आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

हिमाल प्रेस ९ असोज २०८१ १८:२१
8
SHARES
आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौँ – आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न स‍‌ंघसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन्।

‘एशिया दलित राइटस् फोरम’ को आयोजनामा भएको प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखिएको छ।

प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायविना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताए।

प्रदर्शन कार्यक्रममा गैरसरकारी संस्था महासंघका कार्यक्रम व्यवस्थापक अभिषेक साह, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, दलित सेवा संघका सञ्जुसिंह विश्वकर्मा, राष्ट्रिय नेपाल दलित कल्याण संघ सिरहाका अध्यक्ष मोहन पासवान र दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियारलगायतका वक्ताहरुले आफ्ना धारणा राखेका थिए।

प्रदर्शनकारीले जातीय विभेद, सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार, खाद्य संकट र वातावरणीय समस्याको समाधानका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए।

एशिया दलित अधिकार मञ्चकासँगै गैरसरकारी संस्था महासंघ, नेपाल, दलित गैरसरकारी संस्था महासंघ, नेपाल राष्ट्रिय दलित समाजकल्याण संघ, दलित महिला संघ, समन्यायिक समाज नेपाल, राष्ट्रिय दलित नेटवर्क, जागरण मिडिया, समता फाउण्डेशनलगायतका संघसंस्थाले पनि प्रदर्शनमा एक्यबद्धता जनाउँदै भाग लिएका थिए।

प्रदर्शनकारीले आर्थिक न्यायविना सामाजिक न्यायकाे सम्भावना नरहेकाले दलित समुदायको आर्थिक उत्थानका लागि राज्यको ठोस नीति र कार्यान्वयनको माग गरेका छन्।

प्रकाशित: ९ असोज २०८१ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =