इटहरी– उत्तरी मोरङको मिक्लाजुङको आइतबारेस्थित टाँडी माध्यमिक विद्यालयमा अंग्रेजी विषय पढाउँथे पर्वत राई। उनले १५ वर्षसम्म अध्यापन गराए। विद्यालयमा अध्यापनमा मात्रै क्रियाशील रहेनन्, गाउँमा पर्ने हरेकजसो समस्या समाधानमा समेत सक्रिय रहे। फलस्वरूप उनी मिक्लाजुङ गाउँपालिका १ को वडाध्यक्ष छन्।
साबिकको रमितेखोला, जाँतेको ३ र ४ वडा, मधुमल्ला १ देखि ६ सम्मका वडा, टाँडी गाउँ विकास समितिलाई समेटेर मिक्लाजुङ गाउँपालिका बनाइयो। यो गाउँपालिका प्राकृतिक रूपमा सम्पन्न छ। यही प्रकृतिलाई आममानिसमाझ चिनाउन सकारात्मक काम आवश्यक पर्छ। अहिले सोही काम गरिरहेका छन्, वडाध्यक्ष राई।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित उनले निर्वाचित भईकन गाउँको स्वरूपलाई परिवर्तनको बाटोमा डोर्याइरहेका छन्। शिक्षण पेसाका मानिस राजनीतिमा आउनु चुनौती र जोखिम दुवै भए पनि उनले त्यसलाई आत्मसात् गरे।
‘कि ठाउँ बनाउनुपर्यो, कि ठाउँ छाडेर तलै (सहर) झर्नुपर्छ भन्ने लाग्यो,’ राई भन्छन्, ‘सम्भावना भएको ठाउँ पछि पर्नु भनेको सम्भावनालाई नै बेवास्ता गर्नु हो भन्ने लागेकाले पनि यहाँका मानिस र यस ठाउँमै रहेर सेवा गर्ने इच्छा जाग्यो।’
उनलाई यहाँका मानिसले राजनीतिमा लाग्न नभनेका भए आजसम्म पनि शिक्षण पेसामै रहिरहेका हुन्थे। यहीँका मानिसले ‘पर्वत सर जत्तिको मान्छे राजनीतिमा आउनुपर्छ । यहीँ समाजलाई समुन्नत बनाउनुपर्छ’ भनेपछि उनले नकार्न सकेनन्।
‘यो ठाउँबाट बसाइँ सरेर जानेहरू फर्काउनुपर्छ भनेर राजनीतिमा लाग्नुपर्ने अवस्था आयो। हामी र हाम्रो पुस्ता अघि नसरे अझ पछि पर्ने पक्का थियो,’ उनले भने, ‘त्यसैले छँदाखादाको शिक्षण पेसा छाडेर राजनीतिमा आउने निर्णय गरेको हुँ। एउटै काम गरेर किन मर्ने भनेर फरक बाटोमा हिँड्नुपर्छ भन्ने बोधले पनि यस क्षेत्रमा आएको हुँ।
राईलाई जनप्रतिनिधि बनेर प्रत्यक्ष जनतासँग जोडिएर काम गर्ने चाहना भयो। जनप्रतिनिधि बन्छु भन्ने चाहनाले मात्रै हुँदैन थियो। उनले भने, ‘त्यसका लागि प्रत्यक्ष चुनाव जितेर आउनुपर्थ्यो। विद्यालयमा शिक्षण गर्दागर्दै समाजमा धेरैथोरै योगदान दिइरहेकाले चुनाव मेरो पक्षमा रहन्छ भन्ने विश्वास भने थियो। अन्ततः यहाँका जनताले मलाई काम गर्ने ठाउँमा पुर्याउनुभयो।’
राईले वडाध्यक्षमा निर्वाचित भईकन यस ठाउँमा कृषि र पर्यटनलाई चलायमान बनाएको सुनाए। ‘कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। पर्यटनको थप प्रवर्धनका लागि लबिङ गरिरहेका छौँ,’ वडाध्यक्ष राई भन्छन्, ‘आगामी वर्ष सडक कालोपत्रेलाई थप जोड दिने सोचले काम गरिरहेका छौँ।’
गाउँमा अकबरे खुर्सानी खेती, कफी खेती, बेसार, अम्लिसो खेती, अलैची खेतीको प्रवर्धन, गाईपालन र बाख्राको नश्ल सुधार कार्यक्रमअन्तर्गत बोयर जातका ब्याड बोका उत्पादनमा वडाले काम गरिरहेको उनको भनाइ छ। उनका अनुसार यस ठाउँमा ६५ घरमा नश्ल सुधार कार्यक्रमअन्तर्गत उन्नत जातका बोका वितरण गरिएको छ।
यसैगरी कोरली बाच्छी वितरण गरिँदा दुग्धजन्य उत्पादन वृद्धि भएको छ। जसकारण यस क्षेत्रका किसान कृषि पेसाका लागि थप लालायित देखिन्छन्। यसअघि मुस्किलले वडाको सिलिङ बजेट ४०-४५ लाखसम्म मात्रै बजेट आउने गथ्र्यो। पर्वत निर्वाचित भएपछि सो बजेट बडेर दोब्बर अर्थात् ८५-९० लाखको हाराहरीमा रहेको उनको भनाइ छ। उनका अनुसार वडाका धेरैजसो मानिस आत्मनिर्भर उन्मुख छन्। मिक्लाजुङ गाउँपालिकामा रहेका ९ वटा वडामध्ये यो वडाले २९.३० प्रतिशत भूभाग ओगटेको छ।
वडाले पाँचथरको मिक्लाजुङ, धनुकटाको चौबिसे गाउँपालिका, इलामको चुलाचुली गाउँपालिकालाई जोड्छ।
कोशी प्रदेशका तत्कालीन प्रदेश सांसद कुशल साँवाले बजेटका लागि पहल गर्दा अहिले उर्लाबारी किसान चोकदेखि मिक्लाजुङको आइतबारे बजारसम्म कालोपत्रे सडक आउन सम्भव भएको राईले बताए। प्रदेशका तत्कालीन आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले यस क्षेत्रमा सडक कालोपत्रे योजनाका लागि सकारात्मक रूपमा लिएका कारण पनि यस क्षेत्रको विकासमा थप सहज भएको वडाध्यक्ष राईले सुनाए।
पर्वतले निर्वाचनअगाडि पनि समाजमा प्रत्यक्ष प्रभाव पर्ने काम गरिरहेका कारण जनताले चुनेको विश्वास छ। ‘म जनप्रतिनिधिका रूपमा आउनुअघि पनि एक आममानिसको रूपमा, समाजको अग्रपंक्तिमा बसेर यस क्षेत्रमा विकासका विविध पाटोहरूमा पहल गर्दै आइरहेकै थिएँ। त्यसमा पनि बिजुली बत्ती, सडक, खानेपानी यहाँका मानसको प्राथमिकतामा थियो। त्यसका लागि पहल गरिरहेकै थियौँ,’ राईले भने, ‘खासमा यहाँसम्म कालोपत्रे सडक यहाँसम्म आइपुग्नमा तत्कालीन प्रदेश सांसद कुशल साँवाको ठूलो हात छ। यही बाटो भएर सांसद तथा प्रदेश नम्बर एकका तात्कालीन अर्थमन्त्री इन्द्र आङ्बोको क्षेत्र समेत जोडिने भएकाले पनि बजेट व्यवस्थापन गर्न सहज भएजस्तो लाग्छ।’
आफू निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा काम गरिरहेको उनले सुनाए। गाउँपालिकाको सबैभन्दा ठूलो र भौगोलिक रूपमा विकट वडा भए पनि बजेटको आकार भने सानो रहेको उनी बताउँछन्। ‘यो ठाउँको विकासका लागि एक वा दुई करोडले पुग्दैन, करोडौँ रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘गाउँको विकासका लागि सबैभन्दा पहिले सडक हुनुपर्नेरहेछ। जसले यहाँ उत्पादिन वस्तुको ढुवानी र बिक्री गर्न सहज हुन्छ।’
सडक निर्माण भइकन अहिले भने व्यापार, व्यावसाय र उत्पादन बढिरहेकाले यही क्षेत्रबाट खपत पनि भइरहेको उनको भनाइ छ। पहिला यहाँ उत्पादन भएका कृषिजन्य सामग्री बेच्नका लागि मधुमल्ला, उर्लाबारी, दमक, लेटाङसम्म पुग्नुपर्ने बाध्यता रहे पनि अहिले भने गाउँँबाट बिक्री हुने उनले सुनाए। ‘केही वर्ष पहिले एक दिनसम्म हिँडेर तरकारी, खसीबाख्रा बेच्न जानुपथ्र्यो, अहिले उपाभोक्ता वा व्यापारीहरू किसाना घरदैलोसम्म खोज्दै पुग्ने गरेका छन्,’ उनले थपे।
वडालाई मौसमले पनि साथ दिएको छ। गर्मीयाममा आन्तरिक तथा बाह्य (भारत)बाट समेत पर्यटक आउने गरेका छन्। पर्यटक आगमनको संख्या दिनदिनै बढिरहेको छ। कृषिजन्य र पशुजन्य उत्पादनले राम्रो दाम पाउन थालेको छ। सोही कारण स्थानीय मान्छेको आयआर्जन बढिरहेको उनी बताउँछन्।
उर्लाबारीको किसान चोकबाट आइतबारेसम्म २६ किलोमिटर सडक कालोपत्रे भएको छ। कच्ची सडक असंख्य छन्। उनले भने, ‘गाउँको स्वरुप परिवर्तन हुने क्रममा छ। यो त निरन्तर हुन्छ । यहाँ टोलैपिच्छे कच्ची सडक छन्। यो सडकको अवस्था फेरिएमा यहाँका मानिसको दैनिकी अझै फेरिन्थ्यो।’
सडकले कृषि र पर्यटन क्षेत्रलाई सहजै जोड्न सक्ने उनको भनाइ छ। राईले आइतबारदेखि अब लेकगाउँ, जौबारी हुँदै मिक्लाजुङ डाँडाको फेदैसम्म (जहाँ पाँचथरको मिक्लाजुङ सिमाना पर्छ) सडक निर्माण भएमा पर्यटकीय हिसाबमा अब्बल हुने उनले सुनाए।
राईका अनुसार चार हजारभन्दा बढी जनसंख्या रहेको वडामा अहिले जग्गा किन्नेहरूको भीड लाग्ने गरेको छ। हरेक दिनजसो जग्गा खोज्दै व्यापारीहरू आउने गरेका छन्। जग्गा पनि खसीबाख्राको जस्तैगरी ‘मोलमोलाई’ गर्नेको संख्या बढ्दो रहेकाले यो ठाउँको सम्भावना राम्रो बन्दै गएको वडाध्यक्ष राई सुनाउँछन्। ‘यहाँ जग्गा खोज्न दिनहुँ मान्छे आउँछन्, जग्गा पाइँदैन,’ वडाध्यक्ष राईले भने, ‘आनाको तीन लाख रुपैयाँ पर्छ।’
सोही वडा निवासी कवि हेमन यात्रीका अनुसार यस क्षेत्रलाई कुनै बेला मोरङको कर्णाली भन्ने गरिन्थ्यो। गाउँमा पढेलेखेका मानिस सबै सहरतिर गएका छन्। समाजलाई बुझेको मानिस कम छन्। यस्तो अवस्थामा पर्वतजस्ता मानिसको अति नै आवश्यक रहेको यात्री बताउँछन्।
‘राजनीतिक व्यवस्थाका लागि शिक्षकहरू अग्रपंक्तिमा नआएमा भए आजको परिवर्तनको यो स्वरूप देख्न निक्कै वर्ष कुर्नुपर्ने परिस्थिति रहन्थ्यो। गाउँमा त्यो बेला काम गर्ने भनेको शिक्षकहरू नै हुन्। पछिल्लो समय त राजनीति पनि फेसन बन्यो,’ यात्री भन्छन्, उहाँ (पर्वत) को सेवाभावलाई हेरेपछि समाजले पनि यो मान्छे ठिक छ भन्यो।’
गाउँमा डटेर आफ्नो अडान राख्न, आफ्ना समस्याहरूलाई माथिल्लो तहमा लगेर राख्न सक्ने मान्छेको अभाव रहेको उनको बुझाइ छ। त्यसको पूर्ति आजका पर्वतहरूले गरिरहेको यात्रीले बताए। पढेलेखेको मानिस र विद्यालयमा काम गर्दैदेखि समाजका सुख दुःख–अभावमा सँगै उठबस र सक्रिय भएका कारण पनि जनताले ‘पर्वत सरलाई निर्वाचित’ गराएको उनी बताउँछन्।
०००
राई नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। कुनै बेला यही ठाउँमा नेकपा एमाले, माओवादी केन्द्रपछि कांग्रेसको ‘पोजिसन’ थियो। राज्य पुनर्संरचनापछि भने रमितखोलामा आशिंक रूपमा नेपाली कांग्रेसले उपस्थिति जनाउन थालेको हो।
पर्वतको व्यक्तिगत सक्रियताका कारणले नै चुनाव जितेको स्थानीय बताउँछन्। हुन त यहाँको चुनावी अवस्था पनि रोचक छ। चुनावताका देशभर कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। यस वडामा भने एमाले र माओवादी मिलेका थिए। कांग्रेस एक्लै चुनावमा सहभागी भएको थियो। दुई ठूला दल मिल्दासमेत
नतिजा पर्वतका पक्षमा कसरी पुग्यो त?
पर्वत सुनाउँछन्, ‘पढाउँदाको दैनिकी स्कुल जाने आउने छँदै थियो। छुट्टीको समयमा जनताको काम र परेका समस्या वडा र पालिकासम्म पुर्याउने, गाउँठाउँको विकासका लागि सम्बन्धित ठाउँसम्म पुग्ने काम गरेँ।’
उनी निर्वाचित भइसकेपछि मिक्लाजुङ डाँडा (२४१० मिटर) जाने जौबारी भन्ने ठाउँसम्म बिजुली बत्ती पुर्याएका छन्। सडक विस्तारका काम भइरहेको छ। वडाध्यक्ष राईले विगत सम्झिए, ‘यस क्षेत्रमा केन्द्रीय विद्युत् प्रसारण जोडिनुअघि नै आफ्नै पहलमा करिब एक करोड ७५ लाखमा ३० किलोवाट क्षमताको सोलार बत्ती बल्यो।’ खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा निरन्तर काम गरिरहेकाले यहाँका जनताको विश्वास जित्न सकिएको उनले सुनाए।
आफू निर्वाचित हुनुअघि दिन माया मारेर सामाजिक सुरक्षा भत्ताका लागि मधुमल्ला जाने झन्झटिलो र खर्चिलो कामलाई वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था भएको छ। स्वास्थ्य चौकीको सेवालाई अझ प्रभावकारी बनाउँदै ल्याबसहितको प्राविधिक सेवा उनी निर्वाचित भएपछि नै सुरु भएको हो।
१ नम्बर वडामा १० वटा सामुदायिक विद्यालय छन्। जसमध्ये एउटा विद्यालय बन्द छ। गाउँपालिकाको शिक्षा संयोजकसमेत रहेका उनले अहिले शिक्षा क्षेत्रका लागि पनि रचनात्मक काम गरिरहेको सुनाउँछन्। शिक्षाका लागि आफ्नो वडामा एकदमै न्यून बजेट छुट्टिन्थ्यो। उनले यस ठाउँका मानिस सामान्य शिक्षा लिन पनि सहर जान नपरोस् भन्ने सोचले काम गरिरहेको सुनाए।
‘अहिले शिक्षाका लागि केही थप गर्नुपर्छ भन्ने अनुभूत भएर काम भइरहेको छ,’ उनले भने, ‘सहर बजार गएर पढ्न सुरु गरेका नानीहरू गाउँ नफर्कन सक्छन्। यहीँ बसोबास गरिरहेका विद्यार्थीलाई कसरी टिकाउन सकिन्छ भानेर शैक्षिक योजनाहरू बनाइरहेका छौँ।’