प्रथम पर्वतीय दौडमा तीन देशका १०४ धावक

हिमाल प्रेस १० असोज २०८१ १७:१९ | Thursday, September 26, 2024
प्रथम पर्वतीय दौडमा तीन देशका १०४ धावक

पोखरा- पोखराको पुम्दीभुम्दीमा शनिबार हुने प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ मा १०४ जना धावकले भाग लिने भएका छन्।

पोखरा क्लिकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालसहित बेलायत र ब्राजिलका गरी ३ राष्ट्रका ७१ पुरुष र ३३ महिला धावकले भाग लिने जनाइएको हो। तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन्।

प्रतियोगिता संयोजक दीननाथ बरालले विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको बताए।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पुर्‍याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ।

विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ।

पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्रयाक मर्मत गरिएको बताए। उनले आफ्नो गाउँठाउँमा पोखरा क्लिकले प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए। विभिन्न ९ उपसमिति गठन गरिएको दौडको पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवर्द्धक छन्।

प्रकाशित: १० असोज २०८१ १७:१९ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast