नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

हिमाल प्रेस १३ असोज २०८१ १९:१६ | Sunday, September 29, 2024
नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा बीपी राजमार्ग

सिन्धुली– अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ। सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन्।

बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ सवारीसाधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

‘बिपी राजमार्गको चार खण्डमध्ये, खुर्कोट–नेपालथोक, सिन्धुलीमाडी–खुर्कोट र बर्दिवास–सिन्धुलीमाडी खण्डमा सवारीसाधन चल्न थालेका छन्। नेपालथोक–धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्छ,’ उनले भने।

बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो। यातायात ठप्प हुँदा तीन दिनदेखी सयौँ सवारीसाधन बाटैमा थन्किएका थिए। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीबासीको संयुक्त प्रयासमा अवरुद्ध भएका सडक मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी यातायातका साधन सञ्चालन गर्न सकिने बनाएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

बिहीवारदेखि परेको वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोलालगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीयबासीको सहयोगमा नेपालथोक–खुर्कोट सडकखण्डकोे अवरोध हटाएर बीच सडकमा अलपत्र परेका यात्रुलाई सिन्धुलीमाडीतर्फ ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए।

उनले भने, ‘हामी खुर्कोटदेखि नेपालथोकसम्मको सडक खुलाएर त्यहाँ अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई सिन्धुलीमाडीतर्फ ल्याउँदै छौँ।’

यसैबीच मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा पहिरो गएपछि यातायात अवरुद्ध नै छ। मदन भण्डारी राजमार्ग भने अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असोज २०८१ १९:१६ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast