प्रस्तावित राजदूत रेग्मी भन्छन् : अमेरिकी राष्ट्रपतिलाई नेपाल ल्याउन पहल गर्छु

हिमाल प्रेस २७ भदौ २०८१ १६:०४ | Thursday, September 12, 2024
प्रस्तावित राजदूत रेग्मी भन्छन् : अमेरिकी राष्ट्रपतिलाई नेपाल ल्याउन पहल गर्छु संसदीय सुनुवाइ समितिमा बिहीबार सुनुवाइमा सहभागी अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी। तस्बिर : हिमालप्रेस

काठमाडौँ– अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने योजना सुनाएका छन्। संसदीय सुनुवाइ समितिमा उनले आफ्नो योजना पेस गर्दै अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गरिने बताएका हुन्। समितिका सदस्यहरूका अनुसार सुनुवाइमा जे भन्दा पनि केही फरक नपर्ने दृष्टिकोणबाट रेग्मीले यस्तो अभिव्यक्ति दिएका हुन्।

रेग्मीले अमेरिकीहरूसँग छलफल र बहस गरेर राष्ट्रपतिलाई विना एजेन्डा नेपाल ल्याउने अभिव्यक्ति दिएर सांसदहरुलाई मख्ख पारेका थिए। उनले अमेरिकी राष्ट्रपति नेपाल आएर संसद्‌मा सम्बोधन गर्न सक्ने वातावरण बनाउने गरी आफू अमेरिकाका लागि राजदूतमा इच्छुक भएको बताए। रेग्मीले आफू राजदूत भएमा नेपालको अन्तर्राष्ट्रिय उचाइ र आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने पनि सुनाए।

यस विषयमा पहिले नै सरकार र परराष्ट्र मन्त्रालयसँग छलफल गरेको समेत उनको भनाइ छ। रेग्मी मुख्य सचिवबाट बिदा भएपछि बेलायतको राजदूतमा नियुक्त भएका थिए।

अमेरिका नेपालको पुरानो मित्र मुलुक हो। राजदूतले नेपालको विषयलाई राम्ररी राख्न नसक्दा नेपाल र अमेरिका बीच सहकार्य प्रभावकारी हुन सकेको छैन। कूटनीतिमा दक्ष राजदूतपठाउँदा समेत अमेरिका र नेपालबीचको सहकार्यलाई उचाइमा लैजान नसकेको अवस्थामा दलले अह्राएको काम लुरुलुरु गरेर नेताको भारदार बनेर नियुक्त हुन खोजेका रेग्मीले अमेरिकाको राष्ट्रपति नै ल्याउने बताए।

अमेरिकीहरुले नेपाललाई हिमालयको देशका रूपमा लिने गरेको बताउँदै उनले भने, ‘नेपालले सगरमाथा संवाद भनेर जलवायु परिवर्तनको विषयमा बहस गराउने कार्यक्रमसमेत अगाडि बढाएको छ। त्यो पनि भ्रमणका लागि एक माध्यम हुनसक्छ।’

प्रकाशित: २७ भदौ २०८१ १६:०४ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast