पोखरा- पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन्। उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित गरेका हुन्। संघका पूर्व महासचिव पोखरेल ३४ औं महाधिवेशनमा समेत अध्यक्षका प्रत्यासी थिए।
शनिबार भएको मतगणनाको आइतबार साँझ सम्पन्न अन्तिम उनले ४५८ मतअन्तरले पराजित गरे। मतदान प्रक्रियामा कुल २२५१ मत खसेकोमा कार्कीले १३३९ र पोखरेलले ८८१ मत प्राप्त गरेका हुन्। पदाधिकारीका अन्य पद निर्विरोध भए पनि अध्यक्ष र उपमहासचिवमा मतदान भएको हो।
उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग निर्वाचित भएका छन्। उनले पोखरेल प्यानलका बालकृष्ण कोइरालालाई हराएका हुन्। विजयी प्रधानाङ्गले ११ सय ७७ मत पाउँदा कोइरालाले १ हजार ४७ मत ल्याए।
यसै गरी खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जनामात्र निर्वाचित हुन सके। पोखरेल प्यानलका प्रेमप्रसाद सुवेदी (१२८५) र लेखनाथ सुवेदी (१२८६) सदस्यमा पराजित भएका हुन्।
उनको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए।
स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७०, यादवप्रसाद पोखरेल १३०० समेत निर्वाचित भए। स्वतन्त्र उम्मेदवारी दिएका विनोद केसी १२९६ र विष्णुप्रसाद तिमिल्सिना १२३० पराजित भए।
यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध भएका थिए। उनीहरु सबै पोखरेल प्यानलका हुन्।
चुनावमा पोखरेल प्यानलसहित लडेकोमा कार्की प्यानल घोषणा नगरीकन एकताको महाधिवशेन नारासहित चुनाव लडेका थिए। २ वर्षे कार्यकालका लागि कार्यसमितिको पदाधिकारीमा अध्यक्षसहित ७ जना, सदस्यतर्फ खुला १०, वस्तुगत ४, एसोसियट २ र उद्योगतर्फ १ सदस्य निर्वाचित हुने व्यवस्था विधानमा छ।
पोखरा उद्योग वाणिज्य संघ पोखराको सबैभन्दा जेठो व्यावसायिक संस्था हो।