नेपाल पत्रकार महासंघले बोलायो राष्ट्रिय भेला

हिमाल प्रेस ९ असोज २०८१ १९:२५
6
SHARES
नेपाल पत्रकार महासंघले बोलायो राष्ट्रिय भेला

काठमाडौँ- विवादमा अल्झिएर चुनाव अनिश्चित बनेपछि पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले राष्ट्रिय भेला बोलाएको छ। तोकिएको समयमा चुनाव हुन नसकेपछि महासंघको भविष्य नै संकटमा पर्ने देखिएपछि महासंघले राष्ट्रिय भेला बोलाएको हो।

महासंघका महासचिव रोशन पुरीले असोज १९ गते राष्ट्रिय भेला बोलाइएको जानकारी दिए। उनले भेलाको स्थानबारे चाँडै जानकारी गराइने बताएका छन्।

सदस्यतासम्बन्धी विवाद निरूपणका लागि महासंघका शाखाका ५३ अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका थिए।

कार्यबाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको बुधबार भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न परामर्श बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको महासचिव पुरीले जानकारी दिएका छन्।

सदस्यतासम्बन्धी विवादका कारण केन्द्र, प्रदेश तथा जिल्लाका नयाँ नेतृत्व चयन गर्न चारपटक मिति घोषणा भए पनि महासंघले चुनाव गराउन सकेको छैन।

महासंघले जेठ २६, असार २२, असोज ५ र असोज १२ गते चुनावका लागि मिति घोषणा गरेको थियो। तर, सदस्यता वितरणमा सहमति जुट्न नसकेपछि चुनाव हुन नसकेको हो।

सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासंघका पूर्वसभापति डा.सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा.महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय भएको महासचिव पुरीले बताएका छन्।

परामर्श बैठकले अध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिएको राजीनामालाई अनुमोदनसमेत गरेको छ।

प्रकाशित: ९ असोज २०८१ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =