नजिकिँदै दसैँ; ‘न उडी जानू, न गुडी जानू’ को असमञ्‍जसमा यात्रु

हिमाल प्रेस १३ भदौ २०८१ ८:०९
52
SHARES
नजिकिँदै दसैँ; ‘न उडी जानू, न गुडी जानू’ को असमञ्‍जसमा यात्रु २०७९ माघमा पोखरामा भएको विमान दुर्घटना। काठमाडौँदेखि पोखराका लागि उडेको यति एयरको विमानमा ७२ यात्रु सवार थिए। फाइल तस्बिर

काठमाडौँ-  गायक छेवाङ लामाको कभर गीत “उडी जाऊँ भने म कुनै पक्षी होइन, हिँडी जाऊँ भने  मलाई साथ दिने कोही छैन”   निकै चर्चित छ। अहिले सडक र हवाई मार्गबाट यात्रा गर्दा धेरैलाई यो गीतको सम्झना गराउँछ। बारम्बार भइरहेका दुर्घटनाले यात्रुहरूलाई ‘न उडी जानू, न गुडी जानू’जस्तो स्थिति छ।

पक्षीजस्तो उड्न नसकिने, हि‌ँडेर पनि पार नलाग्‍ने यस्तो असमञ्‍जसमा छन् यात्रुहरू। सबैभन्दा बढी आवागमन हुने चाडपर्वको समय नजिकिँदैछ। बारम्बार भइरहने सडक दुर्घटना र दोहोरिरहेका हवाई दुर्घटनाले नेपालका सडक र हवाई यातायात सुरक्षित छैनन् भन्ने सन्देश प्रवाह भएको छ। यात्रामा निस्केपछि गन्तव्यमा सुरक्षित पुगिन्छ कि पुगिँदैन भन्ने त्रास नै त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यता छ।

दुर्घटना नियमित आकस्मिकताजस्तो भएको छ तर सडक  र हवाई यातायातलाई सुरक्षित बनाउन सरकारको कुनै ध्यान जान सकेको छैन। संघमा मात्र होइन प्रदेशदेखि स्थानीय तहसम्म सरकार नै सरकारले नेपाल धनी छ तर कर्तव्यबिनाको अधिकार र स्रोतबिनाको वितरणमा रमाइरहेका यी सरकारहरूले जनमुखी कुनै काम गर्न सकेका छैनन्। राजमार्गको कुनै खण्डमा पहिरो गयो भने त्यो पन्छाउन न स्थानीय र प्रदेश सरकारले नै चासो देखाउँछन्।

सरकारले सबै काम गर्न सक्दैन त्यसकारण उसको भूमिका कम गर्नुपर्छ भन्ने सोच राख्‍ने नवउदारवादी सोचका पक्षपाती पूर्वसचिव (स्वर्गीय) भोला चालिसे भन्थे, ‘सरकारले सबै कुरा यसरी नियन्त्रण गर्‍यो कि राम्रो लाेकदोहोरी गाउन के गर्नुपर्छ भन्दा सम्बन्धित क्षेत्रका मानिसहरू सरकारले ध्यान दिनुपर्छ भन्ने जवाफ दिन्छन्।’

सरकारले वास्तवमा सबै काम गर्न सक्दैन। तीन तहमा सरकार हुँदा पनि राजमार्गमा झरेको सानो पहिरो पन्छाउन घण्टौँ लाग्छ। नागरिकका पीडा र कष्टसँग सरकारलाई कुनै मतलब छैन। प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई विपद् प्रतिकार्य र क्षति न्यूनीकरणमा कुनै चासो छैन।

गृहमन्त्री रमेश लेखक भने दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिएर बसेका छन्। बिना कुनै प्रभावकारी कार्ययोजना निर्देशनरूपी देखाइटोपल्ने वाणीहरूले आमसर्वसाधरणमा थप पीडा दिएको छ।

वडाध्यक्षले नागरिकता दिने अधिकारलाई लोकप्रिय हुने लालसामा प्रधानमन्त्रीले अपहरण गरिदिन्छन् तर हवाई सुरक्षामा सम्झौता गर्ने नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई कारबाही गर्न चासो दिँदैनन्। सांसदहरूको प्रतिनिधिमण्डलले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस विषयमा बारम्बार ध्यानाकर्षण गराइसकेको छ। तर प्रधानमन्त्रीले उनलाई संरक्षण गरेपछि प्राधिकरणका महानिर्देशकले सांसदहरूलाई नै गधा भनिदिए।

सरकारको सोच, रवैया र प्राथमिकता अन्यत्रै रहेकाले  सडक र हवाई सुरक्षामा कुनै ध्यान जान नसकेको हो। वर्षभरिमा सबैभन्दा बढी आवागमन हुने चाडपर्वको समय नजिकिन थालेपछि वायुसेवा सञ्चालकहरूले आफैँले हवाई सुरक्षा अभियान सुरु गरेका छन्।

नेपालमा भएका विमान दुर्घटना

गत साता लगातार ठूला सवारी दुर्घटनाहरू भए। भारतीय तीर्थयात्री चढेको बस तनहुँको आबुखैरेनी ऐना पहरा नजिकबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको ज्यान गयो। सिमलताल दुर्घटनाको महिना दिनमै अरू ठूलाठूला सडक दुर्घटनाहरू भएका छन्। सिमलतालमा हराएका दुई बस अझै भेटिएका छैनन्। सरकारमा जिम्मेवारी र जवाफदेहिताको कुनै अंश बाँकी छैन। पाँच दिन अघि भरतपुर महानगरपालिका २९ सत्र किलोमा राजमार्गमा ढु‌ंगा झरेर बसमा लाग्दा बसले सन्तुलन गुमाएर पल्टिँदा २९ जना घाइते भएका छन् ।

गत वर्ष पुसको २८ गते दाङको भालुवाङमा पुलबाट बस खसेर १२ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका थिए। यस्ता कयौँ घटनाले नेपालमा सडक सुरक्षालाई गिज्याइरहेका छन्।

दुर्घटना आफैँमा भयानक र कहालीलाग्दो हुन्छ। दुर्घटना न्यूनीकरणका लागि सडकको सुरक्षा तथा विमान कम्पनीहरूको नियमन, विमानहरूको जाँचको स्थिति कमजोर छ।

पर्यटन र लगानीलाई समेत प्रतिकूलता 

साउन २३ गते बुधबार नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टनेसहित पाँचजना मारिए। नेपालमा लगानी गर्न आएका चिनियाँहरू साइट हेरेर काठमाडौँ फर्कँदै थिए, उनीहरूले दुर्घटनामा जीवन गुमाए। बारम्बारका हवाई दुर्घटनाले नेपालमा लगानीका लागि आउन लगानीकर्ताहरू हिच्किचाउने स्थिति छ।

मन्त्रीहरू गोपाल राईदेखि रवीन्द्र अधिकारीसम्मले हेलिकप्टर दुर्घटनामा जीवन गुमाएका छन्।

दुर्घटनाले नेपाललाई ठूलो क्षति पुर्‍याएको छ। नेपालमा यात्रा गर्न असुरक्षित भएपछि पर्यटकहरूको आगमनसमेत प्रभावित हुने पर्यटन व्यवसायी विनायक शाह बताउँछन्  सडकको यात्रा कहालीलाग्दो छ, भनेको समयमा पुगिँदैन। हवाईजहाजसमेत सुरक्षित छैनन् भन्ने सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ।

मुख्य पर्यटकीय सिजन (सेप्टेम्बर-नोभेम्बर) सुरु हुनै लाग्दा होटलहरूको अकुपेन्सी २५ प्रतिशतमात्र रहेको होटल व्यवसायीहरूले जनाएका छन्।

एउटा सडक दुर्घटना हुँदा फेरि इभ्याकुएसन यति जटिल छ कि कति घण्टा जाममा बस्‍नुपर्ने हो टु‌ंगो हुँदैन। यस्तो अनिश्चितताले पर्यटन र लगानीलाई सीधा असर गरेको छ।

तनहुँमा भारतीय तीर्थयात्री चढेको बस मर्स्याङ्दीमा खसेपछि उद्धार गर्दै सुरक्षाकर्मी (दायाँ), पृथ्वी राजमार्गको ट्राफिक जाम (बायाँ)।

मानवीय क्षति भयावह र अर्थतन्त्रमा क्षति बढ्दै 

दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको संख्या पछिल्ला वर्षमा अत्यधिक बढेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको कुनै मूल्य छैन, परिवार र समाजको पीडाको सीमा नै छैन।

दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा गरिएको अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्रमा करिब १ प्रतिशत क्षति भएको अनुमान छ। अहिले अर्थतन्त्रको आकार ५७ खर्बलाई आधार मान्ने हो भने पनि  करिब ५७ अर्ब रुपैयाँको क्षति नेपालले व्यहोर्नुपरेको अनुमान गरिएको छ। दुर्घटना बढ्दा यस्तो क्षति बढ्दो छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले दुर्घटनाका कारण परिवारमा आम्दानी गर्ने व्यक्तिले जीवन गुमाउँदा वा अंगभंग हुँदा आम्दानीमा आघात पर्ने (इनकम शक) र परिवारको दायित्व बढ्ने, उपचार खर्चमा वृद्धि हुने र राज्यले सामाजिक सुरक्षामा गर्ने लगानी वृद्धि हुने बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौँको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =