बाँकेमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला

हिमाल प्रेस २५ भदौ २०८१ ८:४२ | Tuesday, September 10, 2024
बाँकेमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला

बाँके- बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर १ मतहनियाका ९ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए।

एक सातासम्म ‘आईसीयू’मा ती बालिकाको उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य रहेको अस्पताल​की बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकरी दिइन्। जापानीज इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने ​बताइन्छ। ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे थाहा हुन नसकेको शाहीले बताए।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन्। ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ।

यो भाइरसले मुख्यतया मस्तिष्कमा असर पार्छ। जापानिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए।

यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ। डा. खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित: २५ भदौ २०८१ ८:४२ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast