काठमाडौँ– राजनीतिक वृत्तमा माओवादीले २०५२ देखि २०६२ सालसम्म गरेको सशस्त्र संघर्षलाई ‘हिंसा’ भन्ने या ‘जनयुद्ध’ भन्ने विषयमा बहस भइरहेको छ। संसद्मा पछिल्लो समय यही शब्दलाई लिएर सत्तारूढ कांग्रेस–एमाले र प्रतिपक्षी माओवादीका सांसदबीच भनाभनको रूप लिएको हो।
जनगणतन्त्र स्थापनाको लक्ष्य लिएर माओवादीले त्यस अवधिमा गरेको संघर्षलाई कतिपयले ‘जनयुद्ध’ भन्न चाहँदैनन्। माओवादीले भने जेजति राजनीतिक उपलब्धि भएका छन् ती सबै ‘जनयुद्ध’ कै जगमा स्थापित भएका हुन् भनेर दाबी गर्दै आएको छ। यद्यपि कांग्रेस–एमालेलगायतका दल भने हिंसात्मक गतिविधिमा संलग्न माओवादीलाई आफूहरूले नै हतियार बिसाउन लगाएर मूलधारको राजनीतिमा ल्याएको दाबी गर्छन्। यो त भयो अहिले चलेको राजनीति बहसको पाटो।
अब मनोरञ्जनको कुरा, राजनीतिक घटनाक्रमलाई आधार बनाएर फिल्म बनाउनु नयाँ कुरा होइन। त्यस्ता विषयमा बनेको फिल्म ‘फ्लप’ हुनु त सामान्य नै हो २०४७ पछि एउटा फिल्म बन्यो ‘बलिदान’। पञ्चायतकालीन राजनीतिक गतिविधिलाई विषयवस्तुलाई आधार बनाएर बनाइएको त्यो फिल्म ‘हिट’ भएको थियो। त्यतिबेला बनेका राजनीतिक विषयमा बनेका अन्य फिल्म त्यति सफल भएनन्।
२०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि ‘जनयुद्ध’ मा आधारित फिल्म बन्न थाले। ‘जनयुद्ध’, ‘काँडेतार’, ‘लालसलाम’, ‘आवाज’ जस्ता फिल्म ‘जनयुद्ध’ मै आधारित छन्। ती सबै फिल्मले त्यति धेरै चर्चा कमाउन सकेनन् न त लगानी उठाउन सफल भए। अहिले माओवादी ‘जनयुद्ध’ का विषयमा अर्को फिल्म बनेको छ, त्यो हो फिल्म ‘खुस्मा’।
यसअघि जनयुद्धमा बनेका फिल्म पूर्णतः राजनीतिक विषयमा आधारित थिए भने खुस्माचाहिँ द्वन्द्वकालको प्रेमकथामा आधारित छ। द्वन्द्वकालको प्रेमकथालाई फिल्ममार्फत देखाइएको बताउँछन् निर्देशक अशोक थापामगर। फिल्म कथा राजनीतिक द्वन्द्वमा रहे पनि प्रेमप्रसंगलाई प्राथमिकता दिएको उनले प्रस्ट पारे। त्यसो त उनले द्वन्द्वलाई प्रत्यक्ष भोगेका छैनन्।
‘हामी युद्धमा पसेका छैनौँ। त्यहाँको जनताको न्यायका लागि फिल्म बनाएको पनि होइन। सरकार र तत्कालीन माओवादीबीचको केही बाछिटामात्रै हो। हामीले त्यतिखेरको प्रेम कस्तो थियो भनेर फिल्ममार्फत बुझाउन खोजेका हौँ’, उनले फिल्मको कथा स्पष्ट पार्दै भने। द्वन्द्वका बेला उनी नेपालमा थिएनन्। त्यसैले कथा तयार पार्न निकै कठिन भएको उनले सुनाए।
‘द्वन्द्वकालका घटनाबारे थुप्रै कथा भेटिन्छ। त्यतिखेरको प्रेम कस्तो थियो त? यसबारे आमजनतालाई बुझाउनुपर्छ भन्ने लागेर फिल्म निर्माण गरेका हौँ’, निर्देशक थापामगरले भने। उनी फिल्ममा समग्र नेपालीले भोगेको कथा रहेको बताउँछन्।
‘सुरुमा हामी एकजना आफन्तको कथाबाट प्रभावित थियौँ। स्थलगत अवलोकन गर्दा कथा मोडिएको छ। कथाको केही अंश कसैको व्यक्तिगत जीवनसँग मिल्न सक्छ’, उनले भने।
रुकुम त्यति बेला द्वन्द्वग्रस्त जिल्लाको सूचीमा थियो। ‘सर्वप्रथम केही साताअघि त्यहाँ पुगेर फिल्म निर्माणबारे सबै वृत्तान्त सुनायौँ। उहाँहरू फिल्म बन्ने भएपछि निकै खुसी हुनुभयो। सहयोग गर्नुभयो। हामीलाई अर्को ठाउँमा सुटिङ गर्छौँ भन्दा रोक्नुसमेत भयो’, निर्देशक थापामगरले भने।
फिल्मको कथा सन्देशमूलक रहेको उनको दाबी छ। फिचर फिल्ममा अशोक थापामगरको डेब्यु निर्देशन हो। यसअघि उनले केही डकुमेन्ट्री फिल्मको लेखन तथा निर्देशन गरेका थिए। डकुमेन्ट्रीबाटै उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा थुप्रै अवार्ड जितिसकेका छन्।
फिल्ममा उपासनासिंह ठकुरी र धीरज मगर मुख्य भूमिकामा छन्। उनीहरू पहिलोपटक जोडी बनेका हुन्। फिल्म छायांकनको क्षण सम्झिँदै धीरजले पुरानो समयमा फर्किएर काम गर्न गाह्रो भएको अनुभव सुनाए। ‘वर्कसपका समयमा हामीले ‘जनयुद्ध’ बुझ्न थुप्रै डकुमेन्ट्री हेर्यौँ। इतिहासका किताब पढ्यौँ। त्यो क्यारेक्टरमा छिर्न एकदमै मेहनत गर्नुपरेको थियो’, उनले सुटिङको तयारी स्मरण गरे।
‘खुस्मा’ मा द्वन्द्वकालको प्रेमजोडीले झेल्नुपरेको समस्या देखाइएको छ। धीरज यसलाई ‘इनोसेन्ट लभस्टोरी’ भन्न रुचाउँछन्। ‘सहरमा यस किसिमको लभ नहोला तर गाउँमा द्वन्द्वकालमा प्रेमजोडीको सम्बन्धमा कस्तो समस्या भोगनुपर्यो भन्ने कुरा फिल्ममा छ। माया कति बलियो र शक्तिशाली हुने रहेछ भनेर फिल्ममा देखाएका छौँ’, उनले भने।
उनी ‘खुस्मा’ मा द्वन्द्वकालीन जीवन बाँचेको गाउँले युवकको भूमिकामा छन्। ‘फिल्ममा मैले गाउँले युवकको भूमिकामा अभिनय गरेको छु। मैकोट गाउँपालिकामा हुर्किएको मुख्य पात्रले द्वन्द्वकालीन जीवन बाँचेको छ।’
धीरजले आफ्नो चरित्रलाई चिनाउँदै भने ‘फिल्मको कथा आजभन्दा करिब २५ वर्षअघिको हो। द्वन्द्वका समयमा प्रेममा केकस्तो बाधा आए भन्ने नै फिल्ममा देखाउन खोजेको छौँ।’
धीरजको घर पनि मैकोट हो। तर उनी सानैमा परिवारसँग बेलायत गए। उतै हुर्के। गाउँको परिवेशमा भिज्न नपाएका धीरज फिल्मको कथाले गाउँको प्रचारप्रसार भएकोमा खुसी छन्। ‘म सहरमा हुर्केँ। गाउँको परिवेश त्यति जानकारी छैन। त्यसमाथि यो त द्वन्द्वको समयको कथामा आधारित छ। जुन समय मैले भोगेकै थिइनँ’, उनले भने।
धीरजको यो पाँचौँ फिल्म हो। ‘इन्टु मिन्टु लन्डनमा’ बाट अभिनय यात्रा सुरु गरेका धीरजले ‘बाबरी’, ‘ज्याकीः आईएम ट्वान्टी वान’ र ‘एक भगवत एक गीता’ गरी चार फिल्ममा अभिनय खेलिसकेका छन्।
फिल्मकी मुख्य नारी पात्र उपासनासिंह ठकुरी आफूले ‘खुस्मा’ मा नयाँ भूमिकामा अभिनय गरेको बताउँछिन्। ‘अन्य फिल्ममा भन्दा यसमा मेरो क्यारेक्टर फरक छ। फिल्म गाउँको संस्कृति र कथामा आधारित छ’, उनले भनिन्। उनी द्वन्द्वकालको वातावरण र संघर्ष फरक भएकोले आफ्नो भूमिका नयाँ भएको बताउँछिन्।
उपासनाको भनाइअनुसार रुकुमको मैकोटमा यसअघि कुनै फिल्मको छायांकन गरिएको थिएन। सुटिङ नभएको ठाउँमा गएर फिल्म बनाउन निकै कष्टकर भएको उनले सुनाइन्। छायांकनअघि उनले केही समय मैकोट पुगेर अध्ययन अवलोकन गरेकी थिइन्।
‘हामी दुई साताअघि रुकुम पुगेका थियौँ। स्थानीयसँग भेटेर केही दिनसम्म भाषा सिक्यौँ। द्वन्द्वकालको कथाका भएका घटनाबारे थप अध्ययन ग¥यौँँ। अनि अभिनय गर्न सजिलो भयो’, उनले सुनाइन्।
पुरानो कथालाई देखाउने प्रयास गरिएकोले दर्शकले फिल्म मन पराउनेमा अभिनेत्री उपासना विश्वस्त छिन्। ‘खुस्मा’ उनको छैटौँ फिल्म हो। उनले यसअघि ‘क्याप्टेन’, ‘कब्ड्डी ३’, ‘२ नम्बरी’ र ‘डिसेम्बर फल्स’मा अभिनय क्षमता देखाइसकेकी छन्।
फिल्मका मुख्य पात्र र निर्देशक दुवैले माओवादी ‘जनयुद्ध’ लाई किताबमा पढेका र अरूबाट सुनेका मात्रै हुन्। ‘जनयुद्ध’ भन्नेबित्तिकै विद्रोही पक्षबाट बम विस्फोट, एम्बुस, प्रहरी चौकीमाथि आक्रमण, फरक राजनीतिक दलका कार्यकर्तामाथि गर्ने निगरानी, बैंक लुटपाटजस्ता घटना स्मरणमा आउँछन्। व्यक्तिलाई पक्राउ गर्ने, बेपत्ता पार्ने, नियन्त्रणमा लिने घटना पनि ‘जनयुद्ध’ का बेला दिनहुँजसो हुन्थे। यस्तो परिवेशमा प्रेममा परेका युवायुवतीको गतिविधि थाहा पाउन ‘खुस्मा’ नै हेनुपर्छ। साथै ‘खुस्मा’ सफल हुन्छ या ‘जनयुद्ध’ मा आधारित अन्य फिल्मजस्तै ‘फ्लप’ हुन्छ? भन्ने प्रश्नको उत्तर पनि केही सातापछि पाइनेछ।
‘खुस्मा’ यही असोज ३ देखि प्रदर्शन हुँदैछ। फिल्ममा समावेश गरिएको ‘रुकुम मैकोट’ गीत र ट्रेलर चर्चित बनेको छ। दुइटै युट्युबको म्युजिक र फिल्मतर्फको ट्रेन्डिङ एकको स्थानमा छ। फिल्मको ट्रेलरमा प्रेमविवाह गरेका एक दम्पती, जनयुद्धको समयमा पति बेपत्ता भएपछि उनको पर्खाइमा बसिरहेकी पत्नीको अवस्थालाई देखाइएको छ।