मेरो पहिलो काम नीति र विधि बनाउने हो : गृहमन्त्री लेखक

हिमाल प्रेस २५ भदौ २०८१ १३:५३
6
SHARES
मेरो पहिलो काम नीति र विधि बनाउने हो : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन्।

‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थ मन्त्रालय पठाइएको छ। अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने प्रस्ताव ल्याएर आउनुहोस्। अगाडि बढाउँछु। पहिलो काम नीति र विधि बनाउने नै हो,’ उनले भने।

नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने गृहमन्त्री लेखकको भनाइ थियो। ‘सुरक्षाको अनुभूति दिन दक्ष जनशक्ति चाहियो। त्यसका लागि बजेट चाहियो। बजेट योजना आयोगसँग माग्नुपर्छ,’ उनले भने।

गृहमन्त्री लेखकले गृहबाट अर्थ मन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे। ‘दुवै विधेयकमाथि प्रधानमन्त्रीजीको उपस्थितिमा सकारात्मक र परिणाममुखी छलफल भएको छ। यसले कुनै आर्थिक भार पर्ने छैन,’ उनले भने।

यस्तै प्रत्येक महिना राजश्व सङ्कलनको रेकर्ड मागेको भन्दै गृहमन्त्री लेखकले राजस्व बढाउन आफूले निरन्तर जोड दिएको बताए। बैठकमा योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सबै ठाउँमा स्रोतको सुनिश्चितता नहुँदै कार्यक्रम बनाउने समस्या रहेको बताए।

यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनको काम अङ्कभन्दा पनि अनुभूतिमा गराउने विषय भएको बताए। बैठकमा मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव गोगन हमालले आर्थिक वर्ष २०८०/८१को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रकाशित: २५ भदौ २०८१ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =