देशभरी रोपाइँ गर्न २ प्रतिशत मात्र बाँकी : कृषि मन्त्रालय

हिमाल प्रेस १ भदौ २०८१ १२:३७
2
SHARE
देशभरी रोपाइँ गर्न २ प्रतिशत मात्र बाँकी : कृषि मन्त्रालय

काठमाडौँ- यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हालसम्म रोपाइँ गर्न २ प्रतिशत मात्र बाँकी छ।

गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सम्पन्न भएको हो । यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँ पनि देशभर राम्रोसँग भएको जनाइएको छ । धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांक छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेस प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा धान र चामल गरी रु २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष २०७९/८० मा रु ३५ अर्व ९० करोडको आयात गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब रु १३ अर्बले आयात घटेको अभिलेख मन्त्रालयसँग छ ।

यस वर्ष करिब छ प्रतिशतले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रकाशित: १ भदौ २०८१ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =