हवाई उडानमा नयाँ रेकर्ड : एकैदिन ५५९ उडान-अवतरण

हिमाल प्रेस १५ असोज २०८१ १३:२९
52
SHARES
हवाई उडानमा नयाँ रेकर्ड  :  एकैदिन ५५९ उडान-अवतरण फाइल तस्बिर

काठमाडौँ- संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन्। आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। उनका अनुसार आन्तरिकतर्फ हेलिकाेप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन्। प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए। एकै दिन धेरै उडान भएकाले उडान चाप बढेको छ। यसअघि अघिल्लो वर्ष दसैँका वेला यस्तो उडान चाप थियो। विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए। अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए।

विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको बताए। अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए। हेलिकाेप्टरको उद्धार उडानको संख्या पनि उल्लेख्य संख्यामा हुनेछन्।

वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुले पनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ। यस्तो अवस्थामा यातायातको एक मात्र विकल्प हवाई उडान हो। एक्कासि हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ। दिनहुँ विमानस्थलमा यात्रुको भिड लाग्ने गरेको छ। आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य संख्याका यात्री विमान उडानको पर्खाइमा थिए।

प्रकाशित: १५ असोज २०८१ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast