बालुवा चालेर गुजारा चलाउने मजदुर समस्यामा

हिमाल प्रेस ४ असोज २०८१ ९:४४ | Friday, September 20, 2024
बालुवा चालेर गुजारा चलाउने मजदुर समस्यामा

सिरहा- लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुंगा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन्।

सधैँको वर्षजस्तै नगरपालिकाले आसोज १ गतेदेखि ढुंगा, गिट्टी, बालुवा संकलन सुरु नगरेकाले आफूहरूले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्थ गर्न मुस्किल परेको उनीहरूको गुनासो छ।

वर्षायामका असार, साउन र भदौ तीन महिना नदीजन्य पदार्थ गिट्टी, बालुवा र माटो उत्खनन तथा संकलनको काम ठप्प हुन्छ भने असोजदेखि पुनः सुरु हुने गर्छ।

स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गराई तोकिएको निश्चित सीमाभित्र उत्खनन गर्नेगरी खोला ठेक्कामा लगाउने गर्छन्।

लहान नगरपालिकाले गत भदौ २८ गते नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन अर्को निर्णय नभएसम्मका लागि सञ्चालन नगर्ने निणय गरेसँगै ढुंगा, गिट्टी, बालुवाको काम गर्दै आएका हजारौँ मजदुर यतिबेला चिन्तामा छन्।

‘दैनिक बालुवा चालेर गुजारा चल्छ। काम नपाएपछि मुखमा माड कसरी लाउनु?’,तीन दशकदेखि खुट्टीखोलामा बालुवा चालेर गुजारा चलाउँदै आएका लहान–९ का ५५ वर्षीय किसुनदेव पासवानले भने,‘तीन महिना त जसोतसो बाँचियो, यही बालुवा चाल्न पनि समयमा नपाउँदा बिहान–बेलुका के खाने? सधैँ बेरोजगार भएपछि परिवार कसरी पाल्ने? दसैँ आउँदैछ, त्यसको खर्च जोहो कसरी गर्ने भन्ने चिन्ता छ!’

खुट्टीखोला किनारामा बिहान उज्यालो भएदेखि साँझसम्म बालुवा चाल्ने धेरै मजदुरको पीडा पासवानको जस्तै छ।

प्रकाशित: ४ असोज २०८१ ९:४४ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast