 
                             
                                            पोखरा- साविक विजेता गण्डकी प्रदेश भलिबल एसोसिएसन लामाचौर कपको उपाधि होडबाट बाहिरिएको छ। पुरुषतर्फ लगातार दुई खेल गुमाएको गण्डकी एक खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिएको हो।
बिहीबार लिगको अन्तिम खेलमा भने गण्डकीले गलकोटलाई ३–२ सेटमा हरायो। यद्यपि फाइनल प्रवेशका लागि पर्याप्त रहेन।
यसअघि उद्घाटनका दिन चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग गण्डकी सोझो सेटमै पराजित भएको थियो। साविक उपविजेता पुलिसले २५–१७, २५–२१ र ३०–२८ सेटमा सहज जित हात पारेको थियो।
गण्डकी अर्को विभागीय टिम एपीएफसँग ३–१ सेटमा पराजित भयो। बुधबार लाइट प्रोटेस्टका कारण स्थगित खेल बिहीबार भएकोमा एपीएफले २५–१८, २५–२३, २०–२५ र २५–१६ सेटमा हराएको हो। अघिल्लो दिन दुवै टिमले एकएक सेट जितेका थिए।
यसपालि पनि दुई विभागीय टिम नेपाल पुलिस र एपीएफ क्लब लगातार दोहोरो जितसँग फाइनल पुग्न सफल भएका छन्। उनीहरुले २ खेलबाट समान अंक जोडेका हुन्।
राउण्ड रोविन आधारमा भएको प्रतियोगितामा लिगको अर्को खेलमा शुक्रबार डर्बी टिम आमनेसामने हुँदैछन्।
पहिलो संस्करण वर्षाले बिथोलेपछि पुलिस र गण्डकीले प्रथम र दोस्रो पुरस्कार बाँडेर लिएकोमा दोस्रो संस्करणमा गत वर्ष गण्डकीले उपाधि उचालेको थियो।
महिलातर्फ विभागीय एपीएफ क्लब र न्यू डायमण्डले फाइनल यात्रा सुरक्षित गरिसकेका छन्। दुवै टिमले दोहोरो जितमा स्पष्ट ६ अंकसहित अर्को खेल बाँकी छँदा फाइनल पुगेका हुन्।
बिहीबार लिग चरणको अन्तिम खेलमा डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्ष स्थानमा रह्यो। एपीएफले लिग चरणमा एभरेष्टलाई ३–० र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो। दिनको अर्को खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। लामाचौर कपको सर्वाधिक सफल टिम न्यू डायमण्ड भने साविक उपविजेता हो।
डिफेन्डिङ च्याम्पियन पुलिसले न्यु डायमण्डलाई ३–१ सेटमा हराएको थियो। चालु संस्करणमा भने पुलिस खेल्न आएन।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा तीज अवसरमा भएको २६ औं लामाचौर तीज महोत्सवको आकर्षण भलिबल प्रतियोगिता भएको छ। पुरुष तथा महिलातर्फको फाइनल तीजकै दिन शुक्रबार हुने आयोजकले जनाएको छ।
शुक्रबार महिलातर्फ तेस्रो स्थानका लागि गण्डकी र एभरेष्ट प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ गण्डकीले गलकोटको सामना गर्नेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 