काठमाडौँ- नेपाली युवाको रोजगार गन्तव्य देश ओमानसँग यसपटक पनि श्रम सम्झौता हुन सकेन। ओमानका परराष्ट्रमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुद अल्बुसैदीले हालै गरेको नेपाल भ्रमणका क्रममा श्रम सम्झौताका विषयमा छलफल मात्रै भएको सरकारी अधिकारीहरूले बताएका छन्।
दुई देशबीच सात वर्षदेखि सरकारी स्तरमा श्रम सम्झौता गर्ने विषयमा छलफल हुँदै आएको छ। यसबीचमा तीन पटक श्रम सम्झौताको मस्यौदा आदानप्रदान भए पनि सहमति जुट्न नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए।
परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले ओमानसँग चाँडै श्रम सम्झौता हुने बताए। उनले भने, ‘ओमानसँग श्रम सम्झौताका लागि केही प्राविधिक विषयमा सहमति भएपछि चाँडै सहमति हुन्छ। यसका लागि निरन्तर छलफल भइरहेको छ।’
प्रवक्ता रिजालका अनुसार श्रम मन्त्रालयले पछिल्लोपटक गत वर्ष असोजमा ओमान श्रम सम्झौताका लागि मस्यौदा पठाएको थियो। ओमानले त्यसको जवाफ दिएको छैन। असोजयता ओमान र नेपालबीच औपाचारिक रूपमा श्रम सम्झौताका विषयमा छलफल नभएको मन्त्रालयका प्रवक्ता रिजालले बताए।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा ओमानका मन्त्री अल्बुसैदीले यही भदौ १० र ११ गते नेपाल भ्रमण गरेका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। ओमानमा ४० हजारभन्दा बढी नेपाली कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ। गत आर्थिक वर्षमा १ हजार १ सयभन्दा बढी नेपाली रोजगारीका लागि ओमान गएका थिए।