काठमाडौँ- एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक)को ३६औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित सम्मेलन सोमबार समापन गरिएको हो। सम्मेलनको दशौं तथा अन्तिम सत्रका सहभागीहरूले ‘इनोभेटिभ सोलुसन्सः फाइनान्सिङ फर नेचर’ विषयमा छलफलमा गरेका थिए।
छलफलमा कृषि विकास बैंकका नायव महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्त र पर्यावरण संरक्षण आर्थिक लाभको नयाँ एकीकृत वित्तीय ढाँचा भएको बताए। नेपालका बैंक तथा वित्तीय संस्थाले कृषि र वनमा आधारित उद्यममा केन्द्रित रही हरित वित्तलाई बढावा दिने उपायमा काम गर्नुपर्ने उनको भनाइ थियो।
‘नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा छ। फलस्वरूप बैंकहरू वनमा आधारित र कृषिसँग सम्बन्धित उद्यमहरूमा लगानी गर्न हिचकिचाउँछन्,’ उनले भने। न्यूनतम लगानी र अनुकूल नीतिको अभावका कारण लक्ष्य प्राप्तिमा बाधा पुगेको उनको भनाइ छ।
बिजनेस अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नेपालमा साना तथा मझौला उद्योगको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा परिवर्तन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बनेको उल्लेख गरे। उनले ब्लेन्डेड फाइनान्स टुल्स लागू गरेर लगानीमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
अन्य क्षेत्रमा लगानी गर्नुभन्दा यस्ता क्षेत्रमा फाइनान्सिङमा जोखिम मोल्न लगानीकर्ता बढी तयार हुने भएकाले ब्लेन्डेड फाइनान्स आवश्यक रहेको पान्डेको तर्क थियो। उनले नेपालमा भायबिलिटी ग्याप फन्डिङ (भीजीएफ) को प्रावधानलाई उचितरूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
विश्व बैंकका निजी क्षेत्र प्रमुख विशेषज्ञ नताशा कपिलले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्। उर्जा किफायती प्रविधि अपनाउनुपर्नेमा उनको जोड थियो। ‘साना तथा मझौला उद्योगहरूले राष्ट्रिय इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्,’ उनले भनिन्, ’आधुनिक प्रविधिको प्रयोगले उनीहरूको उत्पादकत्व बढाउन सक्छ।’
एसिक सम्मेलनमा १६ देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। सम्मेलनमा विभिन्न १० विषयमा छलफल भएको थियो। नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो।