नेतृत्वसँग भिडिरहेका राजेन्द्र

किरण पौडेल ११ असोज २०८१ ७:०५
36
SHARES
नेतृत्वसँग भिडिरहेका राजेन्द्र

काठमाडौँ-  वि.सं २०७४ को आमनिर्वाचनअघि भोजपुरका गाउँगाउँमा मत माग्दा राजेन्द्र राई भन्थे, ‘म यसपटक प्रदेशसभा सदस्य मात्र हुँ। अर्को पटक मुख्यमन्त्री बन्छु।’ उनी ढुक्क थिए, ‘पहिलोपटक मन्त्रीसम्म बनौँला अर्कोपटक मुख्यमन्त्री होइन्छ।’

यसरी उनी चुनावी घरदैलोमा सक्रिय भए। वाम गठबन्धनको सहयोग पाएका राजेन्द्रले चुनाव पनि जिते। राजनीति उनले भनेभन्दा फरक भयो। उनले भनेको एउटा थियो, भइदियो अर्कै। त्यो कार्यकालमा मन्त्री  नै बनेनन्। कोशी (तत्कालीन प्रदेश १) को मुख्यमन्त्री बने। उनी मुख्यमन्त्री बन्नुको कारण हो, एमाले विभाजन। एमाले विभाजन हुँदा राजेन्द्र नयाँ पार्टीमा लागे। उनी यसलाई विद्रोह मान्छन्।

राजेन्द्र जब एमालेमा अध्यक्ष केपी शर्मा ओलीको शैलीको विरोधमा लागे। तब ओलीसँगै बस्न सक्ने अवस्था थिएन। यसै कारण शेरधन राई एमालेमै बस्दा राजेन्द्र मुख्यमन्त्री बनेका थिए। शेरधन मुख्यमन्त्रीका आकांक्षी साथै ‘गाउँले साथी’ भएकाले पनि राजेन्द्रले मुख्यमन्त्रीको दाबी गरेका थिएनन्। जब पार्टी विभाजन भयो, तब ‘अप्रत्यासित अवसर’ आइलाग्यो।

‘एकीकृत समाजवादीमा सिनियर नेता भएकाले मलाई मुख्यमन्त्रीको प्रस्ताव आएको थियो’, राजेन्द्र सम्झन्छन्। राजेन्द्र मुख्यमन्त्रीका लागि मात्र एमाले नछाडेको बताउँछन्। ‘जब पार्टीमा आफ्नो कुरा राख्न सकिँदैन तब विद्रोहको विकल्प हुँदैन’, राजेन्द्र भन्छन्।

राजेन्द्रको नेतृत्वसँग घम्साघम्सी परिरहन्छ। यसैकारण राजेन्द्र कहिले ‘जोगी बन्छु’ सम्म भन्न भ्याउँछन्। किनभने उनी वर्तमान राजनीतिक संस्कारसँग सहमत छैनन्। उनी भन्छन्, ‘के गर्ने? एक्लो बृहस्पति बनेपछि ‘बलेकै आगो ताप्नुपर्यो।’

राजेन्द्र राज्य प्रणालीसँग होस् वा आफ्नो दलसँग कतिपय कुरामा असहमत छन्। चाहे विद्यार्थी राजनीतिमा होस् वा मूलधारको राजनीतिमा राजेन्द्रले सधैँ विद्रोही स्वभाव देखाइरहे। उनी आफ्ना कुरा खुलेआम राख्छन्। अनि चित्त नबुझे ‘फरक मत’बाट पछि हट्दैनन्। त्यसको व्यक्तिगत फाइदा-बेफाइदा उनी वास्तै गर्दैनन्।

गणतन्त्रको एजेन्डा उठाउँदा कारबाहीको चेतावनी

मुख्य राजनीतिमा आउनुअघि राजेन्द्र एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु)का नेता थिए। उनी अखिलका अध्यक्ष भएका बेला खुला राजनीति रहेका राजनीतिक दल र विद्यार्थी संगठनले औपचारिक रूपमा गणतन्त्रको एजेन्डा उठाउन सकेकै थिएनन्। राजेन्द्रले त्यही हिम्मत विद्यार्थीकालमा गरे।

उनले राष्ट्रिय सम्मेलनमै पहिलोपटक संगठनमा ‘गणतन्त्र’ उठाए। ‘त्यसबेला माओवादीले मात्र गणतन्त्र उठाएको थियो। खुला राजनीतिमा पहिलोपल्ट गणतन्त्रको एजेन्डा हामीले उठायौँ’, राजेन्द्र सम्झन्छन्।

हुन त एमाले गणतन्त्रवादी दल मानिन्थ्यो। मातृ पार्टीले उनको एजेन्डा मान्न गाह्रो मान्यो। ‘मेरो एजेन्डाले नेताहरूबीच नै विभाजन ल्यायो’, राजेन्द्र भन्छन्, ‘घनश्याम भुसाल, केशव बडाल, कृष्णगोपाल श्रेष्ठले त विद्यार्थी संगठन अराजक भयो कारबाही गर्नुपर्छ भने, माधव नेपाल-झलनाथ खनाल पनि दोधारमा परे।’

राजेन्द्रका अनुसार ओलीले पनि त्यसबेला गणतन्त्रको एजेन्डा नउठाउन भनेका थिए। राजेन्द्र भन्छन्, ‘उहाँ(ओली) पार्टीमा विपक्षी नेता हुनुहुन्थ्यो। त्यही कारण पनि विपक्षमा एजेन्डा उठाउनुभयो।’ त्यसबेला अखिलसँगै अन्य ६ विद्यार्थी संगठन पनि सडकमा थिए। उनीहरूले पनि गणतन्त्रको एजेन्डा उठाएका थिएनन्।

‘हामी गणतन्त्रको एजेन्डा उठाउनपर्छ भन्नेमा थियौँ। किनभने राजाले एकदमै बढी हस्तक्षेप गरिरहेको हामीले देखेका थियौँ’, उनले भने। राजेन्द्रलाई त्यसबेला पार्टीभित्रबाटै कारबाही हुन पनि सक्थ्यो। कारबाही भए पनि भोग्ने पक्षमा उनी देखिए।

अन्ततः उनले उठाएका एजेन्डा पार्टीले लियो। ‘विद्यार्थी संगठन भनेकै विद्रोह हो। हामी पार्टी वा अन्य निकायभन्दा फरक हुनैपर्छ,’ राजेन्द्र भन्छन्, ‘हामीलाई पदको मतलब थिएन। व्यवस्था परिवर्तनकै खातिर लडिएको थियो।’

राजेन्द्रले विद्यार्थी संगठनमै धेरै ‘भोटो’ फटाए। अखिलका विभिन्न पदमा रहेर सक्रियता देखाए। कहिले महासचिव त कहिले अध्यक्ष। उनी दुई कार्यकाल त अखिल अध्यक्ष बनेका थिए। त्यसबेला विद्यार्थी संगठनको साख राख्ने प्रयत्न गरे। त्यही विद्यार्थी राजनीतिकै कारण राजेन्द्रलाई मूल राजनीतिमा आउन सजिलो बन्यो। अखिलले राजेन्द्रलाई चिनायो भने राजेन्द्रले अखिललाई चिनाए।

नेतासँग लड्दै नेतृत्वमा

राजेन्द्रले २०५७ देखि २०५९ साल र २०५९ देखि २०६१ सालसम्म अखिलको नेतृत्व गरे। उनी गणतन्त्रको एजेन्डा राजनीतिक दलमा ‘फक्राउन’ सक्ने भएका थिए। राजनीतिक परिस्थिति पनि त्यस्तै भइदियो। जब उनी अखिलको नेतृत्व छाड्दै थिए, त्यसबेला राजाको प्रयत्न शासन सुरु भएको थियो।

दोस्रो जनआन्दोलनका समयमा राजेन्द्र अखिलको नेतृत्वबाट बिदा लिँदै थिए। विद्यार्थीको नेतृत्व छाडे पनि पार्टीले उनलाई विद्यार्थी फ्याक्टरकै जिम्मेवारी दिएको थियो।

यसकारण पनि आन्दोलन गर्न सहज भएको उनी सुनाउँछन्। आन्दोलन अघि बढाएर गणतन्त्रको यात्रा तय गर्नुपर्छ भन्नेमा राजेन्द्र ढुक्क थिए। आन्दोलनमा सधैँ उनी अग्रभागमा रहे। तत्कालीन शासकले उनलाई पक्राउ गर्यो।

‘गणतन्त्र स्थापनाका खातिर आन्दोलन गर्दा मसहित साथीहरू पक्राउ पर्यौँ,’ राजेन्द्र ती दिन सम्झन्छन्, ‘चार महिना हिरासतमा बस्यौँ।’ तर राजेन्द्र जेल गएको पहिलो पटक थिएन।

उनले २०४५ मा पनि केही महिना बन्दी जीवन बिताएका थिए। उनी त्यसबेला भारतको नाकाबन्दी र शैक्षिक संस्था बन्दविरुद्ध उत्रिँदा जेलमा पर्नुपरेको थियो। ‘भारतको जे हर्कत भयो त्यो हामी मान्न तयार थिएनौँ। यही कारण ७ महिना जेल परियो’, उनी सम्झन्छन्।

राज्यबाट जेल यातना, माओवादीबाट गिरफ्तार

गणतन्त्रको एजेन्डा उठाउने राजेन्द्रको राज्यको ‘आँखा बिझाउने’ पात्र बनेकै थिए। यही कारण पटकपटक राज्यले बन्दी बनाएको थियो। उनी हिम्मत हार्ने पक्षमा भने थिएनन्। यसै सन्दर्भमा उनी गृहजिल्ला भोजपुरमै रहँदा तत्कालीन बिद्रोही माओवादीको पनि कुदृष्टिमा परे।

उनलाई माओवादीले २०६० सालमा गिरफ्तार गर्यो। राजेन्द्रलाई राज्यपक्षबाट त डर थियो नै। विद्रोहीबाट समेत भय बढ्यो।

‘माओवादीले बलजफ्ती गर्दै मलाई घरबाटै उठाएर लग्यो,’ राजेन्द्र सम्झन्छन्, ‘बाटोमा समेत मलाई उठाएको जानकारी दिएन।’ माओवादीले गणतन्त्रको ‘प्रशिक्षण’का लागि राजेन्द्रलाई गिरफ्तार गरेको रहेछ।

‘मलाई पक्राउ गर्ने साथीहरूले भनेनन्। पछि बुझ्दा गणतन्त्रकै पक्षमा माहोल बनाउन यसो गरेको रहेछ’, राजेन्द्र भन्छन्। राजेन्द्रका अनुसार उनलाई भोजपुरबाट सोलुखुम्बु पुर्याउने माओवादीको योजना रहेछ। सञ्चारमाध्यममा भने राजेन्द्रलाई माओवादीले ‘बलजफ्ती गिरफ्तार गरेको’ हल्ला फैलियो।

‘सोलुखुम्बु लैजाने योजनाबाट माओवादी पछि हट्यो र भोजपुरकै छेउछाउ पुर्याएर छाडिदियो,’ राजेन्द्र भन्छन्, ‘लैजाने साथीले कुरा बुझाएनन्। राम्रै कामका लागि भनेको भए म सहज जाने थिएँ। नागरिक अगुवाको खबरदारी र सञ्चारमाध्यमको प्रभावले भोजपुरबाटै मलाई मुक्त गरिदिए।’

‘जोगी हुने’ अभिव्यक्तिदेखि मुख्यमन्त्रीसम्म

राजेन्द्र सधैँ विचारमा कटिबद्ध कुरा गर्छन्। उनलाई वर्तमान राजनीतिक नेताको गतिविधि पनि मन पर्दैन। यसैकारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा राजेन्द्रले केन्द्रीय कमिटी बैठकमै भनेका थिए, ‘पार्टीका नेताको ताल देख्दा ३/४ वटा कमण्डलु बोकेर जोगी हुन मन लाग्छ।’

नेकपाभित्र आन्तरिक कित्ताकाट थियो। कहिले माधव नेपाल र केपी ओली भिड्ने त कहिले नेपाल र प्रचण्ड मिल्ने। यो प्रवृत्ति विरुद्धमा राजेन्द्र लागेका थिए। ‘मलाई नेताहरूको गतिविधि ठिक लागेको थिएन। यसै व्यंग्यस्वरूप त्यसो भनेको थिएँ’, उनले भने।

त्यसबेला पनि राजेन्द्रको व्यक्तिगत ‘लेनदेन’ थिए। उनी पार्टी निर्माण गर्नुपर्छ भन्नेमा थिए। तर शीर्ष नेता नै आन्तरिक किचलोमा होमिएका थिए। हुन त नेकपाकै कारण राजेन्द्र प्रदेश झर्न बाध्य थिए। किनभने वामगठबन्धन भएको भोजपुरमा त्यसबेला प्रतिनिधिसभामा सुदन किराती उठ्दा प्रदेशमा एकातिर शेरधन राई र अर्कातिर राजेन्द्र राई उठ्नुपर्ने थियो।

उनले भने, ‘पार्टीले भनेपछि नउठी पनि भएन। यही कारण प्रदेशसभामा उम्मेदवारी दिएँ।’ रोचक कुराचाहिँ के थियो भने शेरधन र राजेन्द्र दुई गुटका नेता थिए त्यसबेला। शेरधन ओलीपक्ष धर र राजेन्द्र माधवपक्ष। उनीहरूबीच हार्दिकता थियो। ‘हामी गुटभन्दा माथि उठेका थियौँ। एकले अर्कालाई हराउन भने लागेनौँ,’ राजेन्द्र भन्छन्, ‘यही कारण मैले उहाँ(शेरधन)लाई पालो दिन मुख्यमन्त्री बन्दिनँ भनेको थिएँ।’

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन बने। लामो समय टिकेनन्। नेकपाको आन्तरिक विवाद झाँगिएर पूर्वविभाजित बनेपछि शेरधनले राजीनामा दिए। त्यसपछि एमालेबाट मुख्यमन्त्री बने भीम आचार्य। आचार्य पनि टिकेनन्।

आचार्य नटिक्नुको कारण थियो, एमाले विभाजन। केन्द्रमा एमालेबाट विभाजन आउँदा राजेन्द्रहरू विद्रोहमा थिए। तत्कालीन गठबन्धनले राजेन्द्रले मुख्यमन्त्री बनाउन अनुरोध गर्यो। ‘यसअघि शेरधनविरुद्ध प्रस्ताव लैजान मलाई भनियो। मैले प्रस्तावको पक्षमा उभिन्छु। प्रस्तावक-समर्थक बस्दिनँ भने’, राजेन्द्र भन्छन्, ‘शेरधन हटेपछि आचार्यविरुद्ध भने विपक्षमा प्रस्तावक बने।’ यसपछि भने राजेन्द्र मुख्यमन्त्री बने। कोशी प्रदेशको तेस्रो मुख्यमन्त्री उनी त्यो प्रदेशसभा अवधिभर रहे।

एकलपक्षधर बन्दा नेतृत्वसँग ‘पौँठेजोरी’

जतिबेला राजेन्द्र मुख्यमन्त्री बनेका थिए, त्यसबेला सबै प्रदेशको नामकरण भइसकेको थियो। राजेन्द्रले पनि नाम राख्ने पक्षमै थिए। केन्द्रीय नेतृत्वले दिएको नाममा उनको चित्त बुझेन।

किनभने राजेन्द्रले एकल पहिचानका आधारमा नाम राख्न खोजेका थिए। माधव-झलनाथले पनि उनको नाम मान्न तयार भएनन्। केन्द्रीय नेताले कोशी वा सगरमाथा राख्न भन्थे तर राजेन्द्र मान्दैन थिए।

प्रदेश नामकरणकै कारण राजेन्द्र र एकीकृत समाजवादी नेतृत्वबीच तिक्तता आयो। ‘मैले कोशी मान्देको भए नामकरण हुन सक्थ्यो तर मलाई मान्य भएन,’ राजेन्द्र भन्छन्। त्यसबेला राजेन्द्रले मुख्यमन्त्री त्याग्न तयार भएका थिए। ‘हामीले दुई पटक बहुपहिचानका आधारमा नाम राख्छौँ भन्दै मत मागेका थियौँ। कसरी कोशी नाम राख्न सकिन्थ्यो त’, राजेन्द्र भन्छन्, ‘माधव नेपाल अध्यक्ष हुँदा र झलनाथ खनाल एमालेको अध्यक्ष हुँदा पनि एमालेको एजेन्डा बहुपहिचान थियो।’

राजेन्द्रका अनुसार एमालेले बहुपहिचान भन्दै एकातिर प्रकृतिसँग सम्पदा मिल्ने नाम र अर्कातिर सभ्यतासँग संस्कृति मिलाउने नाम भनेको थियो। एमालेका केन्द्रीय नेतृत्वले प्रकृतिसँग सम्पदा मिल्ने नाम भन्दै कोशी-सगरमाथाको नाम दिएको थियो। राजेन्द्र सभ्यतासँग संस्कृति मिलाउने नाम भन्दै किरात वा लिम्बुवानको पक्षधर थिए।

‘कसैले कोशी नाम राखेको भए पनि म मुख्यमन्त्री भएको हैसियतले संसद् बन्द गर्नेसम्म गरिदिने थिएँ’, राजेन्द्र भन्छन्, ‘किनभने त्यो हाम्रो पार्टीको एजेन्डा थिएन।’ कोशीमा जब हिक्मत कार्की मुख्यमन्त्री बने। त्यसबेला पनि राजेन्द्रले बहुपहिचान नभएको विरोध भन्दै कोशीविरुद्ध उभिए। उनी र उनको पार्टी एकीकृत समाजवादीले ह्विप लगाएर  कोशीविरुद्धमा मतदान गर्यो।

पार्टीको राजनीतिक प्रस्तावमा राजेन्द्रको फरक दस्तावेज

अहिले राजेन्द्र समाजवादीका उपमहासचिव छन्। उनी गएको १० औँ महाधिवेशनबाट उपमहासचिव चुनिएका हुन्। चुनाव जितेका राजेन्द्र पार्टीभित्र भने ‘समानताको एजेन्डा’ उठाउँदै ‘पदविहीन कमिटी’ को प्रस्ताव राखेका थिए। समाजवादीले केन्द्रीय नेता माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल मिलेर बनाएको दस्ताबेजविरुद्धमा फरक दस्तावेज  पेस गरेका  थिए।

केन्द्रीय नेताविरुद्धमा उभिँदै राजेन्द्रले अध्यक्षसहित कुनै पदाधिकारी वा कुनै कमिटी नबनाउनुपर्ने प्रस्ताव राखेका थिए। ‘मानौँ उपाध्यक्ष पद पार्टीमा छ। त्यसको जिम्मेवारी के त?’ राजेन्द्र भन्छन्, ‘बरू अध्यक्ष, उपाध्यक्ष केही नबनाऊ सबैलाई विभागीय जिम्मेवारी मात्र दिऊँ भनेका थिए।’

राजेन्द्रका अनुसार समाजवादमा सबै समान भएकाले पार्टीभित्र समान पदको मत राख्दै ‘पदविहीन’ जिम्मेवारीको प्रस्ताव ल्याएका थिए। तर जसले प्रस्ताव ल्याए, उनैले उपमहासचिव पदका उम्मेदवार बन्नुपर्ने थियो।

यतिमात्र होइन, केन्द्रीय नेताले जनताको बहुदलीय जनवाद (जबज) को औचित्य सकिएको भन्दै नयाँ (नेपाली विशेषताको समाजवाद) ल्याएका थिए। उनी भने जबजको औचित्य नसकिएको वकालत गर्दै केन्द्रीय नेताहरूका विपक्षमा उभिएका थिए। ‘जबजले क्रान्ति अघि पनि सत्तामा जान सकिन्छ भनेर वकालत गरेको छ। हामी त्यही चरणमा छौँ। अर्को, जबजले रक्तहीन क्रान्तिका पक्षमा वकालत गर्छ। त्यही कारण उनी जबजको पक्षमा उभिएका थिए।

‘बहुपहिचानमा हाम्रो पार्टी नभएमा म पार्टीमा रहन्न’

राजेन्द्र कहिलेकाहीँ भन्छन्, ‘म राजनीतिबाट संन्यास लिन्छु।’ उनी ‘निदाउँदै मञ्चमा बस्नुपर्ने’, ‘चेतनास्तर घट्दा’ समेत पदमा बसिरहनुपर्छ भन्ने मान्दैनन्। उनी सिर्जनशील समय राजनीतिमा खर्चेर बिदा लिन चाहन्छन्। तर राजेन्द्र अब भने पार्टी राजनीतिकै निर्णायक समयमा आएको सुनाउँछन्।

‘अब हाम्रो पार्टीले बहुपहिचानका पक्षधरता देखाएन भने म यो पार्टीमा पनि रहन्न,’ राजेन्द्र भन्छन्, ‘जबसम्म नेतृत्वले जनभावना बुझ्दैन त्यो पार्टीमा रहनुको औचित्य हुँदैन। म बिद्रोही बन्न सक्छु।’ उनी अहिले पनि नेतृत्वलाई यसै मामिलामा खबरदारी गरिरहेका छन्। ‘पहिचान भनेको गहना हो। यसलाई बिर्सिन सकिन्न’, उनी सुनाउँछन्।

प्रकाशित: ११ असोज २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =