बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस ९ कार्तिक २०८१ १४:०६ | Friday, October 25, 2024
बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। साथै उनले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलका ६ बालबालिकाको बाढीपहिरोबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडितपरिवारले अघिल्लो दिनदेखि नै वर्षा भइरहेको र कुलेखानी विद्युत् गृहको बाँध खोल्ने सूचना भएको अवस्थामा बालबालिलाई विद्यालयबाट सुरक्षित स्थानमा लैजानुपर्नेमा लापबारही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पीडित परिवारले आग्रह गरेका छन्।

पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त घटना अत्यन्त दुःखद् भएको उल्लेख गर्दै यसबारेमा यथार्थ जानकारी लिने पीडित परिवारलाई विश्वास दिलाए। उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट पारे।

भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए।

प्रकाशित: ९ कार्तिक २०८१ १४:०६ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast