…अनि भक्कानिए गणेश रसिक

गणेश रसिकबारे पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘उहाँका सिर्जना देशका धड्कन हुन्’

विवेक विवश रेग्मी १४ असोज २०८१ २१:०६
78
SHARES
…अनि भक्कानिए गणेश रसिक

काठमाडौँ- सोमबार राजधानीस्थित रसियन कल्चर सेन्टरमा प्रसिद्ध गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको नाममा सङ्ग्रहित ‘गणेश रसिकःअभ्यर्थना ग्रन्थ’ सार्वजनिक भयो। उक्त ग्रन्थको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरिन्।

सोही कार्यक्रमको अवसर पारेर विभिन्न ३० वटा संघसंस्थाले अभिनन्दन पनि गरे। भोजपुरे सेवा समाज काठमाडौँले आयोजना गरेको कार्यक्रममा सर्जक रसिक भोजपुरको मात्रै नभई राष्ट्रको नै प्रतिनिधि रहेकोसमेत उल्लेख गरे।

कार्यक्रममा बोल्दै रसिकले आफूलाई उक्त सम्मान सम्हाल्न गाह्रो भएको बताए। क्यान्सर रोगबाट प्रताडित रसिकले भने, ‘कहाँ राखु मैले यो सम्मान? कहाँ राखुँ यो इज्जत? मलाई बोक्न गाह्रो भयो। सायद, भोजपुरे सेवा समाजबाट यसरी सम्मानित हुने म पहिलो व्यक्ति नै होला, त्यो अवसर मैले प्राप्त गरेँ।’

उक्त ग्रन्थमा ९३ जना लेखकले रसिकबारे लेख, रचना लेखेका छन् भने ९ जनाले समालोचना र ८ जनाले अन्तर्वार्ता लेखेका छन्। ६३१ पृष्ठ लामो पुस्तक गणेश रसिक फाउन्डेसन इलामले प्रकाशित गरेको हो। सुदर्शन श्रेष्ठ र शशी लुमुम्बूले सम्पादन गरेको पुस्तकको सार्वजनिकीकरणमा बोल्दै रसिकले भने, ‘उहाँहरूले लेखहरू संकलन गर्नुअघि मलाई सोध्नुभएको थियो। मलै त भनेँ, मेरोबारे के लेख्नुहुन्छ? ननिकाल्नुहोस्, म मरेपछि निकाल्नुहोस्, अहिले आवश्यक छैन, म त्यस्तो विशिष्ट व्यक्तित्व पनि होइन।’

तर निरन्तरको अभ्यासबाट उक्त पुस्तक तयार भएको र पुस्तक प्रकाशनमा योगदान पुर्‍याउने सबैप्रति उनी कृतज्ञ बने। उनी बोल्दाबोल्दै भक्कानिए। मञ्चमा सम्बोधन गर्दै रसिकले थपे, ‘बाँचे फेरि भेटौँला, मरे त जीवन सकिहाल्छ।’

उनले आफूलाई केही वर्ष पहिले नै भारतको दिल्लीबाट डाक्टरले फर्काएको भए पनि नेपाल आएपछि भने उपचार गरेर क्रमशः स्वास्थ्य सुधार रहेको बताए।

‘मलाई त दिल्लीबाट डाक्टरले तिमी नेपाल जानू, आफ्नो खुसी हुने काम गर्नू भनेर माया मारेर फर्काएको हो। तर यहाँ आएपछि उपचार गरेँ, राम्रो भइरहेको छ। आज यो मञ्चमा बोल्न सक्नुमा डाक्टरको योगदान छ। यो अवसर दिनुहुने डाक्टरप्रति पनि कृतज्ञ छु,’ उनले भने, ‘मैले यो कार्यक्रममार्फत धेरै भोजपुरेसँगको सम्बन्ध रिन्यू गर्ने अवसर पनि प्राप्त गरेको छु।’ उनले मानिस बाँच्नका निम्ति संघर्ष गर्ने र बाँच्न कठीन रहेको समेत बताए।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रसिकले साहित्य, कला तथा गीत संगीतको क्षेत्रमा पुर्‍याएको योगदान र ख्यातिप्राप्त लेखकबाट लेखिएका लेख, रचना, समेटेर पुस्तक प्रकाशनमा ल्याएको धन्यवाद व्यक्त गरिन्।

भोजपुर जिल्ला शिक्षा, भाषा, साहित्य, संस्कृति, समाजसेवा र राजनीतिको उर्वरभूमि रहेको उनको भनाइ छ। ‘जनबोली र प्रकृतिका सुशेलीहरूलाई टिपेर रसिकले रचना गर्नुभएका, संगीत भरेर गाउनुभएका राष्ट्रिय भावनाले ओतप्रोत गीत, मलाई लाग्छ, देशका धड्कन हुन्,’ उनले भनिन्, ‘उहाँका राष्ट्र, राष्ट्रियता र आम मानिसका पक्षमा सिर्जित धेरै सिर्जना रैथाने स्वाद र सर्वप्रिय, कालजयी छन्।’

रसिकले आफ्ना रचना र कृतिका माध्यमबाट समाज र राष्ट्रप्रति विशिष्ट योगदान पुर्‍याएको भन्दै उनले प्रशंसा गरिन्। रसिकका जीवनका विविध पाटा रहेको र उनको साहित्यिक तथा सांगीतिक पाटोसँगै सामाजिक पाटो पनि बिर्सिन नहुने उनको भनाइ थियो।

‘यस्ता विशिष्ट मानव सम्पदाकाबारेमा चुनिएका लेखकहरूका लेख समावेश गरी यो ग्रन्थ प्रकाशित हुनु खुसीको कुरा हो,’ भण्डारीले भनिन्, ‘यस ग्रन्थले रसिकका जीवनका आरोह, अवरोह र राष्ट्रलाई दिनुभएको विशिष्ट योगदानबारे महत्वपूर्ण जानकारी दिने विश्वास लिएकी छु।’

कार्यक्रममा रसिकका तीन गीतसमेत प्रस्तुत गरियो। गायकद्वय बलराम समाल र भीषण मुकारुङले रसिकका तीनवटा गीत प्रस्तुत गरेका थिए। भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

भोजपुरको नौलेगाउँमा जन्मिएका रसिकले नेपाली गीत, संगीत, साहित्य र कलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। सामान्य कर्मचारीको जागिरे हुँदै व्यावसायिक जीवन पार गरेका उनका क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह) २०२४, एउटा सारंगी छुन खोज्दा (कथा सङ्ग्रह) २०२७, रसिकका गीतहरू (गीत सङ्ग्रह) २०४५, आकाशगंगाको ओतमुनी (उपन्यास) २०४८, जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण) २०५५, बिलाउँदै गएका गीत (कथा सङ्ग्रह) २०५८, दशगजामा उभिएर हेर्दा उपन्यास २०६३, स्वाधिनताको पीडा (गीत सङ्ग्रह) २०६८, पेरुङ्गो संस्करण (पाँच कृति) २०७३ लगायत प्रकाशित छन्।

रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५)जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू निर्वाह गरेका छन्।

उनी यी संस्थाहरूको जिम्मेवारीमा रहँदा पनि सधैँ कला, साहित्य, संगीतमै केन्द्रित भए। जसकारण आज उनको परिचय विशिष्ट व्यक्तिको रूपमा रहेको छ।

‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]

प्रकाशित: १४ असोज २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =