चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको छ : प्रचण्ड

हिमाल प्रेस ३ कार्तिक २०८१ १९:५५ | Saturday, October 19, 2024
चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको छ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए।

अध्यक्ष प्रचण्डले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद दिए। उनले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री प्रचण्डले सीमा नाका प्रभावकारी रूपमा सञ्चालन, रेलमार्ग निर्माण प्रक्रिया अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्यका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताए।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर यहाँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता थप विस्तार गर्नुपर्नेमा जोड दिए। पहिलोपटक नेपाल भ्रमणमा आएका उनले चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएकाले सोहीअनुसार सरकार र पार्टीहरूबीचको सम्बन्धलाई महत्व दिने गरेको उल्लेख गरे।

भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो। चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सेक्रेटरी छेन्, नेपालस्थित चिनियाँ राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ३ कार्तिक २०८१ १९:५५ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast