साहित्यकार सागर गैरे मेरा लागि मात्रै नभई नेपाली साहित्यमा परिचित नाम हो। ‘लकडाउन’ (२०७७) र ‘बलैगाउँदेखि बाकुसम्म (२०७८) उहाँका दुइवटा गैरआख्यान पुस्तक प्रकाशित भइसकेका छन्। मोहोर उहाँको तेस्रो औपन्यासिक कृति हो।
२०७६/०७७ सालको लकडाउनले धेरैको जीवनलाई तहसनहस पारेको तमाम घटना समाजमा काँडाझैँ गडेर बसेका छन्। घर, गल्ली, सडक, देश, प्रदेश हुँदै संसारभरलाई लकडाउने लक गर्यो तर त्यही लकले लेखक सागर गैरेको साहित्य यात्राको ढोका उघार्यो। गल्ली, चोक र सडकका आवागमनमा लक लागे पनि साहित्यकार सागर गैरेको जीवनमा लक लागेन बरु ‘लक’ लाग्यो। लकडाउन समयताकाको चरम उत्कर्षमा चलेको कलमको गति रोकिन नपाउँदै तेस्रो पुस्तक प्रकाशित हुनु त्यसैको निरन्तरताको एक अनुपम कडी हो।
‘मोहोर’ साहित्यकार सागर गैरेका पिताको निजी कथा मात्रै होइन एक युगको कथा हो। समाजको कथा हो। नेपाली भाषाको उद्गमस्थल कर्नाली र त्यसबेलाको लुम्बिनी,गण्डकी वरपर रहने मानिसको कथा हो। यसो भनौँ, प्रकृतिसँग संघर्ष गरेर प्रकृतिमाथि विजय प्राप्त गर्ने बहादुर मान्छेको कथा हो। अझै मिहीन रूपले भन्नुपर्दा उमेरले ८४ पार गरिसकेपछि शून्य संसारमा रमाउन खोज्ने वृद्धवृद्धाको कथा हो।
पाल्पा जिल्लामा जन्मेका साहित्यकार गैरेलाई जति प्रेम आफू जन्मेको माटोको छ उति नै प्रेम कर्नालीका जिल्ला जुम्ला र दैलेखप्रति पनि रहेको देखिन्छ। आफ्ना पूर्वजको माटोसँग जोडिएको पसिना र रगतको सम्बन्धको सुगन्धले उनलाई कर्नालीले पनि डोर्याएको छ। गैरेहरू जुम्लाको गैरी र दैलेखको गैह्रागाउँबाट पूर्वलागेको जिकिर गरेका छन् उनले। यसरी त अहिले पनि दैलेख जिल्लालाई जातिको उद्गमस्थलका रूपमा हेरिन्छ।
दैलेखमा ६८ वटा थर र ३६ वटा मानव जातिको बसोबास भएको कुरा साहित्यकार नारायण तिमिल्सिनाले उल्लेख गर्नुभएको छ। दैलेखको गैह्रागाउँबाट पूर्व लागेपछि आफ्नो थरनै गैरे/गैह्रे भएको लेखकको स्विकारोक्तिले आफ्नो कुलको मूलथलो नै कर्नाली रहेको कुरामा लेखक स्पष्ट छन्। लेखकको स्विकारोक्तिले खस सभ्यताको आदिकाल वा पतनसँगै खस समुदायका मान्छेको बसाइँ सराइ पश्चिमाबाट पूर्वतिर सर्दै गएको अनुमान सहजै गर्न सकिन्छ। यस विषयले पनि मोहोर कृतिले प्राचीन खस सभ्यताको युग खोतल्न खोजेको देखिन्छ।
हरेक मान्छेको होरोमा ८४ वर्ष पार गर्ने कुरा भाबीले लेखेको हुँदैन। घनश्याम गैरे त्यहीमध्येका एक पात्र हुन्। एउटा जबरजस्त ढुंगेयुग चपाएर प्रविधिले प्रविधिमैत्री बनाउँदै गएको आधुनिक युगको आश्वादन गर्न पाउने ८४ वर्ष पार गरिसकेका भाग्यमानी वृद्ध हुन्। कुनै बेला ककौरा छोडेर अन्यत्र गई धेरै बिघा जमिनको मालिक हुन चाहन्थे घनश्याम। आज धेरै जमिनको लोभको कुरा त के भयो र? सरकारले सम्मानस्वरूप दिएको वृद्धभत्ता र आफ्नो खर्च कटौती गरेर पकेटमा बसेको रुपैयाँलाई सामाजिक कार्यमा लगानी गरी सेतु निर्माण गरेका कुराले मृत्युभन्दा शाश्वत सत्य कुरा अर्को केही नभएको र देखावटी व्यक्तिगत सम्पत्ति हातको मैला मात्रै भएको कुराको सन्देश समाजलाई दिन खोजेका छन् घनश्यामले।
हाम्रो समाज पुरुषसत्तात्मक युगको प्रतिनिधित्व गर्ने समाज हो। मृत्युपछि छोराले काजकिरिया नगरेसम्म पितृले वैतरणी तर्न सक्दैनन् भन्ने कुराको जबरजस्त अन्धविश्वास समाजमा जरा गाडेर बसेको छ। आफ्ना दाजुभाइ, इष्टमित्र र जन्मथलो चटक्क छोडेर सबैको नजरबाट ओझेल पर्दै अन्धकारको पयो पछ्याउँदै नरिश्वर गरनडाँडा आउनुको रहस्य मार्मिक छ।
हानेको घाउ त एक दिन सन्चो हुन्छ तर मुटुमा बिझेको वचनको घाउ खिल बनेर गडिरहन्छ। नरिश्वर कल्लाबारी छोडेर गरन डाँडा आउनुको मुख्य उद्देश्य आफ्नैबाट अपहेलित हुनु हो। सन्तान हुने को कति स्वर्ग र को कति नर्क गए अहिलेसम्म त्यो कुराको वैज्ञानिक प्रमाण कसैले भेटेको छैन तर सन्तान नभएकै कारण अपुतो शब्दको ब्रजपातले धेरै मान्छे बिरक्तिएर समाज छोड्नुपरेका घटना भने साक्षी छन्। यसर्थ सन्तान नहुनेका पक्षमा नरिश्वर मोहोर उपन्यासको पात्र बनेर कसरी उभिएका छन् उक्त कुरा पुस्तक अध्ययनपछि थाहा हुनेछ। पुस्तकभित्र भएका घटना नरिश्वरका वैयक्तिक समस्या मात्रै नभएर समाजमा रहेका हजारौँ अपुतो नरिश्वरका हुन्।
आमाको अनुहार पहिचान गर्न सक्ने क्षमता बालकमा नहुँदै तीन वर्षका बच्चा घनश्यामलाई अरूको भरोसामा आमाले छोडेर जानुले हरकोही मान्छेको मन कुँडिन्छ। आमा खसेको धेरै दिन नहुँदै सात वर्षको उमेरमा आफूलाई औधी माया गर्ने बुबाको निधन हुनु र जब केटाकेटी नाबालकलाई अभिभावकको अन्यन्त जरुरत हुन्छ त्यसै बेला हजुरबुबाले पनि घनश्यामलाई छोडेर गएको घटना हृदयविदारक छ। अलिकति संवेदना राखेर घनश्याममाथि कालले न्याय गरेको भए कालको के जाने थियो? कुनै पनि पाठकको मनमा उब्जने प्रश्न हो यो। नाबालक घनश्यामको कहानीले पाठक भावुक मात्रै हुँदैन आँसुका थोपा गण्डकी बनेर कुन बेला पुस्तकको क्यानभासमा पोखिन्छन् पाठकलाई नै थाहा हुँदैन। त्यसैले उक्त पुस्तक नगद लेनदेनको बेला चल्ने मोहोर मात्रै नभई युग बोल्ने सुखदुःखको ‘मोहोर’ हो।
आमा, बुवा र हजुरबाको मृत्युले जीवनसँग हरेस खाएको बालकले जीवन हारेन बरु उसले चट्टान बनेर समाजमा उभिने सौभाग्य पायो। आमाको मृत्युपछि बुवाले घर भित्र्याएकी कान्छीआमाको मातृत्व जन्म दिने आमाको भन्दा उसका लागि कम भएन। अर्थात् मातृत्व अभावमा मातृगुणमा चिस्यानको ओस जम्न पाएन। कान्छीआमाको कोठारमा हुर्कने अवसर नभए पनि उनले घनश्यामलाई मान्छे जस्तो मान्छे बनाउने प्रक्रियामा अतुलनीय योगदान गरेकी छन्। भाग्य चम्काउन आमाको आश्रय नभएको भए घनश्यामको जीवन के हुन्थ्यो होला? कान्छी आमाकै मातृत्वको आँचलमा हुर्केका घनश्यामलाई जीवनको उद्देश्य भेट्टाउन मन्जिल पुर्याउने ती नि:सन्तान आमाको मातृत्वको जति प्रशंसा गरे पनि कमै हुन्छ।
नरिश्वरले रुखो गरनडाँडालाई पसिनाले सिञ्चेर मलिलो बनाए पनि गैरेपरिवारको आकार बढेपछि नयाँ पुस्तालाई गरनडाँडामै जीवन कटाउने पर्याप्त सम्भावना थिएन। सम्भावनाको ढोका खोल्न ४० नाघेका घनश्याम आफूले भोग्दै आएको पीडाको चास्नीमा आफ्ना छोराछोरी र सन्ततिलाई डुबाउन चाहँदैन थिए। मकै र कोदाको रुखो गाँस कटाएर छोराछोरीको मुखमा भातको रसिलो माडले पेट भराउन चाहन्थे।
भातको माडले छोराछोरीको पेट भर्ने सम्भावना गरनडाँडामा थिएन। सम्भावनाको खोजी गर्दै घनश्यामले नवलपरासी, माडी,रुपन्देही र कपिलवस्तुका फाँटहरू चहारिरहे। फाँट हेर्दाहेर्दै उनको मन अघायो तर आँखा अघाएनन्। आकाशसँग आँखा जुधाएर आकाशसँग बात मार्ने ती फराकिला फाँटमा उनको मन अडिएन बरु चरी बनेर उपयुक्त ठाउँको खोजीमा भावनाको भेलमा मन उडिरह्यो। केही
वर्षपहिले हात हेराउँदा तोरे ज्योतिषको भविष्यवाणीले घनश्यामको मन जितेको थियो। त्यही विश्वासमा बसाइँ सराइको उपयुक्त ठाउँ हेराउन घनश्याम तोरेकहाँ पुग्छन्। घरदेखि पूर्व र मध्यभागको जमिनभन्दा बसाइँ सराइ गरेर जानका लागि घनश्यामलाई पश्चिम दिशाको जमिन फलदायी हुने भएकोले पश्चिम जान सुझाएका थिए तोरेले।
ज्योतिषको भविष्यवाणीमा विश्वास गर्दै बर्दिया ककौरामा रहेकी भान्जीको आडभरोसाको सहारा पछ्याउँदै घनश्याम भारतको बाटो भएर उनी रुपैडिहा हुँदै बर्दिया ककौरा पुगेका छन्। भान्जीको गोठमा भएको पहिलो वासले उनलाई बर्दियाली बनायो। भान्जीकै मामा नात सम्बन्धले घनश्याम पहाडी समुदायभित्र मात्रै नभएर थारू समुदायका पनि मामा भए। सम्बन्धले हरेक मान्छेलाई जोड्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन् घनश्याम बा।
बसाइँ सराइको टुंगो नलाग्दै जमिन बेच्ने कुरा लिएर एक दिन घनश्यामले आफन्तलाई जग्गा लिइदिन अनुरोध गर्छन्। आफन्तले जग्गा लिने इच्छा नजताएपछि त्यसो भए तपाईँले नलिने हो भने दमाईलाई बेच्छु भन्ने घनश्यामको कुराले आफन्तलाई झस्काउँछ। दलित समुदायको मान्छे उच्च जातिको समाजमा आएपछि अफ्ठेरो पर्छ भन्ने कुरा उनीहरूले बुझेपछि जग्गा लिन बाध्य हुन्छन्। तर जग्गाको बैनाबट्टा भएर ठिक पार्दा पनि बुटवलमा बस्ने आफन्तले बैना फिर्ता गर्नु र जग्गा नामसारी भएर जग्गावाला आफन्तको हातमा लालपुर्जा परिसक्दा पनि रुपैयाँ नदिएर दुःख दिएका घटनाले घनश्यामलाई दुःखी बनाएको छ। अझै पनि हाम्रो समाजमा उच्च जातको बीचमा दलित नअटाएका कुराको चरितार्थ पुस्तकले गरेको छ। पुस्तकले दलित र उच्च जातको बीचमा रहेको जातीय अन्तरविरोधको कुरालाई थोरै भए पनि उप्काएको छ।
मान्छेको प्राण एक मुठी सासमा अल्झेको हुन्छ। उक्त प्राण कतिखेर जान्छ कसैलाई थाहा हुँदैन। क्यान्सर रोगले गालेपछि दीपा दिदी भाइकै पर्खाइमा थिइन्। भाइ घनश्यामले दिदीलाई काखमा लिएर सुमसुमाएर ठिक भैहाल्छ, पिर नलिनुस् दिदी भन्न नपाउँदै भाइको काखमा प्राण गएको घटना कारुणिक छ। अस्पतालले धेरै बिमारीलाई अकालमा मर्नबाट जोगाए पनि घनश्याम बा कि दिदी दिपा र रुका आमाकी दिदी धनकुमारीलाई पाल्पा मिसन खस्पतालले बचाउन नसकेको कुराले मन खिन्न बनाउँछ।
साहित्यकार सागर गैरेले बुवाका विगत र वर्तमानका यादलाई निकै मेहनत गरेर शब्दमा लिपिबद्ध गरेका छन्। बुवाले अनुभव गरेको ठाउँ मलेसिया, भारतको भोपाल सहर, रेलगाडीको यात्रा, भारतको विकास, भोपाल ग्यास काण्ड, १९९० सालमा काठमाडौँमा मुखिया हुन गएको बेला ढुण्डीराज हजुरबुवा भूकम्पमा पुरिएर बाँचेको कहानी, रानीमहल, लडिया, घरगोठका कुरा, भगवान्माथिको आस्था, बाजेले सुनाउने जुनमामा र भुतका कथा, लाहुरेले दिएको दाह्री खौरिने मेसिन, सन्तानका लागि भगवान्सँग गरेको भाकल, बूढो कटहरको रूख भाइहरूले लगाएको आठ भागको किस्सालाई लेखकले निकै सरल र सरसपूर्ण रूपले पुस्तकमा उतारेका छन्। घर छोड्ने बेला कटहरको रूखलाई रुका आमाले फर्कीफर्की हेर्दै आफ्नो प्यारो घर, जमिन र मातृभूमिलाई छोडेका परिदृष्यको वर्णनले जोकोही पाठकको मन गलाउँछ। तोरे ज्योतिष घनश्याम बाका आस्थाका धरोहर हुन्। घर छोड्दा फर्केर पछि नहेर्नु तोरे ज्योतिषको उपदेशलाई उनले बर्दिया नपुगुनजेलसम्म अनुसरण गरेका छन्। जोकसैको उज्ज्वल भविष्यसँग जोडिएको उपदेशलाई सबैले मान्नु र्छ भन्ने कुराको ज्ञान उपन्यासले दिएको छ।
पैतलाहरूको आयातन नाप्दै बर्दिया पुगेपछि त्यहाँको मौसम, माटो र त्यहाँका रैथाने बासिन्दासँग अन्तरघुलन हुनका लागि घनश्यामसँग विकल्प थिएन। छिमेकीको अभावमा एक्लो भएर को नै बाँच्न सक्छ र? उनका बा तराईको जनजीवन सहजताका लागि थारू समुदायसँग मिलेर घाँसदाउरा र खर काट्न लडिया लिएर चुरेपहाडसम्म गएका छन्।
हप्ता दिनभन्दा धेरै रात समूहमा कटाएर घर फर्केका बाका अनुभवले उनलाई बूढो त बनायो नै तर उनका अनुभवलाई लेखकले सुन्दर लेखन कलाको जालोमा उनेर अमर बनाएका छन्। अहिलेको परिवेशमा खिइएर पातलो बन्दै गएको पहाडी र थारू समुदायबीचको प्रगाढ सम्बन्धलाई सजीव गराउन उपन्यासले समुदायका मान्छेलाई दिशानिर्देश गरेको छ। मधेशको बसाइपछि आफूले लगाएको धान फसलको उब्जाउ सोचेभन्दा बढी भएपछि घनश्याम बा लडियाचालक फिरु थारूको सहयोगमा फसल लिएर नेपालगन्जसम्म पुग्छन्। फसल बेचबिखनपछि चोरहरूको नजर छलेर सकुशल घर पुग्नु कुनै युद्ध जितेभन्दा कम थिएन।
घरहरूको निर्माणले सहरीकरण भइसकेको यति बेलाको बाँके, बर्दिया र त्यस बेलाको बाँके, बर्दियाको स्वरुप जमिनआकाशको फरक त थियो नै अहिलेभन्दा त्यस बेलाको मान्छेहरूको मानव जीवन निकै कष्टकर थियो भन्ने कुरालाई उपन्यासले उजागर गरेको छ। कष्टकर मानव जीवनलाई दुःखपीडाबाट मुक्त गराउन स्वास्थ्यसेवामा अनवरत खटिएर सहयोग पुर्याउने डाक्टर पबिराम थापा र हापुरे डाक्टर महम्मद अलिलाई त्यो युगले कहिल्यै भुल्ने छैन। स्वास्थ्य सेवाको पहुँच सबै ठाउँमा नभएको बेला उनीहरू त्यस ठाउँमा रहेर सेवा प्रदान गर्नु ठूलो कुरा थियो भन्ने रहस्य उपन्यासले औँल्याएको छ।
पाठकलाई किताबभित्रका कहानी आफ्नै हुन् भन्ने बनाउनु लेखकको चलाखीपूर्ण कला हो तर पुस्तकमा भएका कतिपय कथाका विषयवस्तु पुस्तकको आयातन बढाउने हेतुले लेखिएको अनुभूति हुन्छ। ती विषयवस्तु नराख्दा पनि उचित हुन्थ्यो कि भन्ने कुराको जिज्ञासाले पाठकको मनमा घर बनाउँछ। आगामी पुस्तक लेखनका क्रममा लेखकले यस विषयमा ध्यान पुर्याउँदा राम्रो होला। पुस्तकभित्रका कतिपय कहानी कल्पनाशक्तिको गहिराइमा डुबेर स्वतन्त्र लय समाएर अघि बढेको देखिन्छ। कुनै बेला बाका आत्मवृतान्तसँग जोडिएका घटनाले स्वतन्त्र लयमा दौडिएको कथावस्तुमा लेखका निजी कथा समावेश भएपछि बगिरहेको कथावस्तुलाई खल्लो बनाएका तमाम उदाहरण छन्। हुन त मोहोर बाकै जीवनमा आधारित कृति हो। तथापि पात्र र कथाको कथावस्तुलाई साझा कथा बनाएर उन्न सकेको भए पुस्तकले अझै ओज प्राप्त गर्ने थियो।
मोहोर पुस्तकको दमदार पात्र कान्छी आमा हुन्। ठूलाबा भारत गएको तीनचार वर्ष बित्न नपाउँदै ठूलीआमा पोइल गएकी छन्। ठूलाबा भारतबाट ३०/३२ वर्षपछि फर्केर आउँदा ठूलीआमा अर्कैको भएको घटनाले समाजमा हुने यथार्थ घटनाको सजीव चित्रण मोहोरले गरेको छ। कुरा कान्छीआमाको मात्रै होइन, कान्छीआमाले आफ्नै कोखबाट जन्मेको छोरा जसरी पुस्तकका मुख्य पात्रलाई लालनपालन गरेको घटनाले कान्छीआमा कान्छीआमा जस्तो लाग्दैन। जन्म दिने आमा अम्बिकाको देहावसानपछि बुवाले कान्छीआमालाई विवाह गरेर ल्याएको कुराको किस्सा पुस्तकमा उल्लेख गरिसकेपछि कान्छीआमा शब्दलाई परिमार्जन गरेर आमा शब्दको प्रयोगबाटै लेखकले आमाको कथा लेख्ने आँट गर्नुपर्थ्यो। नि:सन्तान हजारौँ आमाको गाथा झल्कने गरी लेखकले आमा शीर्षकमै कान्छी आमाको गाथालाई सशक्त रूपले बुनेको भए कृति सुनमा सुगन्ध हुने थियो।
लेखकले उपन्यास नामकरण गरे तापनि ‘मोहोर’ वर्षको उत्कृष्ट गैरआख्यान पुस्तक हो। गैरआख्यानका रूपमा पुस्तक प्रकाशित भएको भए सायद राम्रो पुरस्कार मोहोरले नै पाउँथ्यो कि! पुस्तकलाई उपन्यास नामकरण गर्ने सवालमा लेखक अलि हौसिएजस्तो लाग्छ। कमजोरी भन्ने कुरा जसले केही नयाँ गर्न खोज्छ उसैमा हुने कुरा हो। दूधले नुहाएर शुद्ध भएको आखिर को नै छ र दुनियाँमा? निजी कथावस्तुलाई पनि लिपिबद्ध गरेर पुस्तकको आकार दिन सकिने रहेछ भन्ने प्रेरणा लेखकले दिएका छन्। अन्तमा थप उत्कृष्ट कृतिका लागि लेखक सागर गैरे र प्रकाशक माया पब्लिकेसनलाई हार्दिक बधाई!