ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विजय नेपाल १५ असोज २०८१ १९:३९
6
SHARES
ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

पोखरा- इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई तत्काल पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो।

गत ११ असोजमा भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई भारतीय प्रहरी सहयोगमा नेपालमा ल्याएर सोमबार अदालतमा उपस्थित गराइएको थियो। सोमबारको बयानपछि मंगलबार थुनछेक बहससँगै अदालतले यस्तो आदेश आएको हो। सहकारीको शाखा कार्यालय कास्कीमा समेत भएको र यहाँ समेत उजुरी परेकोले नेपालीलाई कास्की जिल्ला अदालतमा पनि उपस्थित गराइनेछ।

यस्तै, सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर नेपाली (ओमप्रसाद दर्जीं) भने डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। सहकारी ठगी अभियोगमा सहकारीका पदाधिकारी चित्रबहादुर भण्डारी, शक्ति किसान, नरमति रोका, डोरबहादुर परियार, लक्ष्मी सेन र अनिता बुढामगर यसअघि नै पुर्पक्षका लागि बागलुङ कारागारको थुनामा छन्।

सहकारीका संस्थापक अध्यक्ष नेपालीले बागलुङ जिल्लामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै सोही बराबरको बिगो माग गरी अदालतमा अभियोग दायर भएको छ। कास्कीमा शाखा रहेको सहकारीमा उनले ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ।

यसरी कास्की र बागलुङमा गरी बचतकर्ताको करिब २ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुख्य प्रतिवादी बनाइएका नेपाली १६ महिनादेखि फरार थिए। उनलाई पक्राउ गर्न गत वर्ष माघमा रेड कर्नर नोटिसमेत जारी भएको थियो। आफू पक्राउ पर्ने डरले नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे। सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी बचतकर्ताबाट झण्डै २ अर्ब रुपैयाँ उठाएर हिनामिना गरेको उल्लेख थियो। उनले गएको ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकैपटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए।

आफ्नो घरमा आई हतियारसहित ज्यान मार्ने धम्की आएको र ६ लाखसम्म बचतकर्ता भएकाले करोडौंको घर मागेकोले बेपत्ता हुनुपरेको उनले बताएका थिए। आफ्नो चलअचल सम्पत्ति पूरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताएका थिए। ढोरपाटन नगरपालिकाको प्रमुख भएर ७ वर्षदेखि बुर्तिवाङ बस्दा सहकारीमा समय दिन नसकिएको उनले स्वीकारेका थिए। आफू र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत सार्वजनिक गर्दै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको समेत वचन दिएका थिए।

बागलुङ, पोखरा र काठमाडौंमा गरी उनका १८ घर रहेको र ती घरको मूल्य ३ अर्बभन्दा बढी रहेको बताएका छन्। यसबारे कतिपय विषय उनले अदालतसमक्ष बयानमा समेत बताएका छन्।

एमालेबाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जितेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ। शाखा कार्यालयहरू पोखराको सिर्जनाचोक तथा बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

प्रकाशित: १५ असोज २०८१ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =