नेकपा (एस) को चुनाव : थरीथरीका चिट वितरण

हिमाल प्रेस ११ भदौ २०८१ २१:०३
88
SHARES
नेकपा (एस) को चुनाव : थरीथरीका चिट वितरण

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीको पदाधिकारी र पोलिट्ब्युरो चयनका लागि अहिले मतदान भइरहेको छ। काठमाडौँ नयाँ बानेश्वरस्थित अर्पण ब्यांकेटमा भइरहेको चुनावमा गुटगत आफूखुसी चिट वितरण गरिरहेको पाइएको छ।

अहिले समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालका फरक-फरक गुट छन्। तर आज भने नेपाल पक्षीय नेताले आफू सुरक्षित हुन चिट वितरण गरिरहेका छन्।

आफ्नो नाम पार्ने र अर्काको बाइपास गर्ने गरी चिट वितरण भएको महाधिवेशनमा सहभागी एक मतदाताले बताए। नेपाल निकट नेताहरूले चार किसिमको चिट वितरण गरेको एक नेताले बताए। जहाँ महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको छ। यो पदमा झाँक्री र जयन्ती राईको प्रतिस्पर्धा छ।

मधेशी समुदायको उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ। झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह छन्।

खुला उपाध्यक्षहरुमा गंगालाल तुलाधर, जगनाथ खतिवडा, उर्वादत्त पन्त र विरोध खतिवडाको नाम समावेश छ। माधव नेपाल पक्षको चिटमा डा. विजयकुमार पौडेल, प्रकाश ज्वाला सहित नेताहरूको नाम समावेश छैन।

चार उपमहासचिवमा रामकुमार भट्टराई, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र अम्मर थापाको नाम माधव नेपाल पक्षले आफ्नो गुटमा राखेको छ। सात सचिवमा हस्तबहादुर शाही, दिलकुमारी पन्त, शेरबहादुर कुँवर, धर्मनाथ पौडेल, श्रीनाथ बराल, टोकबहादुर वाइवा र कृष्ण नेपालीको नाम उल्लेख छ। वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका उम्मेदवार हुन्।

यता अर्को सूचीमा भने रामकुमारी झाँक्रीको नाम छैन। महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी झाँक्रीको ठाउँमा जयन्ती राईलाई मत दिन भनिएको छ।

नेपाल पक्षबाट उपमहासचिवमा राजेन्द्रकुमार राई, लक्ष्मण केसी, रामचन्द्र यादव र रामकुमार भट्टराईलाई आधिकारिक उम्मेदवार बनाइएको छ।

अहिलेसम्म समाजवादीमा नेपाल पक्ष र भुसाल पक्ष प्रतिस्पर्धामा देखिएको छ। खनाल पक्षका अधिकांश नेताहरू भुसाल पक्षबाटै उम्मेदवार बनेका छन्।

भुसाल पक्षले भने आफ्नो गुटभित्र केही नेतालाई जिताउन लबिङ गरेको छ। जहाँ उपाध्यक्षमा जयन्ती राई, मधेशी कोटाबाट रामचन्द्र झा, खुला उपाध्यक्षमा विजय पौडेल, प्रकाश ज्वाला, भानुभक्त जोशी छन्।

उपमहासचिवमा जीवनराम श्रेष्ठ, हरि पराजुली, शत्रुधन महतो र गरिमा शाह रहेका छन्। गएको असारमा समाजवादीको महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चुनिएको थियो। त्यसपछि सचिवालयमार्फत ३४४ सदस्य केन्द्रीय कमिटी बनाइएको छ। अहिले तिनै केन्द्रीय सदस्यले पदाधिकारी र पोलिट्ब्युरोमा मतदान गर्दैछन्।

प्रकाशित: ११ भदौ २०८१ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast