इटहरीमा आधुनिक सभा हल निर्माण हुँदै

हिमाल प्रेस १ असोज २०८१ १८:१३ | Tuesday, September 17, 2024
इटहरीमा आधुनिक सभा हल निर्माण हुँदै

इटहरी- इटहरीमा आधुनिक सभा हल निर्माण सुरु भएको छ। इटहरीमा व्यवस्थित सभा हल नहुँदा ठूला कार्यक्रमहरू गर्न समस्या हुँदै आएको थियो।

सभा हल नहुँदा इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ। यसैबीच व्यवस्थित सभा हलको शिलान्यास गर्दै मेयर हेमकर्ण पौडेलले इटहरीबासीको सपना पूरा हुन लागेको बताए।

नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन। इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माणको काम सुरु भएको हो।

नगरस्तरीय योजनाअन्तर्गत निर्माण हुन लागेको उपमहानगरपालिकाले जनाएको छ। इटहरीका लागि निकै चासोपूर्वक हेरिएका ठूला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको नगर प्रमुख पौडेलले बताए।

उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकासे पुल पनि चाँडै शिलान्यास गरिने पौडेलले बताए। यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने उनको दाबी छ।

बहु प्रयोजनसहितको आधुनिक सभा हल निर्माण सुरु भएको छ। उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी. कम्पनी दमकसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको हो। ५ नं. वडास्थित काव्यवाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ। एकपटकमा पाँच सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ।

काव्यवाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा तीन तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इञ्जिनियर जीवन घिमिरेले जानकारी दिए।

तीन तलाको भवनमा ‘तीन स्टेप स्लोप डिजाइन’को सभा हल निर्माण हुनेछ। ‘तीन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो,’ उनले भने।

यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताए। निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ। नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने घिमिरेले बताए।

योसँगै अन्य साना किसिमका दुई वटा सेमिनार हल पनि निर्माण हुनेछ। सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इञ्जिनियर घिमिरेको भनाइ छ।

निर्माण सम्पन्न भएपछि कोशी प्रदेशमा गरिने ठूला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उपमहानगरको दाबी छ। ठूला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले आर्थिक गतिविधि पनि बढ्ने उपमहानगरको अपेक्षा छ।

सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४ करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको ठेक्का आह्वान गरेको थियो।

आवेदन परेकामध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ।

प्रकाशित: १ असोज २०८१ १८:१३ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast