काठमाडाैँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा आएको बाढीबारे प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
निरन्तर वर्षा र तापक्रम वृद्धिले त्यो क्षेत्रमा हिमपहिरो गएको हुन सक्ने वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल फुटेको हुन सक्ने विभागले जनाएको हो।
शुक्रबार राति महाशाखाले विज्ञप्ति जारी गरेर ‘विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विस्फोट भएको हुन सक्ने’ जनाएको छ।
थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वाट हिमताल/हिमपोखरीहरू रहेको विभागको प्रारम्भिक अध्ययनबाट खुलेको छ।
दूधकोशी रबुवाबजार बाढी मापन केन्द्र खोटाङमा जलसतह साँझ ५:१० मिनेटमा ४.२९ मिटरबाट ३० मिनेटभित्र एक्कासि करिब १.२० मिटर बढेर साँझ ५:४० बजे ५.५३ मिटर पुगेको महाशाखाले जनाएको छ।
जलसतह विस्तारै घट्न थालेकाले रबुवाबजारभन्दा माथिल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम हुने नदेखिए पनि दूधकोशीको नदीतटीय क्षेत्रमा शनिबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। यस घटनाको सम्बन्धमा थप अध्ययन भइरहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो थामे खोलामा एक्कासी आएको बाढीमा परेर एक जना बेपत्ता भएका छन् भने बाढीमा फँसेका पाँच जनाको सुरक्षाकर्मीले उद्धार गरेका थिए। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) का अनुसार बाढीले १२ वटा घर बगाएको छ। बाढीका कारण १२ वटा घर, एउटा विद्यालय र एउटा क्लिनिक पूर्ण रूपले क्षति भएको उनले जानकारी दिइन्।
दूधकाेशी क्षेत्रमा सतर्कता अपनाउन अनुराेध
जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।
‘दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ,’ जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, ‘दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ।’
बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोशीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन्।
बाढीले खोटाङ र ओखलढुंगाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन्। दूधकोशीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सोलुखुम्बुमा आएको बाढी खोटाङ आसपासमा आइपुग्न केही घण्टा लाग्ने अनुमान छ। थामेखोलाको बाढी थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झरेपछि जिल्ला विपद् व्यवस्थापन समिति खोटाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन्।
सोलुखुम्बुमा हिमताल फुटेर वा हिमपहिरोको कारणले बाढी आएको भन्ने यकिन भएको छैन। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।