 
                             
                                            काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।
बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका छन्। ४० वटा भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको एक नम्बर एयरलाइन्सको रूपमा रहेको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ।
चीनको गोन्जाउबाट हाल काठमाडौंमा नियमितरूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगतरूपमा गरेको सुधारको प्रशंसा गरेको थियो।
‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहन्छु। यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्ने छ। तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने छ,’ मन्त्री पाण्डेले भने।
नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिने पाण्डेको भनाइ छ। उनले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 