अदालतको आदेशसँगै धरानका उपमेयर बेघाले सम्हाले कार्यवाहक मेयरको जिम्मेवारी

हिमाल प्रेस ६ कार्तिक २०८१ २०:५७ | Tuesday, October 22, 2024
अदालतको आदेशसँगै धरानका उपमेयर बेघाले सम्हाले कार्यवाहक मेयरको जिम्मेवारी

इटहरी- धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको विषयलाई लिएर उच्च अदालत विराटनगरमा परेको रिटमा मंगलबार (आज) भएको सुनुवाइमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ। अदालतले यसअघि कात्तिक ४ गते दिएको सो आदेशलाई निरन्तरता दिएको हो।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेश कुमार चौधरीको संयुक्त इजलासबाट सोही आदेश कार्यान्वयन गर्न पुनः आदेश जारी गरेको हो।

उच्च अदालतले अन्तरिम आदेश दिएसँगै उपप्रमुख अइन्द्रबिक्रम बेघाले नगर प्रमुखले गर्ने कानुन बमोजिमका जिम्मेवारी सम्हालेका छन्। मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै ११ नं. का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए। तर उच्च अदालत विराटनगरले कात्तिक ४ गते नै उक्त जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

अदालतले अल्पकालीन अन्तरिम आदेशलाई दिएको निरन्तरता र पत्रको आधारमा कार्यवाहक बनेका वडाध्यक्ष जिम्मेवारीबाट अलग भएपछि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यभार उपप्रमुख बेघाले सम्हालेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपप्रमुखको कार्य विभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा ४ को (ख) को २ मा भएको विद्यमान व्यवस्थामा गैर कानुनी भएकोले उच्च अदालतले दिएको उनको भनाइ छ।

आइतबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थिए।

प्रकाशित: ६ कार्तिक २०८१ २०:५७ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast