एक कविको प्रयासले फेरिएको स्कुल

विवेक विवश रेग्मी १० भदौ २०८१ ७:४९
930
SHARES
एक कविको प्रयासले फेरिएको स्कुल सिर्जना आधारभूत विद्यालय परिसरमा कवि हेमन यात्री।

इटहरी–  ‘यात्रु घट्न थालेपछि जापान रेल्वेले एउटा स्टेसन बन्द गर्‍यो। तर रेल्वेका अधिकारीहरूले थाहा पाए कि, त्यो ठाउँबाट एकजना विद्यार्थी अध्ययन गर्न नियमित सहर जाने र फर्किने गर्थिन्। रेल्वेले आफ्नो निर्णय रद्द गर्‍यो र ती छात्राले ग्राजुएसन नसकुन्जेलसम्म सेवा बन्द नगर्ने निर्णय गर्‍यो।’

मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सानोसफेवामा रहेको श्री सिर्जना आधारभूत विद्यालयको अगाडि राखिएको होर्डिङ बोर्डमा उक्त ‘उद्धरण’ लेखिएको छ।

वरिपरि पहाडले घरेको छ। तलतिर समथर (मिक्लाजुङ बजार) देखिन्छ। पहाडको बीचमा रहेको उक्त विद्यालयमा रमाउँदै पढ्न आउँछन् ससाना विद्यार्थी। उनीहरू रमाउँदै पढ्न आउनुको पनि कारण छ। त्यो हो- विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटरहरू चालाउन पाउनु।

मिक्लाजुङ गाउँपालिकाको दुर्गम बस्तीमा रहेको विद्यालयमा ३० जना विद्यार्थी अध्ययनरत छन्। कुनै बेला विद्यार्थी नपाएपछि गाउँपालिकाले विद्यालय बन्द गर्न खोजेको थियो। त्यसबेला तीनजना विद्यार्थी अध्ययनरत थिए। स्थानीयको अगुवाइमा विद्यालय बन्द हुनबाट जोगियो।

अगुवाइका नेतृत्वकर्ता हुन् – कवि हेमन यात्री। यात्रीले व्यक्तिगत रूपमा सहयोग उठाएर विद्यालयलाई जोगाए। ‘मैले त्यस विद्यालयमा दुई वर्ष स्वयंसेवा गरेँ। तन, मन, धन सबै दिएर बसेँ,’ यात्री भन्छन्, ‘सधैँ त्यही ठाउँमा मात्रै बसेर पनि हुने अवस्था छैन। बिग्रेको कुरा सपार्न एउटा कोसिस थियो त्यो।’

विद्यालयका बालबालिका कम्प्युटर चलाउँछन्, स्मार्ट बोर्डमार्फत नयाँ कुरा सिक्छन्। प्रविधिसँग अभ्यस्त हुने अभ्यासमा छन् बालबालिका। ‘जुनसुकै ठाउँमा पनि सामुदायिक विद्यालयलाई सपार्ने भनेको अधिकार प्राप्त निकायले हो। सामुदायिक विद्यालयमा अभिभावकले अपनत्व नलिइकन बचाउन गाह्रो छ,’ यात्रीले भने, ‘हरेक अभिभावकले यो हाम्रै विद्यालय हो भन्ने नबुझेसम्म र व्यवस्थापन समिति तथा शिक्षकसँग सुधार गर्न ‘पागलपन’ नभईकन विद्यालय सुध्रन सक्दैन।’

२०५० सालदेखि सञ्चालनमा आएको उक्त विद्यालयमा कक्षा ३ सम्म स्वीकृत थियो। कक्षा ४ र ५ थपिएपछि विद्यार्थीको चाप बढ्दै गएको स्थानीय अगुवा बताउँछन्। ५ कक्षासम्म सञ्चालनमा आएपछि शिक्षक दरबन्दी अभावमा माथिल्लो कक्षा सञ्चालन गर्न सम्भव भएन। बिस्तारै प्राथमिक कक्षा पनि बन्द गर्ने अवस्था आयो। अनि यात्रीले विद्यालय बचाउने अभियान चलाए। विभिन्न व्यक्ति र संघसंस्थासँग करिब ५ लाख रुपैयाँ सहयोग संकलन गरे। आफूले करिब एक लाख रुपैयाँ थप गरे। विद्यालयको भौतिक र शैक्षिक विकासमा जुट्न थाले।

केही वर्षअघि गाउँपालिका तत्कालीन अध्यक्ष देवीप्रसाद आचार्य, शिक्षा विभागका प्रमुख काशीनाथ खनाललगायतको टोलीले त्यसबेला विद्यालयमा विद्यार्थी अभाव भएकाले विद्यालय ‘मर्ज’ गर्ने लगायतका प्रस्ताव अघि सार्दै विद्यालय बन्द गर्नुपर्ने दबाब दिएका थिए। स्थानीय बासिन्दा विद्यालय बन्द गर्न नहुने पक्षमा उभिए।

मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सानोसफेवामा रहेको श्री सिर्जना आधारभूत विद्यालयको कम्प्युटर ल्याबमा बालबालिका। तस्बिर : विवेक विवश रेग्मी

विद्यालयको पुनर्निर्माण, शैक्षिक गुणस्तर स्तरोन्नति तथा विद्यार्थीको उपस्थिति बढाउन यात्रीले गरेको योगदान उदाहरणीय रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खनाल बताउँछन्।

खनाल कवि हेमन यात्रीको सक्रियताका कारण सिर्जना माध्यमिक विद्यालयको स्वरूप फेरिएको बताउँछन्। ‘उहाँ (हेमन)ले भौतिक रूपमा पनि निकै मिहिनेत गर्नुभयो। हामीले अहिले धेरै ठाउँमा त्यही विद्यालयको उदाहरण दिँदै आएका छौँ,’ उनले भने, ‘त्यस विद्यालयमा अध्ययन गरिरहेका पाँच कक्षाका विद्यार्थी कम्प्युटर चलाउन सक्ने भएर निस्किन्छन्।’

विद्यालय उदाहरणीय भएका कारण अब थोरै विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्ने होइन विद्यार्थी घट्नुको कारण पत्ता लगाएर सुधार गर्ने पालिकाको नीति रहेको उनी बताउँछन्।

खनालले भने, ‘थोरै विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्ने वा बन्द गर्ने होइन। थोरै हुनुको कारण पत्ता लगाएर विद्यार्थी बढाउने पालिकाले नीति लिएको छ। मर्ज गर्नुपर्छ भनेर भनिएका विद्यालयमा अहिले विद्यार्थी बढेका छन्।’

पालिकाको बर्खे भन्ने ठाउँको एक सामुदायिक विद्यालय बन्द अवस्थामा छ। त्यसबाहेक सबै सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन प्रोत्साहन गर्ने नीति रहेको खनालले बताए।

स्थानीय तहले शिक्षा क्षेत्रमा दुई करोड ५० लाख बजेट विनियोजन गरी सामुदायिक विद्यालयलाई डिजिटलाइज गर्ने कामसमेत गरिरहेको खनालले सुनाए। विद्यालय रहेका ३८ वटा सामुदायिक विद्यालयमध्ये २१ वटा विद्यालयमा भने बिहान ९ः४५ बजेदेखि कक्षा सञ्चालन हुन्छ। ‘सामुदायिक विद्यालयमा डिजिटलाइज गर्दैछौँ, स्कुलमा साउन्ड कन्ट्रोल सिस्टमको गरेका छौँ। सीसी क्यामेरा जडानलगायतका काम भइरहेको छ,’ खनाल भन्छन्, ‘अभिभावकविहीन बालबालिकालाई हामीले छात्रवृत्ति प्रदान गरेका छौँ। जसमा गत वर्ष पालिकाभरिमा बाबु र आमा नभएका एक सय ६ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ।’

उनका अनुसार त्यसबाहेक बाबु वा आमामध्ये एकजना नभएका ६३० जना बालबालिकाले छात्रवृत्ति पाएका छन्। वार्षिक सिकाइ सहयोग रकम भनेर छात्रवृत्ति रकम उपलब्ध गराउने र सामुदायिक विद्यालयको गुणस्तर बढाउन पहल भइरहेको उनले बताए।

सिर्जना विद्यालय झट्ट हेर्दा आकर्षक छ। वरिपरि रूखबिरुवा र खेलमैदान छन्। कम्प्युटर ल्याब, एलइडी टेलिभिजन, उचित खेलसामग्री, चमेनागृह तथा कक्षाकोठा कुनै निजी विद्यालयको भन्दा कम छैन सोही कारण विद्यार्थीको उपस्थिति पनि बाक्लिएको स्थानीय बताउँछन् ।

यात्री भन्छन्, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भनेर स्थानीय स्तर तथा व्यक्तिगत रूपमा सहयोग उठाएर हाल विद्यालयको अवस्थामा रूपान्तरण आएको हो।’
अहिले विद्यालयमा पाँच थान कम्प्युटरसहित एउटा एलइडी टिभीमार्फत विद्यार्थी नयाँ कुरा सिकिरहेका छन्। जसले ‘प्ले ग्रुप’ मा अध्ययनरत विद्यार्थीलाई मनोरञ्जनसँगै सिकाइको अध्याय अगाडि सारिएको छ।

देशैभरका साना विद्यालय मारमा रहेको यात्री सुनाउँछन्। अधिकांश अभिभावकले आफ्ना बच्चालाई प्राथमिक तहसम्म निजीमा पढाउने र त्यसपछि सामुदायिक विद्यालयमा पढाउने प्रचलन बढ्दै गएका कारण पनि प्राथमिक तहका विद्यालयको गुणस्तर खस्किँदै गएको छ।

‘खर्च गर्न सक्ने मान्छेले गाउँबाट बोकेर आफ्ना बच्चा सहरसम्म लैजान्छन्, त्यो फेसनजस्तै भइसक्यो। निजी स्कुलप्रति मोह बढेको छ। निजीमा मोह बढ्नुको कारण भनेको पुँजी फस्नु हो। पुँजी फसेपछि अभिभावकलाई पनि माया हुँदोरहेछ,’ कवि यात्री भन्छन्, ‘खासमा भन्ने हो भने सरकारी स्कुलका शिक्षक निजी स्कुलका भन्दा योग्य र एक्सपर्ट छन्। तर तिनीहरूले नतिजा किन दिन सक्दैनन्? यसको खोजी गर्नुपर्छ।’

सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघलगायत दत्तचित्त हुनुपर्ने उनको भनाइ छ। गाउँमा बच्चाबच्ची अध्ययन गर्दै, पास आउट हुँदै जाने क्रम बढिरहेकाले विद्यालयलाई टिकाउन सबै सरोकारवाला निकायले जतिबेलै त्यसैबारे सोच्नुपर्ने यात्रीको तर्क छ।

‘त्यतिखेर विद्यालय मर्ज गर्नुपर्छ भनेर पालिकाबाट मान्छे आउँदा मैले जिम्मा लिन्छु भनेँ, पछि विद्यालय बनेपछि अरू ३७ जना बच्चा थपिए,’ यात्री भन्छन्, ‘पछिल्लो समय विद्यार्थीहरू पास भएर जाने मात्रै छ, आउने छैन। यो कुनै एक विद्यालयको मात्रै कुरा होइन, धेरैतिरको समस्या यही हो।’

उनका अनुसार विद्यालयले प्र्रत्येक वर्ष भर्ना अभियान चलाउँदै आएको छ। सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन विशेष किसिमको सुविधा दिनुपर्ने उनको तर्क छ। ‘सबैभन्दा पहिला त बाटो राम्रो हुनुपर्‍यो। निजी स्कुलले घर, आँगनमा पुगेर बच्चा उठाएर ल्याएको छ। सामुदायिक विद्यालयले पनि आफूभित्र सम्भावना खोज्नुपर्छ’, उनले थपे।

सानो सफेवामा १५ घर छन्। विद्यालयमा पारिपट्टी बरबोटे भन्ने ठाउँबाट समेत बालबालिका अध्ययनका लागि आउँछन्। करिब २८ घरका बालबालिका सो विद्यालयमा अध्ययनरत छन्। दुई शिक्षक (दरबन्दी), बालविकासका शिक्षक र एकजना कर्मचारी गरी विद्यालयमा चारजना कार्यरत छन्। विद्यालय सुधारका लागि शिक्षकले विश्वास दिलाउन सक्नुपर्ने यात्रीको भनाइ छ।

‘निजीको भन्दा राम्रो गुणस्तर दिन्छु भन्ने हुनुपर्छ, गर्दा त हुनेरहेछ नि! विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे जतिखेरै सोच्न आवश्यक छ,’ उनी भन्छन्, ‘कुनै पनि अभिभावकलाई निजी विद्यालयमा खर्च गर्ने रहर हुँदैन। निजीमा खर्च गर्ने भनेको सामुदायिक विद्यालयप्रति विश्वास नभएर हो।’

उनका अनुसार यसरी हेर्दा अभिभावक दोहोरो मारमा परेका छन्। राज्यलाई तिरेको करबाटै सरकारी निकाय सञ्चालन भएको र आफ्नो अधिकार उपभोग नभएर निजीमा खर्च गर्नुपर्ने बाध्यताको थोरै भए पनि अन्त्य हुनुपर्ने उनी सुनाउँछन्।

‘निःस्वार्थ ढंगले काम गर्ने मान्छेको अभाव छ। निजी विद्यालय सञ्चालन गर्नेहरू युरोप, अमेरिका र अफ्रिकाबाट आएका मानिस होइनन्,’ उनले थपे, ‘निजीमा लगानी गर्नेमा कतिपय सरकारी सेवामा संलग्नहरू पनि छन्। नेताका आफ्नै विद्यालय छन्, यो सबै व्यापार त हो। आफ्नो व्यावसाय मासेर सरकारी राम्रो बनाउँछन् त?’

समाजको अग्रभागमा बसेर नेतृत्व गर्छु भन्नेहरूको भूमिका दोहोरो हुन नहुने उनले बताए। ‘सबैभन्दा गम्भीर विषय नै शिक्षा र स्वास्थ्य हो। त्यसबेला विद्यालय बन्द गर्ने भनिएपछि सरकारसँगै लड्नुपर्ने अवस्था आयो। विद्यालयलाई कसरी आकर्षक बनाउने भन्ने बोध भयो,’ उनले भने, ‘भएको ऐन लागू नगरेर हाम्रो व्यवस्था बिग्रिएको हो।’

कसरी फेरियो विद्यालयको स्वरूप?

२०७६ सालमा पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा तीन जना मात्रै विद्यार्थी थिए। त्यसैताका गाउँपालिकाबाट अनुगमनमा आएको टोलीले विद्यालयको खातापाता पल्टाएर विद्यालय बन्द गर्ने निर्णय सुनाए। कवि यात्रीको घर सोही विद्यालय नजिकै हो। उनी कहिले इटहरी बस्छन् त कहिले गाउँ।

‘सरकारी अधिकारीहरूको निर्णय सुनेर कटक्कै भयो मन  ननिको लागिरह्यो। नजिकमा विद्यालय नहुँदाको पीडा नमज्जासँग अनुभव गरेको मानिस, जो म आफैँ थिएँ,’ विद्यालयमा भेटिएका उनले विगत स्मरण गरे, ‘म आफैँ घण्टौँ उकालो हिँडेर विद्यालय पुग्ने गरेको कहालीलाग्दो अतीत सम्झिएपछि सरकारसमक्ष ‘नो’ भनेर कराएँ। विद्यालय बन्द गर्न मिल्दैन भनेँ।’

यात्रीले स्कुल जोगाउन एकैजना विद्यार्थी भए पनि विद्यालय बन्द गर्न नहुने अडान लिए। उनको अडालने सरकारी अधिकारी र स्थानीयवासीसमेत चकित भए। ‘मैले ‘नो’ भनिरहेँ। र, भनेँ, हामीलाई एक महिनाको समय दिनुस्, एक महिनापछि फेरि तपाईँहरू अनुगमनमा आउनुहोला। विद्यालयको अवस्थामा यस्तै रहे, ठीक छ बन्द गरौँला,’ यात्रीले सम्झिए, ‘धेरैबेरको रस्साकसीपछि विद्यालय बन्द गर्न आएको स्थानीय सरकार एकमहिने भाका बोकेर फर्कियो। म भने गाउँमै रहेँ र श्रमदान सुरू गरेँ।’

उनका अनुसार एक महिनाभित्र विद्यालय सेवा क्षेत्रको प्रत्येक घरमा घरदैलो कार्यक्रम लिएर विद्यार्थी भर्ना कार्यक्रममा सञ्चालन गरियो। प्रत्येक विद्यार्थीलाई निःशुल्क पोसाक र झोला वितरण गरियो। पछि भने विद्यालयको भौतिक संरचना परिवर्तन गरियो र अहिले सो विद्यालयमा विद्यार्थी रमाउँदै-रमाउँदै पढिरहेका भेटिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =