काठमाडौँ- सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ-मुग्लिङ सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको छ। अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक साढे ६ घण्टापछि अर्थात् राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए।
उनले भने, ‘धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको थियो, अहिले पहिरो पन्छाएपछि एकतर्फीरूपमा यातायात सञ्चालनमा ल्याइएको छ।’
सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँ आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए।
राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकाले खुलाउन समय लागेको प्रहरीले जनाइएको छ। सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन्। रासस