धमाधम मर्मत हुँदै तनहुँका यी सडक

हिमाल प्रेस ७ भदौ २०८१ ७:१६
30
SHARES
धमाधम मर्मत हुँदै तनहुँका यी सडक पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरो बिहीबार बिहान डोजरको सहायताले हटाइँदै। पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। तस्बिर : कृष्ण न्यौपाने /रासस

तनहुँ- सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३.५४ किलोमिटर सडक मर्मत गरेको छ। उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ सम्पन्न गरिएको छ।

उनले सोही अवधिमा ८.५ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिइन्। सो अवधिमा ८ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य थियो भने ४ किलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा ३.५ किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताइन्।

उनका अनुसार ८.५ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ। इन्जिनियर शर्माले विगतका वर्षमा खसेका दुई ठूला पहिरामध्ये पृथ्वीराजमार्गअन्तर्गत साँखर पहिराे रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइन्।

गोरखाको घ्याम्पेसालअन्तर्गत कोखे आहालेको पहिरा रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उनले जानकारी दिइन्। सडक डिभिजन कार्यालयका लागि उक्त आर्थिक वर्षमा पुँजीगततर्फ ४३ करोड ४७ लाख बजेट विनियोजन भएकामा ३९ करोड बजेट खर्च भएको जनाइएको छ।

कार्यालयमार्फत बिर्ता हुँदै भानु नगरपालिका–६ टुहुरेपसल–अर्चले भञ्ज्याङ–रम्घाटार– मनटेहटिया सडकका लागि चार करोड ५० लाख विनियोजन भएकामा ४० प्रतिशत भौतिक र ३५ प्रतिशत प्रगति भएको छ।

श्रृङ्गपथ–गाईघाट–ऋषिङ–चापाकोट–गल्याङ सडकको पोखरीछापबाट कटहरे हुँदै मोहमी खण्डका लागि ५० लाख विनियोजन भएकामा शतप्रतिशत भौतिक र ९९.४ प्रतिशत वित्तीय प्रगति भएको छ।

खैरेनीटार–भिमाद–भूमरीघाट–कावासोती सडकका लागि तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ।

भिमाद–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद रामपुर सडकका लागि तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ८६ प्रतिशत वित्तीय प्रगति भएको छ।

नौबिसे–मुग्लिन–पोखरा सडकका लागि एक करोड ५० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ।

बागीश्वरी मार्गका लागि दुई करोड ५२ लाख ६८ हजार विनियोजन भएकामा शतप्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ। त्यस्तै व्यास बुद्धर्सि मार्गका लागि ७० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको छ।

सेतीगण्डकी पुलका लागि एक करोड ६६ लाख ४२ हजार विनियोजन भएकामा ९४ प्रतिशत भौतिक र ९४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ। त्यस्तै त्रिशूली नदी पुलका लागि ८९ लाख ३० हजार बजेट विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ।

मर्स्याङ्दी नदीमा मोटरेबल पुलका लागि ८९ लाख ३० हजार विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ।

चालु आवका लागि ७३ करोड बजेट

इन्जिनियर शर्माका अनुसार सडक डिभिजन कार्यालयका लागि चालु आवमा ७३ करोड ८२ लाख ८३ हजार बजेट विनियोजन भएको छ। स्थानीय सडक पुल निर्माणका लागि दुई करोड ८० लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि ३२ करोड ६८ लाख ८३ हजार विनियोजन भएको छ।

यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापनाका लागि एक करोड ३५ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि एक करोड ६२ लाख, सडक तथा ट्राफिक सुरक्षाका लागि ७० लाख र सडक बोर्ड नेपालअन्तर्गत सात करोड ९४ लाख विनियोजन भएको छ।

प्रकाशित: ७ भदौ २०८१ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =