ- आज दसैँको पहिलो दिन अर्थात घटस्थापना। दसैँलाई मित्र र परिवार मिलानको पर्व पनि भनिन्छ। टाढा रहेका आफन्त र परिवारजनसँग भेटघाट गर्ने प्रतिकका रूपमा दसैँलाई लिइन्छ।
यसपटक भने धेरैको दसैँ खल्लो हुने देखिएको छ। राजधानीबाट आवातजावत गर्ने सडक अवरुद्ध हुँदा कतिपय कष्टकर बाटो हुँदै गाउँ जाँदैछन्। यसअघिको लगातारको तीन दिने वर्षाले अधिकांश सडक भत्किएका छन्।
हालसम्म ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन्। पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन्। राजधानीभित्रै पनि आवातजावत सहज बनेको छैन। काठमाडौँबाट पूर्व निस्किने बीपी राजमार्ग अझै अवरुद्ध छ।
विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन्।
यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ। गत २४ घण्टामा विभिन्न नाकाहरु हुँदै १० हजार ३ सय ७० ओटा सवारी साधनमा ५२ हजार २ सय ५४ जना यात्रुहरू काठमाडौं उपत्यका भित्रिएका छन्।
यस्तै, ११ हजार २ सय २१ ओटा सवारी साधनमा ६१ हजार २ सय ८५ जना यात्रुहरू उपत्यकाबाट बाहिरिएका छन्। काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा रोशी खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग केही दिन अगाडीबाट पूर्णरूपमा अवरुद्ध भएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ।
रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक-मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रूपमै रोकिएको छ।
सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ।
मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवतजावत रोकिएको छ।