काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोलुखुम्बुमा के कारणले बाढी आयो भन्ने बारेमा जानकारी लिने काम भइरहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले खुम्बु क्षेत्रमा शुक्रबार आएको बाढीको कारणबारे स्पष्ट नभएको बताएका हुन्। उनले भने, ‘बाढीले कति क्षति पुर्यायो भन्ने विवरण प्राप्त भएको छैन। हामी बुझ्ने क्रममा छौँ।’
उनले बाढी निरन्तरको वर्षाले आएको हो या हिमताल फुटेर आएको हो भन्ने विषयमा केही नखुलेको बताए। बाढीले होटेल र विद्यालय भवन पनि बगाएको छ। उक्त क्षेत्रमा सञ्चार सम्पर्क स्थापित हुन नसकेकाले कति क्षति भयो भन्ने विवरण आउन कठिन भइरहेको प्रवक्ता भट्टराईले बताए। सिंगो गाउँमा बाढी पसेको, एउटा होस्टल र दुईवटा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई उधृत गर्दैै प्रवक्ता भट्टराईले बताएका छन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा बाढीले कैयौँ घरहरू बगाएको छ। थामे खोलामा दिउँसो एक्कासि बाढी आएर घरहरू बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत तथा गुनासो सुन्ने अधिकारी सुजनकुमार बुढाथोकीले हिमालप्रेसलाई जानकारी दिए।
‘थामेमा बाढी आएको छ। कैयौँ घरहरू बगाएका छन्। एक्कासि बाढी आएकोले हिमताल फुटेको आशंका छ,’ उनले भने, ‘गाउँमाथि तीनवटा हिमताल छन्। तर ताल फुटेको हो या हैन एकिन गर्न गाह्रो छ।’ मौसम खराब रहेकाले अहिले कोही जान सक्ने अवस्था नरहेको बुढाथोकीले बताए।
स्थानीय पालिकाहरूले सतर्कता अनपनाउन अनुरोध गरेका छन्। बाढीले खुम्बु पासाङ ल्हामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरिएको हो।
सोलुखुम्बुबाट तासी लाप्चा भन्ज्याङ हुँदै दोलखाको च्छो रोल्पा ताल झर्ने पदयात्रीहरू यही गाउँ हुँदै हिँड्छन्। मनसुनका कारण पर्यटकीय गतिविधि त्यति छैन।
प्रसिद्ध आरोही आप्पा शेर्पा यसै गाउँमा जन्मिएका हुन्।
बाढीका कारण स्थानीय ४५ घरका मानिसलाई सुरक्षित स्थानमा रहेको गुम्बामा सारिएको बूढाथोकीले बताए। थामे खुम्बु क्षेत्रको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। त्यस क्षेत्रमा चर्चित तीनवटा भन्ज्याङको पदयात्राको प्रस्थान र अन्तिम बिन्दु मानिन्छ।